Suvadin, Home

नेपाल-भारत सीमामा  काँडेतार लगाऊँ 

काठमाडौं ।  विशेष राज्यको दर्जा प्राप्त जम्मु र कश्मीरलाई केन्द्र शासित प्रदेशमा परिणत गरेपछि भारतले ३ नोभेम्बरमा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै करीब सात दशक पुरानो नेपाल-भारत सीमा समस्या फेरि राष्ट्रिय बहसको विषय बनेको छ । 

नेपालको पश्चिमी सीमा लिम्पियाधुरा हुँदै कालापानी र लिपुलेकसम्मको क्षेत्र आफ्नो भूभागमा पारेर भारतले एकतर्फी ढङ्गले सार्वजनिक गरेको नक्शाले नेपालीमा तीव्र आक्रोश जन्माएको छ । परराष्ट्र मन्त्रालयले २० कात्तिकमा विज्ञप्ति जारी गर्दै कालापानीको भूभाग आफ्नो भएकोमा सरकार प्रष्ट भएको भन्दै नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न खोजेको देखिन्छ ।

तर, जवाफमा २१ कात्तिकमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविश कुमारले भने आफ्नो देशको नयाँ नक्शाले सार्वभौम भारतको प्रतिनिधित्व गर्ने भन्दै सीमा परिवर्तन नगरिएको बताएका छन् । यद्यपि, दुवै देशले बाँकी सीमा विवाद समस्या समाधानका लागि काम गरिरहेको र आपसी सहमतिमा सल्टाउन सकिने मिल्दोजुल्दो धारणा सार्वजनिक गरेका छन् ।

उनका अनुसार, सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा भारतीय फौज गुन्जी बजारदेखि कालापानी हुँदै नावीसम्म जान्थ्यो । शुरूमा उनीहरू हाम्रो भूमि हुँदै हिंडे, पछि त्यहीं क्याम्प खडा गरेर बस्न थाले । समयमै हाम्रो निगरानी पुगेन । 

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक भञ्ज्याङलाई व्यापारिक मार्ग बनाउने भनी गरेको सम्झाैताले भने नेपालमा ठूलो तरङ्ग सिर्जना गर्‍यो ।

नेपाली भूमि प्रयोगबारे आफूलाई थाहै नदिई दुई छिमेकी देशका सरकार प्रमुखहरूले गरेको सहमतिबाट नेपाल झस्किनु स्वाभाविक थियो, तर कुनै कूटनीतिक पहल गर्न सकेन । संविधानसभाबाट संविधान बनाउने रस्साकस्सी चलिरहेको समयमा यस्तो घटनाक्रम भएकाले राजनीतिक तहमा धेरै चर्चा पनि भएन ।

सन् २०१५ मा भारतीय प्रम मोदी नेपाल आएको वेला कालापानी र सुस्ताको सीमा विवाद परराष्ट्र सचिव तहबाट समाधान गर्न दुवै देश सहमत भएका थिए । तर अहिलेसम्म त्यसको सुरसार देखिएको छैन ।

नेपाल र भारतबीच सिमाङ्कनको कार्य सन् १९८० मा सुरू भएको थियो । २७ वर्षसम्म भएको सिमाङ्कनबाट महाकालीको कालापानी र नवलपरासीको सुस्ता क्षेत्रमा विवाद देखिएको थियो ।

त्यस क्रममा नेपालका नापी विभागका महानिर्देशक र भारतका सर्भे अफ इण्डियाका सर्भेयर जनरलको नेतृत्वका टोलीले सीमा क्षेत्रको स्थलगत नापनक्शा तयार पारेको थियो । नक्शा बमोजिम सन् २०१६ देखि सीमामा सीमा स्तम्भ राख्न थालिएको थियो । त्यसअघि सीमाको नापनक्शा तयार पारिएको थिएन ।

महाकालीमा भारतसँगको सीमाको रूपमा काली नदीको शिरलाई आधार मानिन्थ्यो । तर भारतले उक्त स्थानभन्दा करीब ३५ किलोमिटर पूर्व कालापानीमा कृत्रिम खोला बनाएर त्यसैलाई महाकाली नदीको मुहान भएको तर्क गरेपछि विवाद निम्तिएको हो ।

सीमा समाधान समाधान हुन नसक्नुको मुख्य कारण खुला सिमाना रहेको विज्ञहरुको तर्क छ । अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ मधुरमण आचार्यले सिमानामा काँडे तार लगाउन सकिने विकल्प दिएका छन् । "यस विषयलाई जीवितै राखिराख्‍ने र सम्बन्ध बलियो भएको समयमा हुने भेटका क्रममा सिमानामा काँडेतार लगाउने विषयलाई उठाउँदा भारत सकारात्मक हुनसक्छ," उनले भने । 

अमेरिकाले राष्ट्रपतिमा निर्वाचित हुनेबित्तिकै मेक्सिकोको सीमामा पर्खाल लगाउने निर्णय गरे । नेपाल-भारत खुला सीमाका कारण सीमावारपार हुने आतंकवाद, चोरी , तस्करी र अपराध बढेको छ भने अर्कोतर्फ भारतले सीमा अतिक्रमणलाई निरन्तरता दिएको छ । 

नेकपा सांसद डा दिपकप्रकाश भट्टले अहिले खुला सिमाना भनेर व्याख्या गरिए पनि वास्तवमा खुला सिमाना नरहेको तर्क गरे । उनले भने," हामीले खुला सिमाना भनेर व्याख्या गरेका छौं । तर, वास्तवमा खुला सिमाना छैन । उताबाट भारतले नियन्त्रण गरेको छ । नेपालतर्फमात्र खुला छ ।" 

त्यसकारण अहिले नै सीमा अतिक्रमणको समस्या उठिरहेको बेला र दुई तिहाइको म्यान्डेड भएको सरकार भएको समयमा सीमामा काँडेतार लगाउने विषयलाई पनि उठाउन सक्यौं भने नेपालका लागि राम्रो हुने उनले तर्क गरे । 

सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठले प्रबुद्ध समूहको प्रतिवेदनले नेपाल–भारत सीमा बन्द गरी राहदानी तथा परिचयपत्रको व्यवस्था गर्न सिफारिस गरेको दाबी गरे । उनले प्रबुद्ध समूहको पाँचौँ बैठकमा भीसी उप्रेतीले खुला सीमा राख्नु हुँदैन भनी प्रस्ताव गरेको पनि दाबी गरे । "नेपाल–भारतको सीमामा ७० वटा नाका बनाएर परिचयपत्र लागू गर्नुपर्ने सुझाव दिइएको छ । जुन कुरा प्रतिवेदनमा समेटिएको छ", उनले भने ।  भीसी उप्रेती भारतका तर्फबाट प्रबुद्ध समूहका सदस्य हुन् । 

उनले काँडेतार नै लगाउनुपर्ने बताउँदै खुला सीमाका कारण नेपाल र भारतमा आपराधिक घटना बढिरहेको पनि दाबी गरे ।  "खुला बोर्डरका कारण नेपाल र भारतमा आपराधिक घटना बढिरहेका छन् । सीमामा काँडेतार नै लगाउनु उपयुक्त हुन्छ’, उनले भने, ‘बोर्डर क्लोज भयो भने यस्ता घटनामा कमी आउँछ ।"


 

More form the Internet

loading...