Suvadin, Home

रवि समर्थक २२ पक्राउ, ४ धरौटीमा रिहा

चितवन । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्, १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ ।  रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ ।  

प्रहरीले साउन ३२ गते चार जनालाई समाएको थियो ।  भदौ २ गते १० जना पक्राउ परे ।  मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्नअदालत लैजाने दिन थियो ।  त्यो दिन प्रदर्शनमा उत्रिएका ८ जना समातिए । 

‘समातिएकामध्ये चार जना धरौटीमा छुटेका छन्, १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखिएको छ’, डीएसपी कोइरालाले भने । 

समर्थकको प्रदर्शनमा बुधबारबाट संख्या पातलो हुँदै गएको छ ।  प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो ।  सोही दिन कांग्रेसले पनि अलग्गै विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने बताएको थियो । 

यसअघि आइतबार साँझ चितवन जिल्ला प्रशासनमा सर्वदलीय बैठक बसेको थियो ।  निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सुरक्षा अधिकारी, नेकपा, कांग्रेस, समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र राप्रपाका नेता–प्रतिनिधि सहभागी बैठकले तीन बुँदे निर्णय गरेको थियो ।  

पक्राउ परेका व्यक्तिहरूको पक्ष/विपक्षमा नभई शान्ति कायम गर्न दलहरूले सर्वसाधारणलाई अपिल गरेका थिए ।  दलहरूले अराजक प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेका थिए । 

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार काठमाडौंमा पक्राउ गरेर चितवन प्रहरीले भरतपुर ल्याएको थियो ।  काठमाडौंको माउन्टेन टीभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी साउन २० गते राति नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीले बरामद गरेको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा पुडासैनीले रविसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् । 


 

More form the Internet

loading...