Suvadin, Home

सुदूरपश्चिमका कागका लागि राेटी पकाइँदै

सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइने तयारी भइरहेकाे छ। नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन परम्परादेखि रहिआएको छ।
कागहरु, फायल तस्वीर।

काठमाडाैं, ३० पुस – बैतडीलगायत प्रदेश नम्बर-७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले अाइतबार कागका लागि रोटी पकाइरहेका छन्। 

सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइने तयारी भइरहेकाे छ। नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन परम्परादेखि रहिआएको छ। सङ्क्रान्तिकाे अगिल्लाे राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलने छ। 

माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पण्डत दयाकृष्ण पन्तले बताएका छन्। पन्तले नर (मानिस) हरि(विष्णु्)मा लीन हुने अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघेसङ्क्रान्तिलाई नरहरि भनिने गरेकाे बताएका छन्।

सङ्क्रान्तिकाे दिन कन्तमुलहरू खाने गरिन्छ। यस्तै आज राति पकाइएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्छन्। 

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ। हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ।

उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ। 

नरहरि सङ्क्रान्तिमा विवाहिताहरु माइत जाने चलनसमेत रहेको स्थानीयवासी हेमराज गिरीले जानकारी दिएका छन्। नरहरि सङ्क्रान्तिको दिन विभिन्न नदी तथा तलाउमा नुहाउने चलन छ। चिसो पानीले नुहाउँदा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ। 


 

More form the Internet

loading...