Suvadin, Home

स्वतन्त्र सञ्चारमाथिकाे ज्यादतिविरुद्ध उभिने एेक्यवद्धता
समाचारको विषयमा पत्रकार र सञ्चारमाध्यमलार्इ पत्र काट्नु प्रेस स्वतन्त्रता विराेधी कार्यः महासंघ

पत्रकार महासंघका महासचिव रमेश बिष्टद्वारा साेमबार जारी विज्ञप्तिमा प्रहरीले शुभदिनका सम्पादक अशाेक अधिकारी, सुशासन अनलाइनका सम्पादक उत्तम अर्याल र मूलधार न्यूजका सम्पादक रवि धामीलार्इ समाचारको श्राेत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएकाे जनाइएकाे छ।

काठमाडौं, २४ पुस – नेपाल पत्रकार महासंघले प्रकाशित–प्रसारित समाचारको श्राेत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको प्रष्ट पारेकाे छ। समाचारको विषयमा पत्रकार र सञ्चारमाध्यमलार्इ पत्र काट्नु प्रेस स्वतन्त्रता विराेधी कार्य भएकाे महासंघकाे ठहर छ।

शुभदिन डटकमसहित ३ वटा सञ्चारमाध्यमका सम्पादकलार्इ समाचारकाे श्राेत खाेज्दै महानगरीय प्रहरी परिसरले 'अविलम्ब यस कार्यालयमा उपस्थित गराउन' पत्र काटेपछि महासंघले यस विषयमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे हाे। 

पत्रकार महासंघका महासचिव रमेश बिष्टद्वारा साेमबार जारी विज्ञप्तिमा प्रहरीले शुभदिनका सम्पादक अशाेक अधिकारी, सुशासन अनलाइनका सम्पादक उत्तम अर्याल र मूलधार न्यूजका सम्पादक रवि धामीलार्इ समाचारको श्राेत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएकाे जनाइएकाे छ। विज्ञप्तिमा आम सञ्चारमाध्यममा प्रकाशित–प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न पनि आग्रह गरिएकाे छ।

यस किसिमका घटनाले सञ्चार माध्यमलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ। विज्ञप्तिमा भनिएकाे छ – 'यस्ता घटना तत्काल रोक्न र यस्ता घटना पुनः नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रह गर्दछौं, प्रेस स्वतन्त्रता विरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने छ।'

महासंघले नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, अनलाइन पत्रकार संघसहितका प्रतिनिधिसँग छलफल गरी नेपाल सरकार, सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चारमाध्यमको स्रोतको गोपनीयताको रक्षाका लागि संयुक्त रुपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पत्रकार संघ–संगठनद्वारा प्रेस स्वतन्त्रताकाे पक्षमा एेक्यवद्धता

नेपाल पत्रकार महासंघकाे संयाेजनमा सम्पन्न विभिन्न पत्रकार संघ–संगठनकाे अन्तरक्रियामा सञ्चारमाध्यममाथि राज्य पक्षबाट भइरहेकाे ज्यादति राेक्न अान्दाेलनमा जाने निर्णय भएकाे छ।

महासंघका अध्यक्ष गाेविन्द अाचार्य, उपाध्यक्ष विपुल पाेखरेल, महासचिव रमेश बिष्टकाे उपस्थितिमा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले अहिले राज्यपक्षबाट संकटकालमा भन्दा धेरै अाक्रमण भइरहेकाे बताएका छन्। 

प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी, प्रभात चलाउने, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकाेटी, प्रेस चाैतारीका महासचिव राजेश रार्इ, अनलाइन पत्रकार मञ्चका अध्यक्ष शिव सत्याल लगायतले नेपाली सञ्चार माध्यममाथि भइरहेका राज्यपक्षीय अाक्रमणकाे विराेध जनाएका थिए। साथै, अनलाइन सञ्चारमाध्यममाथि अंकुश लगाउने गरी बनाइएकाे कानूनविरुद्ध पनि अान्दाेलन गर्ने निष्कर्ष वक्ताहरुले निकालेका छन्। 

यसैबीच, प्रेस काउन्सिल नेपालले आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको श्राेत नमाग्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई सचेत गराएकाे छ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार अबदेखि पत्रकारलाई समाचारको श्राेत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र पत्रकारहरुलाई पत्र नकाट्न प्रेस काउन्सिलले एसएसपी धानुकलाई सचेत गराइएकाे हाे।

प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालद्वारा विज्ञप्तिमा पनि कुनै समाचारका विषयमा जानकारी दिनु पर्ने भए मुनासिव कारणसहित प्रेस काउन्सिल नेपालसँग समन्वय गर्न भनिएक छ।  

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्य, नेपाल बार एशोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य, काठमाडाैं प्रहरी प्रमुख रवीन्द्र धानुक तथा पत्र काट्ने डिएसपी बेलबहादुर पाण्डेकाे उपस्थिति रहेकाे अन्तरक्रियामा प्रेस काउन्सिलले पत्रकारसँग समाचारको श्राेत मागेर पत्र काट्न वा उनीहरुलाई हाजिर हुन बोलाउन नमिल्ने सुझाव दिएका छन्। प्रहरीले समाचारको श्राेत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत हुने कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रष्ट पारेका छन्।


 

More form the Internet

loading...