Suvadin, Home

Cover Image

राष्ट्रिय प्रसारण संस्था 'एबीसी’ मुख्यालयमा छापा

अस्ट्रेलिया । अस्ट्रेलियाको संघीय प्रहरीले यहाँको राष्ट्रिय प्रसारण संस्था (एबीसी) मा बुधबार छापा मारेको छ । प्रहरीले सन् २०१७ मा अफगानिस्तानमा यहाँको सुरक्षा निकायले गरेको ज्यादतीबारे प्रसारण गरेको खोजमूलक समाचारलाई लिएर छापा मारेको ‘एबीसी’ ले जनाएको छ । 

‘एबीसी’ मा कार्यरत खोज पत्रकारद्वय डान ओक्स र साम क्लार्कले अफगानिस्तानमा कार्यरत अस्ट्रेलियाली विशेष सुरक्षा बलले गरेको गैरकानुनी हत्यालगायत विषयमा लागेको आरोपबारे रिर्पोट सार्वजनिक गरेका थिए ।

सोही घटनाबारे एबीसीलाई प्राप्त कागजपत्रहरूका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीद्वारा छापा मारिएको समाचारहरूमा जनाइएको छ । प्रहरीले ‘एबीसी’ का समाचार प्रमुख गाभेन मोरिस र रिपोर्टिङ गर्ने दुई पत्रकार ओक्स र क्लार्कका नाममा ‘सर्च वारेन्ट’ जारी गरीसिड्नीमा रहेको प्रधान कार्यालयमा बुधबार दिनभरि छापा मारेको हो ।

संघीय प्रहरीले न्युज कोर्पकी पत्रकार अनिका स्मेथर्स्टको घरमा समेत मंगलबार छापा मारेको थियो । उनले एक वर्षअघि लेखेको एक समाचारका विषयमा छापा मारिएको उल्लेख गरिएको छ । अस्ट्रेलियाको संघीय प्रहरीले एबीसीमा बुधबार मारिएको छापा न्युज कोर्पसँग सम्बन्धित नभएको जनाएको छ ।

समाचारसंस्थाहरूका अनुसार केही संघीय प्रहरी आफ्ना आईटी विशेषज्ञहरूसहित एबीसीको कार्यालयमा पुगेका थिए । उनीहरूले घण्टौंसम्म कार्यालयमा रहेर उक्त रिपोर्टसम्बन्धी विभिन्न दस्तावेजहरूको अनुसन्धान गरेका थिए । प्रहरीहरूले सम्बन्धित इमेल, ड्राफ्ट रिपोर्ट, कम्प्युटर हार्ड ड्राइभलगायतका सामग्रीहरू मागेका थिए । एबीसीका कार्यकारी प्रमुख तथा खोज विभागका प्रमुख जोन लायन्सलेप्रहरीले उक्त घटनासँग सम्बन्धित सबै कुरा चाहेको बताए ।

एबीसीका सम्पादकीय प्रमुख क्रेग म्याकमर्टीले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रहरीले आफूहरू आउने कुरा जानकारी दिएको बताए । ‘हाम्रो विचारमा यो स्वागत गर्न नसकिने विषय हो,’ उनले भने, ‘हामीले कानुनअनुसार र जनताको चासोका विषयमा पत्रकारिता गरिरहेका छौं र यो अत्यन्तै सोचनीय पनि विषय हो ।’ बेलायतमा रहेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले प्रहरीले कानुनलाई पालना गर्दा आफू अचम्भित नहुने बताउँदै यो सरकारको विषय नभएर संघीय प्रहरीको भएको बताए ।

अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनले आफूलाई एबीसी र न्युज कोर्पमा भएको छापामारीबारे पहिल्यै जानकारी नभएको बताए पनि प्रहरीले गरिरहेको महत्त्वपूर्ण कामको प्रशंसा गरेका छन् । उनले संघीय प्रहरी आफ्नो अनुसन्धान स्वतन्त्र रूपले गर्न पाउनु उपयुक्त भएको र यो उनीहरूको जिम्मेवारीअन्तर्गत रहेको समाचार–माध्यमहरूलाई बताएका छन् । अस्ट्रेलियाका पत्रकारहरूको साझा संस्था मिडिया इन्टरटेन्मेन्ट एन्ड आर्टस एलायन्स (एमईएए) ले यो कार्य पत्रकारितालाई प्रभावित पार्ने कोसिस भएको बताएको छ ।

प्रहरीले अफगानिस्तानमा अस्ट्रेलियाली सुरक्षाकर्मीले गरेको कथित ‘ज्यादती’ सम्बन्धी सामग्रीलाई लिएर छापा मारेको सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार प्रहरीले एबीसी सम्बद्ध एक पत्रकारको घरमा समेत छापा मारेको थियो । पत्रकारहरूको प्रमुख संस्थाले प्रहरीद्वारा गरिएका यी दुई छापामारीलाई ‘अस्ट्रेलियाली प्रेस स्वतन्त्रताको उल्लंघन ’ भनेको छ ।
 


 

More form the Internet

loading...