Suvadin, Home

किन लुकाइयो प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, सिंगापुरमा के-के उपचार ? 

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि तीन हप्ताको बीचमा दोस्रो पटक बिहीबार सिंगापुर प्रस्थान  गरेका छन् । 

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर आएपछि आफ्नो शरीरका सबै अंग हातखुट्टाका नङसमेत ठिक रहेको र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको प्रतिक्रिया दिएका प्रधानमन्त्री ३ हप्ता नबित्दै फेरि उपचार गर्न जानुले कतै स्थिति गम्भीर त छैन? भन्ने प्रश्न उब्जाएको छ ।

पछिल्लाेपटक सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट देशका प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा कुनै आधिकारिक जानकारी गराइएन । सामाजिक सञ्जाललगायत अन्य क्षेत्रमा पनि देशका प्रधानमन्त्री जस्तो उच्च पदस्थ व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनु नागरिकहरुको अधिकार भएको कुराहरु साथै असन्तुष्टि व्यक्त गरिएका थिए ।

बिहीबार प्रधानमन्त्री सिंगापुर उड्नुअघि प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहले प्रेस नोट जारी गरेर गएको साउन १८ देखि २७ सम्म सिंगापुरमा उपचार गराउँदा मिर्गौलासम्बन्धी एण्टिबडीको मात्रा बढी देखिएको र बढी देखिएकाे एण्टिबडी निस्कासन गरेर निराकरण गर्न प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका हुन् ।

प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डाक्टर दिलीप शर्माले प्रधानमन्त्रीको ‘क्रेटिनाइन अहिले २ को हाराहारीमा रहेको र उनको मिर्गौला स्थिर रहेको’ जनाएका छन् । सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको डाक्टर शर्माको भनाइ छ ।   

प्रधानमन्त्रीलाई भएको के हो ?

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेका भनाइमा प्रत्याराेपण गरिएकाे मिर्गाैलाका विरुद्ध शरीरले एण्टिबडी बनाएका कारण समस्या देखिएको हो ।

प्रत्यारोपण गरिएको मिर्गौला शरीरको संयन्त्रभन्दा बाहिरको हुने भएकाले शरीरले त्यसका विरुद्ध एण्टिबडी बनाएको हो । प्रत्यारोपण गरिएको मिर्गौला सधैँका लागि नहुने भएकाले यो र यस्ता समस्या देखिनु स्वाभाविक हो ।

एण्टिबडी के हो?

एण्टिबडी भन्नाले कुनै पनि बाहिरी तत्वले शरीरमा गर्ने हानी वा आक्रमण रोक्न तिनीहरुविरुद्ध शरीरको रोग प्रतिरोध संयन्त्रले तयार गरेको प्रोटिन तत्व हुन् जुन सामान्यतया अंग्रेजी वर्णमालाको वाइ आकारका हुने चिकित्सकहरु बताउँछन् ।

के गरिन्छ एण्टिबडी नष्ट गर्न?

डाक्टर काफ्ले भन्छन् - त्यसका लागि प्लाज्मा फेरेसिस भन्ने प्रविधि हुन्छ । प्लाज्मा फेरेसिस भनेको रगतमा रहेका अस्वस्थ प्लाज्मालाई निकालेर स्वस्थ प्लाज्मा राख्ने भन्ने बुझिन्छ । उहाँका अनुसार फेरेसिस कम्तीमा पनि ६ पटक गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले फेरि मिर्गौला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताए ।
 


 

More form the Internet

loading...