Suvadin, Home

१३ मा बिहे, १५ मा आमा, १८ मा जागिर र २१ मा एकल
एक प्रहरी महिलाको जीवनगाथा

एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेको छ, त्यो पनि ४० को दशकदेखि ६० को दशकसम्म ।
प्रहरी जवान सपना एेर।

–केशव पन्त 

महेन्द्रनगर, जेठ ७– एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेको छ, त्यो पनि ४० को दशकदेखि ६० को दशकसम्म ।

ती महिला हुन्– प्रहरी जवान सपना ऐरी। २१ वर्षमै श्रीमान गुमाएकी सपनाले अझैं जीवनमा धेरै गर्ने आशा सँगालेकी छन्। प्रहरी परिवारमा हुर्किएकी सपनाले भनिन्, ‘छोरालाई प्रहरी अधिकृत बनाउँछु। आफू प्रहरी संगठनको ड्यूटी कुशलतापूर्वक निर्वाह गर्छु र त्यसपछि समाज सेवामा लाग्छु।’ 

सपना ऐरीको तीतो अनुभव बाल्यकालदेखि नै सुरु भयो। २०४८ मा जन्मिएकी सपनाका आमाबुबा प्रहरी जागिरे भएकाले उनी मामाको घरमा बसेर हुर्किइन्। सपनाले आमाबुबाको संगत र माया पाउन सकिनन्। पछि बुबा र आमा छुट्टिएर बस्न थालेपछि बुबालाई देख्नसम्म पनि विरलै पाउन थालिन्। आमाबुबाले अन्तरजातीय विवाह गरेकाले अभिभावकले समेत घरपरिवारबाट टाढा बस्नुपरेको थियो। अन्तरजातीय विवाहको पीडा सहेकी आमाले सपनाको विवाह १३ वर्षको कम उमेरमै गरिदिइन्। ‘एउटा नारीका लागि जीवन साथीसँग रमाउने, दुःखसुख साट्ने, सँगै जीउने ठूलो रहर हुन्छ,’ प्रहरी जवान सपनाले भनिन्, ‘ती सबै रहर २१ वर्षको उमेरमा सकियो, श्रीमानको स्वर्गारोहणपछि जीवनमा धेरै समस्या आएपनि मैले संघर्ष गरिरहेँ ।’

२०६९ असार १५ गते धनगढी गणस्थित ब्यारेकमा ड्यूटी गरिरहेका बेला सपनाले श्रीमान जयकिशन चौधरी कञ्चनपुरको वुटावारीमा मोटरसाइकल दुर्घटनामा परेको खबर सुनिन्। शुक्रबारको दिन सपना छोरालाई स्कूलबाट लिएर कोठामा पुगेकी थिइन्। उनले सम्झिइन्, ‘बेलौरीमा उहाँको साथीको बहिनी बिरामी भएकी रैछन्। साथीले बेलौरी जान जिद्धी गरेपछि धनगढीबाट हिँडेछन्। दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए।’ मोटरसाइकल तीव्र गतिमा भएकाले दुर्घटनामा सपनाका श्रीमानको ज्यान गयो। 

२१ वर्षकै उमेरमा एकल भएपछि केही महिना सपनाले जीवनसँग हार खाइनन्। ‘२५ दिनको बिदा लिएर मैले श्रीमानको देहान्तपछिका सबै कर्म गरिसकेर पुनः कामका फर्किए,’ उनले भनिन्, ‘छोरा गुमाएका सासु–ससुराले बुहारी हामीसँग बस्दिन होला साचेका रैछन्।’ बिहे गर्ने उमेर भर्खर भएको बेला एकल भएकी सपनाले पूरा जीवन सम्हाल्नु थियो। त्यसै अनुरुप सपनाले जीवन भोगाईका क्रममा आम एकल महिलाले भोग्ने समस्या भोग्दै घरपरिवार, सासुससुरा र छोराको भविष्यका लागि संघर्ष गरिरहिन्। 

एकल महिलालाई हेर्ने समाजको दृष्टिकोणसामु सपना कहिल्यै पनि निराश भइनन्। घरपरिवारबाट साथ सहयोग पाएको भएपनि कामका दौरानमा साथीले गर्ने कुराले मन दुख्न लाग्यो। ‘श्रीमान बितेपछि मेरो घरमै आएर केही व्यक्तिले सासु आमालाई तपाईको बुहारी कहाँ गइन्, के गर्छिन् भनेर सोध्न थाले,’ उनले भनिन्, ‘आफूले कमाएको तपाईलाई दिन्छे कि नाई भनेर समेत सोध्न थाले छन्।’ सपनाको बुझाईमा एकल हुनु भनेको महिलाको जीवन समाप्त भएको होइन।

तर, समाजले एकल महिलालाई विचरा ठान्छ। ‘कतिपय सुझाव दिने व्यक्तिले भन्ने गरेका छन्– चौधरी समुदायमा श्रीमान बनाएर राख्ने चलन पनि छ, तिमी किन एक्लै बस्छौ ? श्रीमान खोजेर बस,’ उनले भनिन्, ‘विवाह, श्रीमानको साथ, सन्तान यी सबै कुरा पाएपछि जीवन भोगाईको ठूलो अध्याय समाप्त भइसकेको थियो। त्यसकारण अर्को विवाह गरेर बस्ने सोचै बनाइन्।’ उनले थपिन्, ‘यसको त श्रीमान छैन, कसरी बसेकी होला ? कस्तो गाह्रो भएको होला, बिचरी ! भनेर कारुणिक कुरा गर्ने, ती सबै कुराभित्र सेक्सुअल धारणा रहेको हुन्थ्यो। यस्ता कुराले मलाई पनि नराम्रो लाग्थ्यो।’

‘एकल महिलाले विवाह नै गर्नु हुँदैन भन्ने होइन । तर, विवाह गर्नैपर्छ भन्ने पनि छैन,’ उनले भनिन्, ‘आफ्नो जीवन कसरी सहज रुपमा व्यतित गर्न सकिन्छ, त्यसमा बढी ध्यान दिनुपर्छ। मैले चाहेको भए विवाह गर्न सक्थे तर, त्यस्तो सोच कहिल्यै आएन्।’ पारिवारिक पृष्ठभूमि र जिम्मेवारीले विवाह गर्ने सोच नआएको सपनाले बताइन्। ‘बुबाले छाडिसकेपछि मेरो आमाले म र मेरो भाईलाई हुर्काएर बस्नुभएको थियो। त्यसैले मैले पनि विवाह गर्ने सोच नराखेर छोरा र सासुससुराको स्याहारमा ध्यान दिए,’ उनले भनिन्, ‘एउटा आमाका लागि सन्तानको खुसी नै सबै थोक हुँदो रहेछ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा काम गर्न थालेपछि दिनहुँ आउने घटना हेर्दा विवाह गरेकोभन्दा नगरेको ठिक जस्तो लागेको सपनाले बताइन्।

भीमदत्त नगरपालिका–१८ भगतपुरका १९ वर्षीय जयकिशनसँग १३ वर्षको बाल्यकालमा उमेरमा सपनाको विवाह भयो। कक्षा ८ मा पढ्दै गर्दा २०६३ माघ २५ गते उनको विवाह भएको थियो। ‘विवाह भनेको के हो ? विवाहपछि श्रीमान–श्रीमती कसरी बस्नुपर्छ भन्ने मैले बुझेकी थिइन,’ उनले भनिन्, ‘श्रीमान धरै मदिरा सेवन गर्नुहुन्थ्यो, त्यसैले वैवाहिक जीवन पनि त्यति राम्रो थिएन।’ बिहेपछि कक्षा ९ को पठाई सुरु गरेकी सपना १४ वर्षको उमेरमा गर्भवती भइन्। १५ वर्ष नपुग्दै छोरो जन्माइन्। त्यसको केही वर्षपछि श्रीमानको निधन भयो । 
यस्तो थियो विगत

कैलालीको हसुलियाकी चौधरी समुदायकी प्रहरी जवान अर्थात् सपनाकी आमाले दार्चुलाको खलंगाका ऐरी थरका प्रहरी हवल्दारसँग विवाह गरिन्। तर, अन्तरजातीय विवाह गरेको भन्दै विरोध भएपछि दुबै जना गाउँ छाडेर कैलाली पुगे। 

त्यहीँ दम्पत्तिबाट कैलालीको चौमालामै सपनाको जन्म भयो। आमाबाबुको माया–प्रेम नपाएकी सपनाको बाल्यकाल हसुलियास्थित मामाको घरमा बित्यो। कक्षा ३ सम्म दार्चुला गएर पढेकी सपनाले कक्षा ८ सम्मको पढाई मामा घरबाटै गरिन्।
स्कूले जीवन सम्झँदै सपनाले भनिन्, ‘खोला तरेर स्कूल जानुपथ्र्यो, मलाई पौडी खेल्न आउँदैनथ्यो। वर्षात्को समयमा साथीहरुले मेरा किताब र स्कूल ड्रेस खोला पारी पु¥याइ दिन्थे, अनि म स्कूल जान्थे।’ सानै उमेरमा विवाह गरी छोरा जन्मिएपछि सपना छोराकै लालनपालनमा बढी व्यस्त भइन्।

प्रहरी बन्ने सपना
आमा प्रहरी भएकाले प्रहरी बन्ने सपनाको इच्छा थियो। त्यसैबेला नेपाल प्रहरीमा जागिर खुल्यो र प्रहरीमा आवेदन दिइन्।

‘दिपायल गएर लिखित परीक्षाभन्दा पहिले भएको परिचयात्मक कार्यक्रममा सबै जना उच्च माध्यमिक तह पास गरेका देखे। त्यो देखेर मेरो नाम निस्किँदैन भन्ने सोचे,’ उनले भनिन्, ‘खासै मेहनत नगरी दिएको प्रहरी जवानको परीक्षामा ७ सय जनामा ७ औँ नम्बरमा नाम निस्कियो।’ २०६७ सालमा सुदूरपश्चिम क्षेत्रीय तालिम केन्द्रमा तालिम लिएकामध्ये ७० औँ समूहको अलराउण्डर प्रथम भएकी सपनाले भनिन्, ‘अहिले पनि मेरो नाम क्षेत्रीय तालिम केन्द्रको बोर्डमा राखिएको छ।’ 

सपना २०६८ सालदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा कार्यरत छन्। महिला सेलमा आउने घरेलु हिंसा पीडित महिलाका पीडा आफ्नै जस्ता लाग्छन्। ‘म अहिले जुन पेशामा छु, त्यसमा सन्तुष्ट छुँ,’ उनले भनिन्, ‘प्रहरी संगठनले मलाई दिएको जिम्मेवारी र मैले गरिरहेको कामप्रति म खुुसी छुँ।’ उनले थपिन्, ‘जीवनमा सबै कुरा सोचेकै हुन्छन् भन्ने छैन। एकल महिला भएपनि मैले संघर्ष गरेर आफ्नो घर परिवार राम्ररी पाल्न सकेकी छु।

छोरालाई प्रहरी अधिकृत बनाउँछु। आफू प्रहरी संगठनको ड्यूटी कुशलतापूर्वक निर्वाह गरेपछि समाज सेवामा लाग्छु।’ एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्न र एकल महिलाले पनि उत्कृष्ट काम गर्न सक्छन् भन्ने उदाहरण बन्नु सपनाको ‘सपना’ छ।


 


 

More form the Internet

loading...