Suvadin, Home

यस्ताे थियाे छ महिना देखिकाे याेजना
पक्की घर हडप्ने दाउमा दम्पतीकाे योजनाबद्ध हत्या

भारतको बैङ्लोरमा रोजगारी गर्दै आएकी लक्ष्मीले धनगढीमा घर किन्ने सोच बनाई आफ्ना भाई नरेश भण्डारीलाई पैसा पठाउने गरेकामा निज भण्डारीले मृतकको घरमा दुई जनाबाहेक अरु परिवारका सदस्य कोही नबस्ने गरेको मौका पारी मृतकको घर हडप्ने योजना बनाएको बताए।  यस्तो योजनाबारे अभियुक्त भण्डारीले बैङ्लोरमा बस्ने आफ्नै दिदी लक्ष्मीलाई जानकारी गराई हत्या गराउन राजा ओली र हरिष ओलीसँग समेत छलफल गरी छ महिनाअघि जोशी दम्पतीको हत्या योजना बनेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । 

धनगढी, १३ जेठ - धनगढी उपमहानगरपालिका–७ स्थित बुद्धचोकमा छ दिनअघि भएको वृद्ध दम्पतीको हत्या मृतकको पक्की घर हडप्ने दाउमा योजनाबद्ध रुपमा भएको खुलासा भएको छ । 

घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कैलालीले आज गरेको पत्रकार सम्मेलनमा ७२ वर्षीय बद्रीप्रसाद जोशी र उहाँकी ६५ वर्षीय श्रीमती कुन्तादेवि जोशीको हत्या योजनाबद्ध रुपमा भएको पत्ता लागेको प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए। 

बझाङ जिल्ला थलारा गाउँपालिकाकी लक्ष्मी ओली र निजका भाई नरेश भण्डारीको योजनामा जोशी दम्पतीको हत्या भएको उपरीक्षक चन्दले बताए। 

भारतको बैङ्लोरमा रोजगारी गर्दै आएकी लक्ष्मीले धनगढीमा घर किन्ने सोच बनाई आफ्ना भाई नरेश भण्डारीलाई पैसा पठाउने गरेकामा निज भण्डारीले मृतकको घरमा दुई जनाबाहेक अरु परिवारका सदस्य कोही नबस्ने गरेको मौका पारी मृतकको घर हडप्ने योजना बनाएको बताए। 

यस्तो योजनाबारे अभियुक्त भण्डारीले बैङ्लोरमा बस्ने आफ्नै दिदी लक्ष्मीलाई जानकारी गराई हत्या गराउन राजा ओली र हरिष ओलीसँग समेत छलफल गरी छ महिनाअघि जोशी दम्पतीको हत्या योजना बनेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । 

सोही योजनाबमोजिम घरजग्गा छोरीका नाममा पास गरिदिने भन्दै बझाङमा बस्दै आएकी छोरी पूजा बटालालाई फोनमार्फत लक्ष्मीले धनगढी बोलाउन लगाएकी थिइन् । आमाको सल्लाहबमोजिम गत वैशाख २५ गते पूजा आफ्ना मामा नरेशसँगै धनगढी आएकी थिइन् । हत्या घटना हुनु छ दिनअघि मात्रै भारतबाट लक्ष्मी, राजा वली र हरिष ओलीसमेत धनगढी पुगेर मृतक बद्रीसँग मितबुबाको सम्बन्ध रहेको नाटकसमेत रचेको बताइएको छ । 

सो योजना सफल बनाउन पूजा बटालाले आफ्नो सासूससुरा समेतलाई आमा लक्ष्मीले धनगढीमा घर किनिदिएकाले किनेको घरमा बस्न आउनु भनी बझाङबाट धनगढी बोलाएको बताइएको छ। 

छरछिमेकमा घर खरिद गरेको भनेर देखाउन सोही घर परिसरमै भोज भतेर गर्ने, जसका कारण पछि घर सजिलैसँग बेचेर आर्थिक लाभ गर्न सकियोस् भन्ने योजनाका साथ हत्या घटना भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले वृद्धवृद्धाको हत्या गरेर नेपाली कागजमा अँगुठा लगाइ बकस पत्र बनाई सम्पत्ति हडप्ने योजनाअनुसार हत्या गरिएको निष्कर्षसमेत निकालेको छ। 

हत्या घटनामा संलग्न भएका भनिएका बझाङ मौलाली–८ घर भई बैङ्लोरमा काम गर्दै आएकी पूजा बटालाकी आमा लक्ष्मी वली, मौलाली घर भई भारतमै काम गर्ने राजा ओली, हरिष ओली र मुख्य योजनाकार मानिएका नरेशबहादुर भण्डारी फरार रहेका छन्। 

अभियुक्त पूजा बटाला निजका ससुरा कलक बटालालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । जेठ ७ गते साँझको समयमा धनगढीको बुद्धचोकस्थित आफ्नै पक्की घरमा जोशी दम्पतीको हत्या भएको थियो । हत्या भएको छ दिन बितिसक्दासम्म पनि मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कडा कारबाही गर्न माग गर्दै मृतकका आफन्त र छिमेकीले शव नबुझेका हुन् । आफन्त छिमेकीले आज दिनभर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । रासस 


 

More form the Internet

loading...