Suvadin, Home

 मुग्लिन-नारायणगढ सडक पुस ११ गतेसम्म  दिउँसो बन्द हुने

मुग्लिन । नारायणगढ सडक आज (शुक्रबार)देखि दुई सातासम्म दिउँसो बन्द गरिने भएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हाे। 

मुग्लिन-नारायणगढ सडक आयोजना कार्यालयको मागअनुसार पहिरो रोकथाम गर्ने कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय चितवन जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ। 

यस अवधिमा सो सडकमा गाडी नचलाउन चितवन प्रशासनले सम्बन्धित सबैमा आह्वान गरेको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुबाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक गाडी लेवाटार र आबुखैरहनीमा रोक्नुपर्नेछ। यसैगरी मुग्लितर्फ आउने यात्रुबाहक सवारीसाधन १५ किलो र मालबाहक गाडी दासढुंगामा रोक्नुपर्नेछ।

एम्बुलेन्स, शव वहनलगायत अत्यावश्यक सवारीसाधन भने सुरक्षा निकायको समन्वयमा आवतजावत गर्न दिइने चितवन जिल्ला प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

सडकको निर्माण सकिए पनि पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको हो।

‘पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले हामीले सूचना प्रकाशित गरेर सडक बन्द गरेका छौं,’ मुग्लिन-नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले रासससँग भनेका छन्, ‘यो अवधिमा धमाधम काम हुन्छ।’

ढुंगा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताए। १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ।

पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उनले बताए।


 

More form the Internet

loading...