दुर्घटनामा पाँच विद्यार्थी घाइते

दमक, १४ साउन – झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन्।
इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो।
यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया सुनाम, नौ वर्र्षीय आशिष सुनाम, दमक–६ का सात वर्षीय शिशिर धमला, दमक–८ का १० वर्षीय युजन सापकोटा र दमक–९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले बताए। घाइते सबै स्कुल बसमा सवार थिए।
घाइतेमध्ये शिशिर र कृष्णको विराटनगरस्थित न्यूरो अस्पताल र अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ। दुर्घटनामा सलग्न दुबै सवारी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।