Suvadin, Home

Cover Image

कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने १२ सयलाई कारबाही गरिने 

काठमाडौं । कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका एक हजार दुई सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले आरोपित सबैलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा बुधबार प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरेपछि कारत्राही प्रक्रिया अघि बढ्नेछ । समितिले पत्र काटेको ३५ दिनभित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ । विधानमा यस्ता व्यक्तिहरू स्वतः पार्टीबाट निष्कासन हुने व्यवस्था छ । ३२ जिल्लाका २ सय ९८ जना यसरी निष्कासन भएका हुन् ।

समितिले स्वतः निष्कासन हुनेबाहेकका उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । समितिले यसअघिका उजुरी तथा गुनासोलाई समेत छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउने छ । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेकाहरूविरुद्ध तत्कालीन समितिले कारबाहीको प्रक्रिया अघि बढाउँदाबढाउँदै छाडेको थियो । तत्कालीन समितिले कारबाही गर्नुपर्ने भनी किटान गरेका १ सय ५४ मध्ये २४ जनाले मात्रै स्पष्टीकरण दिएका थिए ।

७७ जिल्लामध्ये २८ जिल्लाबाहेक सबैबाट कारबाहीको उजुरी अनुशासन समितिमा परेको छ । ती उजुरीलाई समितिका सदस्यहरूले डेढ महिना लगाएर अध्ययन गरेका थिए । प्रमाण र तथ्यका आधारमा कारबाही गर्नुपर्ने व्यक्तिहरूमाथि स्पष्टीकरण प्रक्रिया अघि बढाउन लागिएको समितिका एक सदस्यले कान्तिपुरलाई बताए ।

उपनिर्वाचनमा प्रतिनिधि खटाउने

कांग्रेसले मंसिर १४ गते ३६ जिल्लाका रिक्त विभिन्न पदमा हुने उपनिर्वाचनका लागि पार्टीबाट केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । प्रतिनिधिसभाको १, प्रदेश निर्वाचन क्षेत्रको ३ सहित स्थानीय तहमा रिक्त पदको निर्वाचन हुँदै छ । त्यसका लागि केन्द्रीय प्रतिनिधि खटाएर माहोल पक्षमा ल्याउन कांग्रेस केन्द्रीय सदस्यहरूले बैठकमा नेतृत्वलाई सुझाव दिएका थिए ।


 

More form the Internet

loading...