Suvadin, Home

७५३ स्थानीय तहमा रोजगार संयोजकको जागीर खुल्यो, अनलाइन आवेदन खुल्ला

संयोजक नियुक्तिका लागि मन्त्रालयले तयार पारेको मापदण्ड पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। मापदण्ड अनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको एक–एक जना संयोजक नियुक्त गर्नेछ।

काठमाडौं,४ माघ -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया आज (शुक्रबार) देखि शुरु गरेको छ। मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुला हुने जानकारी दिएको थियो।

संयोजक नियुक्तिका लागि मन्त्रालयले तयार पारेको मापदण्ड पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। मापदण्ड अनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको एक–एक जना संयोजक नियुक्त गर्नेछ।

७ सय ५३ स्थानीय तहहरु मध्ये १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहहरुमा नायव सुब्बा सो सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहहरुमा शाखा अधिकृत सो सरहको अस्थायी कर्मचारी भर्ना गर्ने मन्त्रालयले जनाएको छ। उक्त कर्मचारीले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिष्पर्धाद्वारा करारमा पदपुर्ति गरी स्थानीय तहमा खटाउनेछ।

रोजगार संयोजक नियुक्ति पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्रालयले सफ्टवेयरको प्रयोग समेत गर्ने भएको छ। निष्पक्ष बनाउनका लागि मन्त्रालयले तोकिएको न्युनम शैक्षिक योग्यताको लब्धांक प्रतिशतबापत ७० प्रतिशत, न्युनतम् भन्दा माथिको शैक्षिक योग्यता बापत २० र अनुभवको प्रमाणपत्रका आधारमा अंक १० गरी सफ्टवेयरले कर्मचारी छनौट गर्नेछ।

नायव सुब्बा सो सरहका लागि प्रविणता प्रमाण पत्र तह (प्लस टू) र शाखा अधिकृत स्वसरहका लागि स्नातक तह उतिर्ण हुनुपर्ने गरी न्युनतम शैक्षिक योग्यता तोकिएको छ भने २१ वर्ष पुरा भई ४५ ननाघेको हुनु पर्ने गरी उमेर हद तोकिएको छ।

संयोजकको सेवा सुविधा भने निजामति कर्मचारी सो सरह र सम्बन्धीत स्थानीय तहमा सरकारले तोके अनुसारको भत्ता दिने मन्त्रालयले जनाएको छ। प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रोजगार दिने सरकारको तयारी छ। रोजगार संयोजकले उक्त तहको रोजगारीको साम्भाव्यताका बारेमा समेत अध्ययन गर्नेछ।


 

More form the Internet

loading...