Suvadin, Home

Cover Image

राष्ट्रिय गानलाई 'रमिता' बनाएर राजनीति गर्न बन्द‍ गरौं !

राष्ट्रिय गानप्रति विशेष आस्था र सम्मान छ । मृत्यु पनि मर्यादा हुन्छ । त्यसकारण सरकारले यस्ता 'चिचिला' निर्णय र निर्देशन दिएर सरकारको ओज, राष्ट्रिय गानमाथि राजनीति, राष्ट्रिय गानको आस्था र सम्मान अनि मृत्युको मर्यादालाई अवमूल्यन गर्ने काम सरकारले नगरोस् । 


काठमाडौं । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा विभिन्‍न नयाँ योजनाहरु सार्वजनिक गरिरहेको छ । जसअर्न्तगत एक हो - राष्ट्रिय गान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक फिल्महलहरुमा फिल्म सुरु हुनुभन्दा पहिलो राष्ट्रिय गान बजाउनुपर्ने र पशपुति मन्दिर परिसरमा आरती सुरु हुनुपूर्व राष्ट्रिय गान गाउन निर्देशन दिए । 

उक्त निर्देशन पालनाका लागि आरतीस्थलमा राष्ट्रिय गान बजे-नबजेको अनुगमन गर्नेसमेत जनायो । तर, सरकारको उक्त निर्णय पनि अहिले विवादित बनेको छ । फिल्म हलमा कतिपय अवस्थामा राष्ट्रिय गान बजउनु जायज मान्‍न सकिए पनि आर्यघाटमा राष्ट्रिय गान अनवार्य गरिएको निर्देशनलाई जायज मान्‍न नसकिने भन्दै सरकारको आलोचना भइरहेको छ । 

नजिकै घाटमा शवहरु जलिररहेका बेला छेउमा राष्ट्रिय गान किन गाउनुपर्‍यो भन्‍न प्रश्न धेरैले गरेका छन् । पर्यटनमन्त्री भट्टराईले भने यो अस्वभाविक भएको बताए । उनले भने, "राष्ट्रिय गान नगाउँदा पनि त्यहाँ आरती भइरहेको थियो । तलतिर शव पनि जलिरहेकै हुन्थ्यो । आरती एक प्रकारले उत्सव नै हो । त्यसैले आरतीको पार्ट अलग हो, तलको दुःख अलग्लै पार्ट हो । दुबैलाई एक ठाउँमा राखेर हेर्न भएन ।"

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डन भने यस्तो तर्क गर्नेहरुलाई एकपटक आरती हेर्न जान सुझाव दिन्छन् । उनले भने, "आरती गर्ने ठाउँको अवस्थितिको चर्चा गरे । कुनै व्यक्ति जीवनको अन्तिम क्षणमा भएका बेला होस् वा चितामा जलिरहेको अवस्थामा होस्, आफन्तजन शोकाकुल अवस्थामा हुन्छन् । त्यहीबेला आरती गर्नुपूर्वको राष्ट्रिय गान बज्यो भने के गर्ने ?"

जब कि राष्ट्रिय गान बजेका बेला सबैजना उभिएर दायाँ हात देब्रे छातीमा राखेर  राष्ट्रप्रति सम्मान प्रकट गर्ने गरिन्छ । ‘राष्ट्रिय गान बजेपछि अब ती मानिसहरु रुन छोडेर उभिन सक्छन् ?,’ टण्डन भन्छन्, ‘यसरी राष्ट्रगानको महत्व बढ्छ कि घट्छ ? यस्तो रमिते ताल गर्नु उचत होइन ।’

के छ सरकारी व्यवस्थामा ?

०६९ साल जेठ २२ गते राजपत्रमा प्रकाशित राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, ०६९ मा राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग कसरी गर्ने भन्ने बारेमा खुलाइएको छ । जसमा राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय (फौजी) सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुदको समारोह, रेडियो र टीभी आदिमा राष्ट्रिय गानको प्रयोग अनिवार्य गर्नु पर्ने भनिएको छ ।

त्यसैगरी औपचारिक तथा विशेष समारोह र नेपाल सरकारका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ संस्था तथा राजदूतावासहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान वा धुन बज्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, प्रधान न्यायाधीश तथा अन्य पदाधिकारीहरू लगायत सबैले सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने उल्लेख छ ।

सुरक्षा निकायका राष्ट्रसेवकहरुले विभागीय प्रचलन अनुसार राष्ट्रिय धुन बज्दा उचित सम्मान प्रकट गर्नुपर्ने, कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनु पर्नेछ । रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनुपर्ने कुरा उल्लेख छ ।

राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नुपर्ने, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनको क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनको समयमा राष्ट्रिय गान तथा धुन बजाउनुपर्छ र त्यसको सम्मान गर्नुपर्छ भनिएको छ ।

कार्यविधिमा व्यक्तिगतरूपमा सार्वजनिक स्थलहरूमा यात्रा गर्दाको समयमा कुनै माध्यमबाट राष्ट्रिय गान तथा धुन बजाए वा गाएका अवस्थामा बाहेक अन्य समयमा त्यसको सम्मान गर्नुपर्ने कुरा उल्लेख छ ।

राष्ट्रगान बज्दा उठ्ने गैरनेपाली !

यसमा फेरि रोचक त के छ भने सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय गान गाउँदा नउभिने मानिस नेपाली होइन भन्‍ने अभिव्यक्ति दिए सोमबार एक सार्वजनिक कार्यक्रममा । राष्ट्रिय गान बज्दा सबैले उभिनुपर्ने व्यवस्था पनि छ । मन्त्री बास्कोटाले भनेको कुरा सही हो ।

तर, उक्त विषयलाई कुन अवस्थामा र परिस्थितिमा भन्‍ने कुराको हेक्का राख्न जरुरी छ । अब पर्यटनमन्त्री भट्टराई र सञ्‍चारमन्त्री बास्कोटाको संयुक्त निर्देशनलाई पालना गर्ने हो भने आर्यघाटमा राष्ट्रिय गान बज्दा नउभिने के सबै गैर-नेपाली हुन् त ? 

दबाब दिए आरती नै बन्द गर्ने चेतावनी 

आर्यघाटमा हरेक दिन पार्थिव शरीरको अन्तेष्टि हुने र शोकाकुल आफन्तहरु असहज परिस्थितिमा पर्ने हुँदा त्यो आदेश फिर्ता लिन गरेको आग्रह मन्त्री भट्टराईले अस्वीकार गरेपछि अवज्ञा गर्न बाध्य भएको आरती संयोजन समितिका अध्यक्ष जनार्दन अधिकारी बताएका छन् । 

उनले सरकारले राष्ट्रगान गाउन दबाब दिइरहे आरती नै बन्द गर्ने चेतावनी दिएका छन् । 

तर, मन्त्री भट्टराईले भने पशुपतिमा हुँदै आएको आरती धेरै आकर्षक हुने र त्यसलाई हेर्न मात्र हजारौं मानिस पुग्‍ने भएकोले त्यस्तो ठाउँमा राष्ट्रिय गान बजाएर आरती सुरु गर्नु उपयुक्त हुने तर्क गरे ।

राष्ट्रिय गानको पनि आफ्नै सम्मान छ भने मृत्यु पनि मर्यादा हुन्छ । त्यसकारण यस्ता 'चिचिला' निर्णय र निर्देशन दिएर सरकारको ओज, राष्ट्रिय गानप्रतिको आस्था र सम्मान र मृत्युको मर्यादालाई अवमूल्यन गर्ने काम सरकारले नगरोस् । 


 

More form the Internet

loading...