Suvadin, Home

धराैटी बुझाउन नसकेपछि महत र ढकाल जेल चलान

लुम्बध्वज महत र उमेशप्रसाद ढकाल।

काठमाडौं, मंसिर ६ – विशेष अदालतले कर फर्छ्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग एक-एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ। 

न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले महत र ढकाललाई एक-एक करोड रूपैयाँ धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले बताएका छन्।

उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित एक-एक करोडको धरौटीको माग गरिएको थियो। अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन्। 

अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनै पदाधिकारीविरुद्ध अनियमितता गरेको आरोपमा १० अर्ब रूपैयाँको विगो माग दाबीसहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो। शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो। 

अख्तियारले कर फर्छ्याेट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो। शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए।

तत्कालीन कर फर्छ्याेट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबारदेखि सुनुवाइ शुरु भएको थियो। 


 

More form the Internet

loading...