Suvadin, Home

प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका १३ कार्यकर्ता पक्राउ 

नेविसंघले विश्वविद्यालयमा सरकारविरुद्ध नारावाजी र प्रधानमन्त्रीको पुत्ला जलाउने थालेपछि केही समय प्रहरीसंग नेविसंघका कार्यकर्ताहरुको झडप समेत भएको छ।

सुर्खेत,१८ माघ-सरकारविरुद्ध नारावाजी गर्ने नेपाल विद्यार्थी संघका १३ जना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओली र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुत्ला जलाएपछि प्रहरीले नेविसंघका २ जना केन्द्रीय सदस्यसहित १३ जनालाई नियन्त्रणमा लिएको हो।

नेविसंघले विश्वविद्यालयमा सरकारविरुद्ध नारावाजी र प्रधानमन्त्रीको पुत्ला जलाउने थालेपछि केही समय प्रहरीसंग नेविसंघका कार्यकर्ताहरुको झडप समेत भएको छ।

झडपमा नेविसंघका केन्द्रीय सदस्य अनिल शाही र हरी शर्मा घाईते भएका छन्। केन्द्रीय सदस्य शाही र शर्मासहित प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ। नेविसंघले आन्दोलन थालेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति छ।

मध्यपश्चिमाञ्च विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका सभापति झक्कु शाही, नेवि संघ  कालिकोट सुर्खेत सम्पर्क समितिका अध्यक्ष सुरेन्द्र काफ्ले, गौतम बिसी, रोशन बस्नेत, रामचन्द्र भण्डारी, बीरे खड्का, न्युटन ओली, पीताम्बर ढकाल, रितुराज रिजाल, सुरेन्द्र जैसी र गोबिन्द सिजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन रहेको, सरकार अधिनायकवाद र भ्रष्टाचारतर्फ उन्मुख भएको लगायत आरोप लगाउँदै नेविसंघले देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको छ।


 

More form the Internet

loading...