Suvadin, Home

पहिरोमा थुनिएका ५१ सुरक्षित स्थानमा, हेलिकोप्टरमार्फत राहत सामग्री

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।

पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई आज राहत सामग्री वितरण गर्नुभएको थियो । पूर्ण विस्थापितमध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए। 

सङ्खुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरोले विस्थापितका लागि आज तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्री ढुवानी गरिएको छ ।  

आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिको थिएन । मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, १०० किलो नुन र ७२ थान त्रिपाल खरीद गरेको थियो ।

पहिरोबाट मकालु–५, पेपुवाका चार गाउँका २९ परिवार विस्थापित भएका छन् । २२ घर उच्च जोखिममा रहेको राईले बताए। विस्थापित २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरिएको हो । ती परिवारका वृद्धवृद्धा र बालबालिकालाई हेलिकप्टरबाट गाउँपालिकाको केन्द्र ल्याइएको छ ।


 

More form the Internet

loading...