न्याय मात्रै चाहिएको होः पिडित आमाबुवा

महेन्द्रनगर, २ मंसिर – मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो परिवारको लडाई न्यायका लागि मात्रै भएको बताएकी छन्। रहरले नभई बाध्यताले २४ घण्टे धर्ना गर्नुपरेको उनको भनाइ छ।
हत्याकाण्डको सबै प्रमाण मेटाई सकिएको बताउँदै दुर्गादेवीले प्रमाण मेट्नेमाथि समेत कारबाही नहुँदा आफूहरु आश्चर्यचकित भएको बताइन्। उनले भनिन्, ‘हामीले कहीलेसम्म यसरी धर्ना बसी रहेने हो, हामी यो सरकारसँग मात्र छोरीको न्याय माग्दैँ छाैँ।’
निर्मलाका बुवा यज्ञराज पन्तले अहिलेसम्म्म हत्यारा सार्वजनिक नहुनु निकै दुखद भएको बताए। उनले लामो समय बितिसक्दा पनि सरकारबाट आश्वासन बाहेक अरु केही नपाइएको बताए। धर्नामा बसिरहेको पन्त परिवारले धर्नाप्रति पाइएको समर्थन उत्साहजनक रहेको बताएका छन्। उनीहरुले निर्मलाको बलात्कारी हत्यारा बचाउन राज्यले नै प्रपञ्च गरिरहेको भएपनि समाजले न्यायका पक्षमा समर्थन गरिरहेको आफूहरुले अनुभव गरिरहेको बताए।
धर्नास्थलमा एक्यवद्धता जनाउनेको संख्या बढ्दै
निर्मला हत्याकाण्डका वास्तविक अपराधी पत्ता लगाउन सरकारले आनाकानी गरिरहेका बेला बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तका आमा बुवाले शुरु गरेको अनिश्चितकालिन २४ घण्टे धर्नाले फेरि जनजीवन आन्दोलित हुन थालेको छ।
कात्तिक २५ गतेबाट जिल्ला प्रशासन कार्यालय अगाडि निर्मलाका बाबु–आमा र परिवारले थालेका आन्दोलन प्रति एक्यवद्धता जारी गर्न पुग्नेहरुको संख्या बढ्दो छ। धर्नासँगै निर्मला हत्याकाण्डले गम्भीर सामाजिक आन्दोलनको रुप लिन थालेको छ। निर्मलाका बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तसहित परिवारजनले थालेको धर्नाप्रति एक साताको अवधिमा दुई हजारभन्दा बढी व्यक्तिले धर्नास्थलमैं पुगेर धर्नामा दुई हजार बढीको एक्यबद्धता जनाएका छन्।
धर्ना स्थलमा राखिएको रजिष्ट्ररमा आइतबार साझसम्म दुई हजार तिन सय ५४ जनाले एक्यबद्धता जनाउदैँ हस्ताक्षर गरेको छन्। र, प्रतिदिन एक्यवद्धता जनाउनेको संख्या बढ्दो छ।
धर्नाको पहिलो दिन ३ सय जनाले हस्ताक्षर गरेका थिए भने २६ गते दुई सय दुई, २७ गते एक सय ५६, २८ गते दुई सय ४०, २९ गते चार सय २४, ३० गते पाँच सय ४१, मंसिर १ गते र २ गते दुई सय ४४ जनाले एक्यबद्धता जनाएका छन्।
धर्नास्थलमा पुगेर एक्यवद्धता जनाउनेहरुले निर्मलको हत्यारा सार्वजनिक गर्नुपर्ने तथा पिडीत पक्षलाई न्याय दिनु पर्ने भन्दै धर्ना एक्यबद्धतामा जनाएका हुन्। शुक्रबार धर्नास्थल पुगेर प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले हत्यारा छिट्टै पत्ता लाग्ने आश्वासन दिएका छन। साथै यस मुद्दालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको उनको भनाइ छ।
धर्ना कार्यक्रममा कांग्रेस नेता दिलेन्द्र प्रशात बडु, पूर्व सांसद् बहादुर सिंह थापा लगायतका विभिन्न नेता कार्यकर्ता लगायत अधिकारकर्मीले एक्यबद्धता जनाएका छन्। महेन्द्रनगर पुग्ने अन्य जिल्लाका आगन्तुकहरु धर्नास्थलमा पुग्ने क्रम बढिरहेको धर्नारत यज्ञराज पन्तले बताए।