Suvadin, Home

महिला टोलीले कञ्चनजंघा चढ्ने

काठमाडौं, पुस ८
जलवायु परिवर्तनको असर न्यूनीकरणको सन्देश लिएर तीन जना नेपाली महिला आरोहीले कञ्चनजंघा हिमाल चढ्ने भएका छन्। विश्वको शिखर सगरमाथा र दोस्रो पाकिस्तानस्थित केटु हिमालको सफल आरोहण गरेका माया शेर्पा, पासाङ ल्यामू र दावा शेर्पाले आगामी चैत्र र वैशाख महिनामा कञ्चनजंगा हिमाल चढ्ने भएका हुन्।

नेपाल पर्वतारोहण संघको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी कञ्चनजंगा हिमाल आरोहणका विषयमा औपचारिक जानकारी गराइएको हो। सगरमाथामा आरोहीको भीड लाग्ने र जलवायु परिवर्तनका कारण प्रदुषित भएकाले अन्य हिमाल आरोहण गर्न सन्देश दिने उद्देश्यले कञ्चनजंगा आरोहण गर्न लागेको आरोही माया शेर्पाले जानकारी दिइन्।

शेर्पाले प्रतिकूल वातावरणसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राज्य र विश्व समुदायलाई सकारात्मक सन्देश दिनु आफ्नो टोलीको लक्ष्य रहेको बताएकी छिन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा हिमालमा यसअघि सात जना विदेशी महिलाले मात्र आरोहण गरेकाले आफूहरुको रोजाइमा परेको उनले बताइन्। 

ताप्लेजुङस्थित कञ्चनजंगा हिमाल ८ हजार ५ सय ६८ मिटर अग्लो छ। उनीहरुले सन् २००७ मा सगरमाथाको र सन् २०१४ मा पाकिस्तानस्थित केटु हिमालको आरोहण गरेका छन्। 


 

More form the Internet

loading...