Suvadin, Home

Cover Image

नेपाली राजदूतविहीन दक्षिण कोरियामा कोरोनाको त्रास, कसरी हुन्छ नेपालीको उद्धार ?

काठमाडौं । विश्‍वभर फैलिरहेको कोरोना भाइरसका कारण दक्षिण कोरिया पनि संकटमा परेको छ । हालसम्म दक्षिण कोरियामा कोरोनाबाट ११ जनाको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी संक्रमित बनेका छन् । 

त्यहा वैदेशिक रोजगारीको सिलसिलामा हजारौं नेपालीहरु छन् । दैनिक कोरोना संक्रमितहरु बढ्दै गएपछि अहिले अत्यन्त त्रसित अवस्थामा नेपालीहरु काम गरिरहेका छन् । कोरियाको कोरोनाको अपडेटहरु आउँदै नेपालमा आफन्तहरु थप चिन्तित बनेका छन् । 

यस्तो अवस्थामा सरकारको नेतृत्व, परराष्ट्र मन्त्रालय र कोरियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाका लागि लिने पहलकदमी निकै महत्वपूर्ण हुन्छ । अहिले कोरियामा रहेका कम्तिमा ३५ हजारभन्दा बढी नेपालीहरुको प्रत्यक्ष सुरक्षा र आवश्यक पर्दा उद्धार गर्ने पहिलो निकाय हो- सोलस्थित नेपाली दूतावास।

तर, सो दूतावास एक वर्षभन्दा बढी समयदेखि राजदूतविहिन अवस्थामा छ । २०७५ पुषमा सरकारले दक्षिण कोरियाका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय गरेपछि खाली भएको राजदूत पद हालसम्म पूर्ति गरिएको छैन।

त्यसको सोझो प्रभाव कोरोनाबाट बढी प्रभावित हुँदै गएको कोरियामा रहेका हजारौं नेपालीमाथि पर्ने भएको छ । 

कुनैपनि मुलुकमा कुनै विपत्ती, अशान्ति, अहिंसा वा कुनै तनावपूर्ण अवस्था आइपर्दा त्यहाँ रहेका आफ्नो मुलुकका नागरिकको सुरक्षा गर्नु दूतावासको सबैभन्दा महत्वपूर्ण र पहिलो जिम्मेवारी हुन्छ। त्यस्तो अवस्थामा सो दूतावासमा राजदूत हुनु र नहुनुमा प्रत्यक्ष असर पर्ने परराष्ट्रका एक उच्चअधिकारी बताउँछन् । 

सरकारले पनि त्यहाँ रहेका नेपालीलाई के गर्न सकिन्छ भन्‍ने विषयमा मुख खोलेको छैन । दक्षिण कोरियास्थित नेपालीहरुले आफूलाई उद्धार र सहयोग गर्न सरकारसँग माग गरिरहेका छन् ।  

चीनमा रहेका नेपालीको उद्धारमा एक महिना लगाएको सरकारले दक्षिण कोरियाका नेपालीको यो त्रासलाई अन्त्य र समस्या समाधान कसरी गर्छ भन्‍ने विषयमा सरकारले कुनै योजना बनाएको छैन ।
 


 

More form the Internet

loading...