Suvadin, Home

रूसमा नेपाली कवितावाचन एवम् विशेष सांगीतिक समाराेह

सर्वप्रथम साहित्यिक कार्यक्रमका सभापति तथा अतिथिद्वयबाट मस्कोस्थित नेपाली राजदूतावासका तृतीय सचिव, कवि कुमारबहादुर श्रेष्ठ ‘क्रान्ति’ लिखित ‘अनिँदो जीवनमा जूनकिरी’ शीर्षकको  कविता संग्रहको विमोचन गरियो।
फोटो सौजन्यः बोरिस भेर्शिनिन/रूस–नेपाल सहयोग तथा मैत्री संघ, रूस।

कृष्णप्रकाश श्रेष्ठ, मस्को, २९ मंसिर – नेपाली र रूसी भाषामा कवितावाचन, नेपाली गीत र नृत्यधुनको सुमधुर गुञ्जनसहित मनोरम र उल्लासमय कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ रूस तथा मस्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा सम्मान तथा शुभकामना सम्पन्न भएको हो।

समारोहको प्रथम खण्डमा गैरआवासीथ नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा समारोहका प्रमुख अतिथि रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे एवम् विशेष अतिथि रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमबाट पनि अध्यक्ष मण्डलमा स्थान ग्रहण गरिएपछि विनेसामका महासचिव डा. मनमूर्ति भुर्तेल तथा कृष्णप्रकाश श्रेष्ठबाट विश्व नेपाली साहित्य महासंघ रूस शाखाको सहभागितामा नेपाली र रूसी भाषामा प्रकाशित पुस्तक विमोचनसहित साहित्यिक कार्यक्रमको सञ्चालन गरियो।

सर्वप्रथम साहित्यिक कार्यक्रमका सभापति तथा अतिथिद्वयबाट मस्कोस्थित नेपाली राजदूतावासका तृतीय सचिव, कवि कुमारबहादुर श्रेष्ठ ‘क्रान्ति’ लिखित ‘अनिँदो जीवनमा जूनकिरी’ शीर्षकको  कविता संग्रहको विमोचन गरियो। र, कविको स्वरमा ‘मस्को आउँदा आउँदै’ शीर्षकको कविताको पहिलो पंक्तिमै ‘विश्वको ठूलो देश रसिया’ भन्दै रूसबारे उद्गार पोखिएको नेपाली कविता गुञ्जियो।

तत्पश्चात् विश्व नेपाली साहित्य महासंघको योजनानुसार यसै पंक्तिकारद्वारा रूसी कविहरुको सहयोगबाट रूसी भाषामा अनुदित र सम्पादित तथा काठमाडौंबाट प्रकाशित ‘नेपाली कविता कुञ्ज’ शीर्षकमा आधुनिक नेपाली कविता संग्रहको लोकार्पण सम्पन्न भयो। र, यस संग्रहकी प्रथम रूसी पाठक र भूमिका लेखिका, भारतवर्ष विद् रूसी विदुषी एभ्गेनिया भानिनाबाट हिन्दी भाषामा नै विमोचित कविता संग्रहको सन्दर्भमा सकारात्मक प्रतिक्रिया व्यक्त गरिएका छ।

तदुपरान्त रूसी काव्यानुवादकहरू (ल्युदमिला आभ्देएभा, तामारा पोत्योमकिना, ताच्याना चेग्लोभा, ल्युदमिला साल्तिकोभा र भ्लादिमिर सिल्किन) बाट छोटो मन्तव्यसहित रूसी भाषामा अनुदित नेपाली कविताहरूको क्रमशः पाठ गरिएकाे छ। र, सबै वक्ताहरूसहित यस पंक्तिकार तथा रूसको दक्षिणी भेकमा रहेको दोनवर्ती रस्तोभबाट स्वयं समारोहमा उपस्थित हुन नसके पनि मस्कोमा बस्ने उनकी छोरी ओल्गालाई समेत खादा ओढाएर सम्मान गरिएको थियो।    

यसरी समारोहको आरम्भमा मङ्गलाचरणको रूपमा काव्यमय खण्डको समाप्तिपश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा सम्मान तथा शुभकामना समारोहको मुख्य कार्यक्रम शुरु भयो। अध्यक्ष मण्डलमा प्रमुख अतिथि नेपाली राजदूत ऋषिराम घिमिरे एवम् आमन्त्रित अतिथि रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री केसी, यूरोप उपसंयोजक गोविन्दप्रसाद गौतम, केन्द्रीय सदस्यद्वय डा. एकनारायण चापागाई तथा रवीन्द्र भट्टराई व्यक्तित्वहरूले स्थान ग्रहण गरिसकेपछि वक्ताहरूबाट मन्तव्य दिने क्रम शुरु भयो। 

राजदूत ऋषिराम घिमिरेले गैरआवासीय नेपाली संघको केन्द्रीय निकायमा निर्वाचित सबै पदाधिकारीहरूप्रति शुभेच्छा र बधाई ज्ञापन गर्नुका साथै आफ्नो सारगर्भित मन्तव्यमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतिजाको परिप्रेक्ष्यमा देशमा स्थायी सरकार गठन भई आर्थिक विकास र सम्पन्नताको ढोका खुल्ने आशा प्रकट गरेका छन्। र, राजदूतावास र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्दै अघि बढ्न आफू सदैव तयार रहेको अभिव्यक्ति दिएका छन्।

गत अक्टोबर २०१७ मा नेपालको रााजधानीमा सुसम्पन्न गैरआवासीय नेपाली संघको आठौं विश्व ‘सम्मेलनमा भाग लिन काठमाडौं पुगेका संसारका ७७ देशमा कार्यरत रष्ट्रिय समन्वय परिषदहरूका प्रतिनिधिहरूले १४ वर्षअघि गैरआवासीय नेपालीको अवधारणा अगाडि सार्ने रूसका नेपालीहरूमध्येबाटै महिला–उपाध्यक्ष, महासचिव र यूरोप उपसंयोजक जस्तो गरिमामय पदमा निर्वाचित क्रमशः सपिला राजभण्डारी, डा. बद्री केसी तथा गोविन्दप्रसाद गौतमद्वारा रूसमा बसोवास गर्ने नेपालीहरूको ऐक्यवद्धताको परिणामस्वरूप विजय प्राप्त भएको जनाउँदै विश्व सम्मेलनको अनुभवबारे बताउनुका साथै विदेशमा रहेका नेपालीहरूको हकहितका लागि काम गर्ने र नेपालको विकासका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै भावी योजना र कार्यभारहरूको सफलताका लागि रूसमा रहेका सम्पूर्ण नेपालीहरूको तर्फबाट पूर्ववत् सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरिएको थियो।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदमा रूसको प्रतिनिधिको हैसियतले केन्द्रीय सदस्य रहेका डा. एकनारायण चापागार्इ र मनोनित केन्द्रीय सदस्य रवीन्द्र भट्टराईबाट पनि अंशतः गैरआवासीय नेपाली अभियानसमक्ष रहेका सम्भावना र चुनौतीबारे प्रकाश पारिएको थियो। यसका साथै हालै मात्र गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदबाट मनोनित संरक्षक एवम् सल्लाहकार मण्डलका कतिपय सदस्यहरूबाट पनि मन्तव्य प्रस्तुत गरिएको थियो।  

रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले यस मैत्री समाजका केही सदस्यहरूले गैरआवासीय नेपाली संघका कतिपय केन्द्रीय उच्च पदहरू सम्हाल्ने अभिभारा पाएको सन्दर्भमा हर्ष प्रकट गर्दै शुभकामना र बधाई ज्ञापन गर्नुका साथै दुवै संस्थाहरूबीच कायम रहेको सुमधुर कार्यकारी सम्बन्ध अझ सुदृढ हुँदै जानेमा जोड दिए।

सम्मान तथा शुभकामना समारोहमा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदमा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री केसी, युरोप उपसंयोजक गोविन्दप्रसाद गौतम, रूसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. एकनारायण चापागाई, मनोनित केन्द्रीय सदस्य रवीन्द्र भट्टराईलाई रुसबासी नेपाली समुदायको तर्फबाट न्यानो स्वागत र हार्दिक शुभकामना व्यक्त गर्दै खादा ओढाएर हार्दिक सम्मान गरिएकाे छ।

तत्पश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदले मनोनित गरेका ५ संरक्षक डा. सूर्यप्रसाद रिजाल, उत्सवकुमार अमात्य, डा. कुमार कार्की, टेकराज निरौला तथा खेमराज लामिछाने, पाँच सल्लाहकार डिल्ली खरेल सुमन, गणेश रामदाम, डा. बिमला भण्डारी, तेजबहादुर शाह र राजकुमार पाण्डे एवम् मनोनित सदस्य केशव तिम्सिना र भूपेन्द्र चौधरीलाई पनि खाँदा ओढाएर सम्मान गर्दै हार्दिक बधाई ज्ञापनका साथै शुभकामना व्यक्त गरिएका थियाे। 

सोही अवसरमा यस पंक्तिकारले पनि रुसबासी नेपाली समुदायको तर्फबाट सम्मानित भई गौरवान्वित हुने स्वर्ण अवसर प्राप्त गरेको थियो। गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष रामेश्वर गौतम, रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमको हस्ताक्षरसहित सम्मान पत्र प्रदान गरिएको छ।

सभापतिको आसनबाट समारोहको समापन मन्तव्य दिँदै  रामेश्वर गौतमले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा नवनिर्वाचित एवम् मनोनित सबै पदाधिकारीहरूलाई हार्दिक बधाई र शुभेच्छा ज्ञापन गर्नुभई आगामी दिनहरूमा पनि रसियावासी गैरआवासीय नेपालीहरूको सामूहिक एकता र सहकार्य मजबूत हुँदै जाओस् भन्ने कामनासहित काठमाडौंमा सम्पन्न विश्व–अधिवेशनमा सम्पन्न निर्वाचनमा केन्द्रीय पदहरूमा रसियाको प्रतिनिधित्व गर्ने उम्मेदवारहरूलाई जिताउन अहोरात्र खट्नुहुने प्रतिनिधि साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै शुभकामना तथा सम्मान समारोहको समापन गरेका छन्।

गैरआवासीय नेपाली संघ रूसका सचिव इन्द्रप्रसाद भूसालबाट सञ्चालन गरिएको समारोहकोे दोस्रो खण्डको समापनपश्चात् एकातिर स्वस्फूर्त ढङ्गले नाचगानको रमाइलो सम्पन्न भइरहेको थियो।


 

More form the Internet

loading...