२०३५ सालमा बिपीले आयोजना गरेको त्यो चियापान
काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको इतिहास निकै लामो छ । २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
वि. सं. २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उनले नै २०३५ सालबाट चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका हुन् ।
बिपीको पालामा अहिलेको जस्तो सजिलो परिस्थिति थिएन । त्यतिबेला अन्य समयमा चियापान गर्दा वा जमघट गर्दा तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसैले बिपीले भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि आफूलाई भेट्न आउने विभिन्न पेशा व्यवसायका व्यक्ति, राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधिले आफूलाई सहजरुपमा भेट्न सकुन भनेर दसैंको टीका लगाउने तथा भेट हुने उद्देश्यका साथ यो कार्यक्रमको सुरुआत गरेको कांग्रेसको इतिहासले देखाउँछ ।
भेटघाट र जमघटका लागि अरु बेला कुनै अवसर पनि नहुने भएपछि दसैंको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर गरिएको चियापान कार्यक्रमले अहिलेसम्म निरन्तरता पाइरहेको छ । बिपी दुरगामी सोच भएका नेता थिए । उनी दिर्घकालीन फाइदा पुग्ने गरी कुनै पनि कुराको निर्णय लिन्थे । पछि कांग्रेसले गरेको चियाँपान कार्यक्रमको सिको गर्दै अन्य पार्टीले पनि गर्ने गरेका छन् ।
अहिले कांग्रेसभित्र राजनीतिक खिचातानी बढ्दो छ । गुटउपगुट पार्टीभित्र निकै मौलाएको छ । अन्य समयमा आफ्नै पार्टीका नेताहरू एक अर्काको कुरा काट्दै हिडिरहेका हुन्छन् । तर, आजको दिन पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ ।
कांग्रेसले यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहेको थियो । यस वर्षको चियापन समारोहमा काङ्ग्रेसले रक्तदान कार्यक्रम पनि थप गरेको छ ।
पछिल्लो समय कांग्रेसले बिपीको बाटोलाई भुल्दै गइरहेको आरोप लाग्ने गरेको छ । बिपीको मेलमिलापको नीतिलाई पार्टीले छोड्दै गएको आरोप उसमाथि लाग्ने गरेको छ । वर्षमा एक पटक भए पनि सबै नेतालाई एकै ठाउँमा उभ्याउन यो कार्यक्रम निकै प्रभावकारी भएको कांग्रेस नेताहरूले बताउने गरेका छन् ।