Suvadin, Home

यसरी मनाइँदैछ रेडियो दिवस

सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि अझै रेडियोको महत्व घटेको छैन्। नेपालमा रेडियो स्थापना भएको ६ दशक नाघिसकेको छ। सूचना र प्रविधिको विकास राम्ररी भइनसक्दा रेडियोको महत्व ठूलो थियो।
रेडियाेमा अन्तरवार्ता लिँदै एक उद्घाेषक र अतिथि।

काठमाडाैं, फागुन १ – नेपालमा वि.सं. २००३ सालमा रेडियो प्रसारण शुरु भएको थियो। वि.सं. २०५२ देखि एफएम रेडियो शुरु भएकाे हाे। स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले पारित गरेपछि हरेक वर्ष फेब्रुअरी १३ अर्थात् आजको दिनमा रेडियो दिवस मनाइँदै आइएको हो।

सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि अझै रेडियोको महत्व घटेको छैन्। नेपालमा रेडियो स्थापना भएको ६ दशक नाघिसकेको छ। सूचना र प्रविधिको विकास राम्ररी भइनसक्दा रेडियोको महत्व ठूलो थियो।

हिले पनि महत्वका हिसाबले एफएम रेडियो अगाडि नै रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शीतल महतो बताउँछन्। मेलापात जाँदा,भञ्ज्याङ चाैतारीमा अनि भारी बाेकिरहँदा यात्राकाे सहयात्री बन्ने गरेकाे रेडियाेकाे लाेकप्रियता प्रविधिकाे विकाशसँगै केही मात्रामा कम भएकाे छ।

तर, अनलाइन, पत्रिकाको आफ्नै पाठक र टेलिभिजनको आफ्नै दर्शक, स्रोता भएपनि रेडियोका छुट्टै स्रोता रहेको उनि औँल्याउछन्। महतोले भने - 'सहज पहुँचका हिसाबले पनि सर्वसाधारणको भरपर्दो सूचनाको साधन रेडियो नै हो।' रेडियाे अझै पनि सस्तो, सहज र सरल सूचना प्राप्त गर्ने माध्यमका रुपमा पहिलो नै रहेकाे छ।

विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल, बिबिसी, अल इन्डिया रेडियो सबैका सामु लोकप्रिय थिए। तर, पछिल्लो समय एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच ह्वात्तै बढेकाे छ। त्यसपछि रेडियो नेपालभन्दा एफएम रेडियो सर्वसाधारणमा सहज सूचनाको माध्यम बन्न पुग्यो। 

पछिल्ला समयमा मोबाइलमै विश्वका सबै सूचना आउने भएकाले रेडियोका स्रोता घट्ने क्रममा नै छन्। अनलाइन माध्यम अहिले प्रभावकारी बन्दै आएको छ। तर, पनि सबै पत्रिका, अनलाइन माध्यमहरु गाउँको पहुँचमा पुगेका छैनन्। पुगे पनि खर्चिलो छ। नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा शहरबजारमा रेडियो सुन्ने स्रोता घटे पनि अझै गाउँमा सूचनाको माध्यम रेडियो नै भएको बताएका छन्। 

प्रविधिकै कारण रेडियोको आकर्षण केही घटेको भएपनि पहुँचमा अझै रेडियाे पहिलो नम्बरमै छ। पछिल्ला समयमा रेडियो जथाभावी खुल्ने क्रम रह्यो। कार्यक्रमको गुणस्तरमा ध्यान नदिँदा रेडियोप्रति वितृष्णा छ। रेडियोले स्थानीय मुद्दा उठाउन नसकेको पत्रकार महासंघ चितवनका अध्यक्ष खतिवडाको अनुभव छ। 

यस्तै राजधानीका रेडियो सञ्जालका कार्यक्रम बजाउने, काठमाडौंबाटै उत्पादित कार्यक्रम र समाचार प्रस्तुत गर्ने गर्दा रेडियोको स्थानीयतामा प्रश्न उब्जेको छ। समुदायका लागि भनेर खोलिएका सामुदायिक रेडियो व्यावसायिक रेडियो झैँ स्थानीयवासीलाई छाडेर राष्ट्रिय कार्यक्रममा ध्यान दिने गरेका छन्। 

वि.सं. २०६५ चैत १९ मा स्थापना भएको रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी गाउँ क्षेत्रमा रेडियोका स्रोता बढेको र शहरमा घटेको बताउँछन्। रेडियो प्रत्यक्ष जनतासँग जोडिएकाले महत्व अझै रहेको उनकाे भनाइ छ। 

उनले भने - 'कार्यक्रमहरु जुधाउने गर्दा रेडियोको आफ्नो पहिचान के त, कसैको छैन, एउटाले कार्यक्रम गर्यो अर्कोले त्यस्तै कार्यक्रम ल्याउँछ कार्यक्रमसमेत काठमाडौंमुखी छन्।' दक्ष जनशक्ति अभावले गुणस्तरीयता कमजोर रहेको उनको टिप्पणी छ। अझै भाषाशैली, स्थानीय भाषा तथा शुद्ध उच्चारणमा समेत रेडियोमा ठूलो समस्या रहेको पाइन्छ।


 

More form the Internet

loading...