Suvadin, Home

नेपाल-भारत बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै 

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी बैठकका एजेण्डा र तयारीका बारेमा सोमबार जानकारी गराएका थिए । नेपालमा हुन लागेको आयोगको पाँचौं बैठक दुई दिनसम्म चल्नेछ । 

प्रबुद्ध समूह (ईपीजी) ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार-पारवहन, ऊर्जा-जलस्रोत, संस्कृति-शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका थिए । 

‘बैठकमा नयाँभन्दा पनि भइरहेकै समस्या र सरोकारका विषयमा बृहत् छलफल हुनेछ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘विगतमा नेपाल–भारत प्रबुद्ध समूहले उठाएका एजेन्डा आयोग बैठकमा पनि दोहोरिँदै छन् । विशेषगरी डुबान समस्या, भारतले प्रतिबद्धता जनाएर पूरा नभएका योजना र पञ्चेश्वरजस्ता थाती रहेका परियोजनाको निकासबारे नेपालले धारणा राख्‍नेछ ।’

लामो समयदेखि अल्झेर बसेका परियोजनालाई कि त खारेज गर्ने अथवा योजनामा नयाँ मोडालिटी पहिल्याउन नेपालले प्रस्ताव गर्ने परराष्ट्रमा दक्षिण एसिया मामिला हेर्ने ती अधिकारीले बताए । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल-भारतको सहकार्यमा सञ्चालित योजना तथा तिनका प्रगति एवं उपलब्धिबारे आयोग बैठकमा विस्तृतमा छलफल गरिने बताए । ‘अहिले नेपाल-भारत समझदारी उच्चस्तरमा छ,’ उनले भने, ‘मोतिहारी–अमलेखगन्ज रेलवे पाइपलाइन, हुलाकी राजमार्ग, एकीकृत चेकपोस्ट (आईसीपी), जनकपुर–जयनगर रेलवेजस्ता योजनाको उपलब्धिमाथि छलफल हुनेछ ।

अरुण तेस्रो, अपर कर्णाली जलविद्युत् परियोजनालाई तीव्रतासाथ अघि बढाउनेबारे धारणा राख्नेछौं ।’ रक्सौल–काठमाडौं रेलवेको प्राविधिक सर्वेक्षण पूरा भइसकेको र यसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बन्ने क्रममा रहेको उनले जानकारी दिए । बैठकमा नारायणी र कोसी नदीको जलमार्गमा मध्यमस्तरका जहाज सञ्चालन हुनेबारे तयारी तथा प्रस्तावनामा छलफल हुँदै छ ।

बैठकमा प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझ्न र कार्यान्वयन तहमा अघि बढ्नसमेत समकक्षी जयशंकरसँग कुरा राखिने मन्त्री ज्ञवालीले बताए । प्रबुद्ध समूहले एक वर्षअघि तयार गरेको प्रतिवेदन भारत सरकारले अझैसम्म नबुझ्दा यसको कार्यान्वयन ‘अर्थहीन’ बनेको छ ।


 

More form the Internet

loading...