Suvadin, Home

चिसो बढ्दा सरकारी विद्यालय ३० दिनका लागि बन्द

पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन्। पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन्।
प्रधानाध्यापकले विद्यालय बन्द गर्नुपूर्व विद्यार्थीलाई हिउँदे बिदाको बारेमा जानकारी गराउँदै। विद्यालय बन्द गरेपछि विद्यार्थी चिसोमा घरमा बस्न पाइने भनेर खुसी भएका छन्। तस्बिर : धनबहादुर भण्डारी/रासस

डडेल्धुरा, पुस १९


पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन्। पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन्।

अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानअध्यापक चन्द्रराज जोशीले बताए। अत्यधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने/पढाउने वातावरणसमेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानअध्यापक जोशीको भनाइ छ।

चिसोले गर्दा जिल्लाका पहाडी भेगका सम्पूर्ण सरकारी विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो। विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थिति अनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया, निमोनियाजस्ता समास्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको हो।

चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानअध्यापक पदमबहादुर ऐरले बताए। जाडोमा विद्यार्थीलाई चौरमा लगेर पढाउनु पर्ने तर उनीहरुको ध्यान पढाइमा भन्दा अन्य कुरामा केन्द्रित हुन थालेपछि बिदा गर्नु परेको उहाँको भनाइ छ।

अहिले डडेल्धुरास्थित पहाडी भेगका प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा हिउँदे बिदा दिएपनि माथिल्लो कक्षाका लागि उनीहरुको पढाइस्तर हेरी दिउँसोको समयमा पढ्ने वातावरण मिलाइएको बाल कल्याण माविका शिक्षक अङ्गतसिंह धामीले बताए। रासस

 


 

More form the Internet

loading...