Suvadin, Home

Cover Image

पहेँलाे गुलाफकी श्रष्टा प्रेमा शाहकाे अमेरिकामा निधन

शाहको ७५ वर्षको उमेरमा बुधबार संयुक्त राज्य अमेरिकामा निधन भएकाे हाे। शाह केही वर्षदेखि छोरी जल शाहसँग अमेरिकामा बस्दै आएकी थिइन्। उनी यौन मनोविज्ञान साहित्यद्वारा समाजमा छाप छोड्न सफल नारी श्रष्टा हुन्।
प्रेमा शाह।

काठमाडौं, ६ पुस – यौन मनोविज्ञान साहित्यकी श्रष्टा प्रेमा शाहको बुधबार निधन भएको छ। उनको ७५ वर्षको उमेरमा बुधबार संयुक्त राज्य अमेरिकाकाे साल्टलेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो।

शाह केही वर्षदेखि छोरी जल शाहसँग अमेरिकामा बस्दै आएकी थिइन्। उनी यौन मनोविज्ञान साहित्यद्वारा समाजमा छाप छोड्न सफल नारी श्रष्टा हुन्।

पुरुषप्रधान समाजमा पिडा र दुःख खेप्न बाध्य महिलालाई दर्शाउदै पुरूष प्रवृत्ति उजागर गर्ने उनी एक साहसी नारी हुन्। उनका कयौं कथा संग्रहहरु छन् जसमा पुरूष प्रवृत्तिलाई खुलेर उजागर गरिएको छ।

शाहले वि.सं. २०२३ सालमा यौन मनोवैज्ञानिक कथासंग्रह ‘पहेंलो गुलाफ’ मार्फत नेपाली साहित्यमा प्रवेश गरेकी हुन्। उनले लेखेको पहिलो कथासंग्रह ‘पहेँलो गुलाफ’ पाठकहरुले निकै रुचाएका थिए।

शाहको यो उपलब्धिले नै साहित्य जगतमा सशक्त रहन थप प्रेरणा मिल्यो। केही वर्षको अन्तराल पछि वि.सं. २०२८ सालमा प्रेमाले ‘विषयान्तर’ नामक अर्को कथासंग्रह लेखेकी थिइन्।

त्यसपछि उनले साहित्य क्षेत्रलाई निरन्तरता दिन थालिन्। शाहले वि.सं. २०३२ सालमा लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ पछि वि.सं. २०४० सालमा ‘मम्मी’ नामक उपन्यास प्रकाशनमा ल्याइन्।

प्रेमाले ६ वटा बालकथा संग्रह र ३ वटा बाल उपन्यास सहित आफूलाई बालसाहित्यकारको रूपमा पनि उभ्याएकी थिइन्। उनको जन्म वि.सं. २००२ साल असार १६ गते वीरगञ्जको श्रीपुरमा भएको थियो।

प्रेमा सानैमा मामाघर काठमाडौं आएकी थिइन्। उनी मामाघरमा धाइआमा (तलुसीदेवी उपाध्याय कोइराला)को लालनपाल र स्याहारसुसारमा हुर्किएकी थिइन्।

प्रेमाल पाटन मंगलबजारस्थित आदर्शकन्या निकेतनबाट वि.सं.२०१६ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन्। उनले पाटन कलेजबाट स्नातक उत्तिर्ण गरेकी थिइन्। प्रेमाले स्नातकपछि त्रिभुवन विश्वविद्यालयबाट स्‍नातकोत्तर उत्तीर्ण गरिन्।

उनले वि.सं.२०२८ सालमा पाटनका जेपी शाहसँग विवाह गरेकी थिइन्। प्रेमाको वैवाहिक सम्बन्धले एक वर्षमा सम्बन्धविच्छेमा रुपान्तरण भयो। उनले सर्लाही, वीरगञ्ज र नेपालगञ्जमा अध्यापन गरेर उनले छोरी जल शाहलाई हुर्काएकी हुन्।


 

More form the Internet

loading...