Suvadin, Home

Cover Image

नियम उल्लंघन गर्दै अमेरिकी उपराष्ट्रपति पेन्स बिना मास्क अस्पतालमा

वाशिङ्टन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मास्क नलाई अमेरिकाको एक ठूलो अस्पतालको भ्रमण गरेका छन् । उपराष्ट्रपति पेन्सले भ्रमण गरेको अस्पतालकै आफ्नै नियममा पनि आगन्तुकहरुले अनिवार्य रुपमा मास्कसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री लगाउनु पर्ने उल्लेख छ ।

पेन्सले मिनेसोटामा रहेको मायो क्लिनियक भ्रमण गरेका हुन् । टोलीमा रहेका सबैले मास्क लगाएको भए पनि पेन्सले भने लगाएका छैनन् ।

मायो क्लिनिकले हाल डिलिट गरेको ट्वीटमा आफूहरुले उपराष्ट्रपति पेन्सलाई मास्क लगाउनु पर्ने नियम बारे पहिले नै जानकारी गराएको उल्लेख थियो ।

माइक पेन्सले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नेतृत्व सम्हाल्दै आएका छन् । उनले नै कोरोना भाइरसको महामारीको यो समयमा संक्रमणबाट जोगिने उपायका रुपमा रहेको मास्क अस्पताल भ्रमण गर्दा पनि नलाएको देखिएको हो ।

उपराष्ट्रपति पेन्सले अस्पताल भ्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । अस्पतालका स्टाफ र बिरामीलाई भेट्नु अनिवार्य भएकाले आफू त्यहाँ गएको उनले उल्लेख गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिने सम्बन्धी अमेरिका सरकारको आफ्नै सुझावमा पनि सार्वजनिक स्थानमा जाँदा र सामाजिक दूरी कायम गर्न नसक्दा मास्क प्रयोग गर्नु पर्ने उल्लेख छ ।

मायो क्लिनिककै नियममा पनि सबै बिरामी तथा आगन्तुकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्ने उल्लेख छ ।

उपराष्ट्रपति पेन्सको टोलीमा युएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनका आयुक्त डा. स्टिफन हान छन्, जसले मास्क लगाएका छन् । उनीसँगै गरहेका अरुले पनि मास्कको प्रयोग गरेका छन् ।

पत्रकारले मंगलबार मास्क किन नलाएको भन्ने कुरा स्पष्ट पार्न भनेका आग्रह गरेपछि उपराष्ट्रपति पेन्सले आफ्नो वरिपरी रहेका सबै व्यक्तिले नियमित रुपमा कोरोना भाइरसको परीक्षण गरेको र उनीहरु संक्रमित नरहेको आफूलाई थाहा रहेको बताए ।

उनले आफ्नो बचाउ गर्दै भने, ‘सिडिसीले मास्क लगाउनु पर्ने नियम सुझाउँदा स्पष्ट पारेको छ कि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने व्यक्तिले मास्क लगाउँदा अरु व्यक्तिमा सर्ने सम्भावना न्यून हुन्छ । र मलाई कोरोना भाइरसको संक्रमण छैन, त्यसैले अनुसन्धानकर्ता र बिरामीलाई भेट्न गएँ ।’


 

More form the Internet

loading...