Suvadin, Home

ट्रम्पको सुरक्षाका लागि भारतमा १२ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १०८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका छन् । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस र हजारौं प्रहरी जवानले सुरक्षा प्रदान गर्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । 

"फेब्रुअरी २४ मा हुने ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न ३३ डेपुटी कमिसनर, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस, ३०० पुलिस इन्सपेक्टर, एक हजार सब-इन्सपेक्टर,  १२ हजार जवान र दुई हजार महिला प्रहरी खटाइने छन्,"  अहेमदावाद पुलिस कमिसनर आशिष भाटियाले भने । 

त्यसैगरी तीन कम्पनी 'र्‍यापिड एक्सन फोर्स' (आरएएफ) र सात कम्पनी 'क्‍विक रेस्पोन्स टिम' (क्यूआरटी) समेत परिचालन गरिने भाटियाले बताएका छन् । त्यसैगरी १५ वटा बम निस्क्रिय युनिट र कुकुरसमेत परिचालन गरिने छन् । उनले थपे, "थप सुरक्षाका लागि विशेष सुरक्षा समूह (एसपीजी), एयर फोर्स र अमेरिकी गुप्तचर सेवाका अधिकारीहरु पनि परिचालन हुनेछन् ।" 

गएराति खटिएको टोलीले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणा लिएको र उनीहरुको नाम गोप्य राखिएको भाटिएले बताएका छन् । 

ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार अहेमदावाद ल्यान्ड गर्नेछन् । त्यसैगरी उनले आग्रा र नयाँ दिल्लीसमेत भ्रमण गर्ने कार्यतालिका रहेको छ । - एएनआई


 

More form the Internet

loading...