Suvadin, Home

Cover Image

२० देखि २९ वर्षका महिलामा विषादीको उच्च संक्रमण 

काठमाडौं । नेपालका २० देखि २९ वर्ष उमेर समूहका महिलामा विषादीको बढी संक्रमण देखिएको छ । तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न क्षेत्रमा बढी नै महिलाले काम गर्ने तर यी वस्तुमा विषादीको प्रयोग गर्दा कुनै सावधानी नअपनाउने गरेका कारण महिलामा बढी विषादीको सङ्क्रमण देखिएको हो ।

नेपालका ३२.५८ प्रतिशत महिलामा विषादीको सङ्क्रमण देखिएको कृषि तथा पशुपक्षी मन्त्रालय, बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले जानकारी दिए । “नेपालका महिलाले विषादीको प्रयोग गर्दा कमै मात्रामा मास्क, पञ्जा, गाउन, एप्रोन, बुथ र चस्मा लगाउने गरेका छन्”, शर्माले भने, “धेरैजसो महिलाले चुरोट खाएर नाङ्गो हातले विषादी प्रयोग गर्दा उनीहरु बढी विषादी सङ्क्रमणका सिकार हुन पुगेका हुन् ।” 

नेपालले पहिलोपटक मालाथिन नामक विषादीको प्रयोग सन् १९९० देखि शुरु गरिएको थियो । टाउकाको जुम्रा र कोठाभित्रको उपियाँ मार्न जथाभावी मालाथिनको प्रयोग भएसँगै पुरुषको तुलनामा महिलाको स्वास्थ्य उच्च जोखिममा भेटिएको शर्माले बताए ।
 
नेपालीमा विषादी प्रयोग भएको अवधि पूरा नभई तरकारी र फलफूल टिपी व्यापार गर्ने तथा समय नपुगी गोठ र खोरमा छिर्ने परम्परा भएकाले विषादीको संक्रमण बढेको हो ।

नेपालका ६० प्रतिशत किसानले एग्रोभेटमा गएर मनलाग्दी तरिकाले विषादी खरीद गरी प्रयोग गर्ने तथा गोलभेडा वा भण्टा व्यापार गर्नुपूर्व टलक्क चम्काउन विषादीमा डुबाएर ल्याउने कुरा सुन्नुभएका शर्माले यसो नगर्न किसानलाई आग्रह गरे ।
 
सरकारसँग विभिन्न एग्रोभेटबाट समय नाघेर जफत गरेको विषादी भण्डारण गर्ने स्थानको अभाव रहँदा पुनः प्रयोग हुन पुगेको नास्टका वरिष्ठ वैज्ञानिक सर्जनलाल स्यायूलाले बताए । “सरकारले मिति नाघेका नेपालमा भित्रिने यस्ता विषादी भण्डारण गर्न एक व्यवस्थित विषादी भण्डारण कक्षको व्यवस्था गर्नुपर्ने देखिन्छ”, स्यायूलाले भन्नुभयोने, “नेपालमा आयात हुने ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेका छन् । तरकारीमा प्रयोग भएका यी विषादी न्यूनीकरण गर्न हलुका तातोपानीमा नुन हालेर केही घण्टा डुबाएर पकाउँदा संक्रमण घट्नेछ ।”

तरकारी वा फलफूल उत्पादन गर्दा प्रयोग गरेको विषादीले मान्छेलाई कुनै असर गर्दैन तर जथाभावी प्रयोग गर्दा वा प्रयोग गर्न नजान्दा यसले मानिसमा असर गर्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कीट विज्ञान महाशाखा प्रमुख सुनिल अर्यालले जानकारी दिए । सरकारले नेपालमा उत्पादन हुने जडीबुटी, वनमारा, तीतेपाती र नीमलाई विषादीका रुपमा प्रयोग गर्ने प्रविधि भित्र्याउन आवश्यक रहेको अर्यालको भनाइ छ ।
 
बाली संरक्षण निर्देशनालयको तथ्याङ्कानुसार नेपालका तरकारी वा फलफूलमा अन्य देशको तुलनामा कम विषादीको प्रयोग हुने, विषादी हालिएको भाँडा धोएर सामान राख्ने गर्दा त्यसबाट सङ्क्रमण बढ्ने, आत्महत्या गर्दा विषादीलाई माध्यम बनाई मृत्युवरण गरेको, ७० प्रतिशत कृषकले बाली वा तरकारीको किरा मार्न मात्राभन्दा बढी विषादी प्रयोग गर्दा त्यसको संक्रमणले  टाउको दुख्ने, आँखा पोल्ने, बान्ता हुनेलगायत मुटु, मिर्गाैला र अर्बुदरोग बढेको देखिन्छ ।  

नेपालमा आयात हुने विषादीमध्ये २१ प्रकारका विषादी सरकारले प्रतिबन्ध गरिसकेको छ । नेपालको तराईमा रहेका किसानले बाली उत्पादन गर्न सबैभन्दा बढी विषादीको प्रयोग गर्ने गरेको जानकार बताउँछन् 


 

More form the Internet

loading...