Suvadin, Home

Cover Image

 होटललेसमेत हडप्यो पशुपतिको जग्गा, मानचामलको भाउमा भाडा

काठमाडौं । विश्‍वभरका हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको पशु्पतिनाथ परीसरको जग्गा पनि भूमाफियाले छोडेका छैनन् । विश्‍व सम्पदा सूचीमा सूचीकृत पशुपतिको १७ रोपनी जग्गा होटलले हडपेको पाइएको हो ।

उक्त जग्गाबाट होटलले करोडौं कमाउँछ भने पशुपतिलाई मासिक दुई हजारका दरले दिने गरेको पाइएको हो । परापूर्वकालमा गुठी राख्दा मोहीलाई जुन भूबहाल तोकिएको थियो, अहिलेसम्म त्यही छ।नगदको प्रचलन कम भएकाले त्यतिबेला भूबहाल नगद नभई बाली तोकिन्थ्यो। 

अब्बल, दोयम, सिम र चहार गरी जग्गालाई चार श्रेणीमा विभाजन गरिएको थियो। अब्बल जमिनको प्रतिरोपनी ३० पाथी, दोयमको २५ पाथी, सिमको २० पाथी र चाहरको १० पाथी बहाल तोकिएको थियो। त्यसमध्ये तारागाउँले लिएको जग्गा तेस्रो श्रेणीको पर्छ। यसको बहाल वर्षमा प्रतिरोपनी २० पाथी (एक मुरी) तोकिएको थियो।

तारागाउँले त्यही एक मुरी धानको बजार मूल्यअनुसार नगद दिँदै आएको थियो । संस्कृतिविद् गोविन्द टन्डनका अनुसार विसं १८६७ मा गीर्वाणयुद्धले नयाँ र पुराना गुठीको व्यवस्था गर्न लालमोहर लगाइदिए। त्यो लालमोहरअनुसार भण्डार तहबिल स्थापना भएको हो।

पशुपतिको जग्गा तारागाउँले मात्रै होइन, अरू केही निकायले पनि भूबहाल तिर्ने गरी लिएका छन्। गौशालाको द्वारिकाज होटलले पशुपतिको केही जग्गा लिएको छ। द्वारिकाजले लिएको जग्गा जयबागेश्वरी गुठीअन्तर्गतको हो। त्यहाँका केही मोहीसँग जग्गा लिएर द्वारिकाजले पशुपतिलाई भूबहाल तिर्दै आएको छ।

कोषका सदस्यसचिव ढकालका अनुसार द्वारिकाजले पनि न्यून बहाल तिर्छ। तिलगंगा आँखा अस्पतालले न्यून बहालमै ५ रोपनी जमिन प्रयोग गरेको छ। अस्पतालले वर्षमा ४० हजार रुपैयाँ तिर्दै आएको थियो, २०७२ सालमा बहाल पुनरावलोकन भयो। अहिले महिनामा ४० हजार तिर्छ। 'यो पनि नगन्य हो,' गौतम भन्छन्। महालेखा परीक्षक कार्यालयले तिलगंगासँग नयाँ सम्झौता गर्न सुझाव दिएको छ।

सूचना विभाग, पत्रकार महासंघ र प्रेस काउन्सिल भएको सञ्चारग्राम पनि पशुपतिकै जग्गा हो। यहाँको जग्गाचाहिँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बहालसमेत तिर्न नपर्ने गरी उपलब्ध गराएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले उक्त जग्गा प्रयोग गरेबापत पशुपतिनाथलाई बर्सेनि निश्चित रकम दिन सुझाव दिएको छ। त्रिभुवन विमानस्थलले ११ सय २६ रोपनी जग्गा लिएको छ। पुरानो धावनमार्गसम्मै पशुपतिको जग्गा हो।

धावनमार्गबाहेकको जग्गा विमानस्थलले गल्फ क्लबलाई भाडामा दिएको छ। एक रोपनी बराबर तीन पाथी धान बहाल थियो। धानको बजार भाउअनुसार विमानस्थलले पैसा दिन्थ्यो। यसमा केही बहाल बढाएको ढकालले जानकारी दिए। २०३८ सालमा मन्त्रिपरिषद्ले निर्णय गरेर विमानस्थललाई जग्गा दिएको थियो। त्यतिबेला पनि यो जग्गा अमालकोट कचहरीले हेथ्र्योे। कचहरीको प्रमुख पशुपतिका भट्ट हुने गर्थे। भट्टको चाहनाबमोजिमगुठीको जग्गा प्रयोग हुन्थ्यो।

गौशाला निर्माणका लागि १ रोपनी जग्गा दिइएको थियो। त्यसलाई बढाउँदै ९ रोपनी पुर्‍याइएको छ। त्यहाँ चारतले धर्मशालासमेत बनाइएको छ। पशुपति क्षेत्र विकास कोषअन्तर्गत आउनुअघि २०३८ सालमै धर्मशाला बनाइएको हो। भवन पुरातात्त्विक महत्त्वको भएन भनेर आवाज पनि कोषले उठाएको गौतम बताउँछन्।

यहाँ गौशाला सञ्चालन गर्न भने विसं १९९९ मै दिइएको थियो। रतिराम मित्तललाई पशुपतिमा छाडिएका साना दूधकटुवा बाच्छाबाच्छी स्याहार गर्ने उद्देश्यले दिइएको थियो। 'बहर भएपछि दूधकटुवा बाच्छालाई छाडिदिने गरी दिइएको थियो,' गौतम भन्छन्, 'तर धर्मशाला नैबनाएर जमिन हडपियो।'

मारबाडी समाजले धर्मशाला बनाएर पनि पैसा तिर्दैनथ्यो। २०५७ सालमा वसन्त चौधरी कोषको सदस्यसचिव भएपछि मारवाडी कोषले वाषिर्क ५१ हजार रुपैयाँ दिने सहमति भएको हो। चारतले धर्मशालामा भुइँतलामा सटर सञ्चालन गरिएको छ। सटरबाट महिनामै लाखभन्दा बढी आम्दानी हुन्छ। 'धर्मशालाको आम्दानी पारदर्शी हुनुपर्छ भनेका थियौं,' गौतम भन्छन्, 'पारदर्शी भएपछि घाटा भए कोषले बेहोर्छ। नाफा भए पनि कोषलाई दिनुपर्छ भनेका हौं। टेरेका छैनन्।'

अब्बल, दोयम, सिम र चहारमा गरिएको विभाजन अब भूबहालका लागि उपयुक्त नभएको गौतम बताउँछन्। २०२१ सालमा भएको नापीअनुसार पशुपतिका तीनवटा गुठीअन्तर्गत ४ हजार ८ सय ५ रोपनी जग्गा थियो। अमालकोट कचहरीअन्तर्गत १ हजार ४ सय ९९ रोपनी, पशुपति भण्डार तहबिलअन्तर्गत २ हजार ७ सय ९५ रोपनी र जयबागेश्वरी भण्डार तहबिलअन्तर्गत ५ सय ११ रोपनी आठ आना जग्गा थिए ।


 

More form the Internet

loading...