Suvadin, Home

Cover Image

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’  

वरियता क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाललाई देउवाले पाखा लगाएर तेस्रो नम्बरका चन्दलाई बनाउन खोजेका छन्। गृहमन्त्री निधिले ‘चेन अफ कमाण्ड’ बिग्रिने भन्दै सिलवालको पक्ष लिएपछि देउवाले ‘बरू मन्त्री बदल्ने तर निर्णय नबदल्ने’ चेतावनी दिएको स्रोतले बतायो।
चन्द र देउवा।

शुभदिन डेस्क


काठमाडौं, माघ २६– नेपाली प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बढाउँदै संगठनलाई नै कमजोर पार्ने खेल सुरू भएको छ। प्रहरी संगठन सञ्चालनको न्यूनतम् पद्धति र ‘चेन अफ कमाण्डमै’ असर पर्ने गरी सत्तासाझेदार नेपाली कांग्रेसले राजनीतिक हस्तक्षेप बढाएको हो। 

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप गर्न आफ्नै समकक्षी नेता विमलेन्द्र निधिसँग ‘सम्बन्धविच्छेद’ गर्ने चेतावनी दिएपछि विवाद सतहमै आएको हो।

गृहमन्त्री निधि र देउवाबीच भावी प्रहरी महानिरीक्षक नियुक्तिमा मतभेदसँगै तनावपूर्ण सम्बन्ध विकसित भएको छ। 

सभापति देउवाले आफूले भनेको व्यक्ति आईजीपी नबनाए गृहमन्त्री फेर्ने धम्की पनि दिएको स्रोतले बतायो। प्रहरी नेतृत्वमा वरिष्ठता मिचेर देउवाले जयबहादुर चन्दलाई आईजीपी बनाउन चाहेका छन्। त्यसमा असहमति राखेपछि निधिलाई हटाइदिने चेतावनी देउवाले दिएका हुन्।  

देउवाको चेतावनीकै कारण गएको मन्त्रीपरिषद बैठकमा गृहमन्त्री निधिले आईजीपी नियुक्तिको प्रस्ताव अघि बढाउन नसकेको स्रोतले बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई देउवाले निधिको प्रस्ताव अघि नबढाउन आग्रह गरेका थिए। 

सत्ता साझेदार दुई दलमध्ये कांग्रेसले नेपाल प्रहरी संगठनको नेतृत्व र माओवादीले सशस्त्र प्रहरीको नेतृत्वमा ‘भद्र सहमति’ भएको स्मरण देउवाले दाहाललाई गराएका थिए। देउवाले भनेजसरी नियुक्ति गर्दा प्रहरी संगठनमा नकारात्मक असर पर्ने बुझेर निधिले मन्त्रिपरिषद बैठकमा आईजीपी नियुक्ति प्रस्ताव नलगेको उनीनिकट स्रोतले बताएको छ।  

एमाले नेता वामदेव गौतमकै शैलीमा प्रहरी संगठनमा देउवाले राजनीतिक हस्तक्षेप बढाएपछि भावी आईजीपी नियुक्ति निकै तनावपूर्ण बन्ने संकेत देखिएको छ।   

देउवा र निधिको सम्बन्ध पार्टीभित्र र बाहिर पनि ‘सुमधुर’ मानिँदै आएको छ। लामो समयदेखि सभापति देउवालाई ‘साथ र काँध’ दिँदै आएका निधि केही दिनयता भने देउवाबाट टाढिँदै गएका छन् । 

देउवा र निधि सम्बन्ध हिजोआज तनावपूर्ण बन्दै गएको स्रोतले जनायो। आईजीपी दौडमा रहेका जना प्रतिस्पर्धीमध्ये वरियता क्रममा पहिलो नम्बरमा रहेका डिआर्इजी नवराज सिलवाललाई देउवाले पाखा लगाएर तेस्रो नम्बरका चन्दलाई बनाउन खोजेका छन्। गृहमन्त्री निधिले ‘चेन अफ कमाण्ड’ बिग्रिने भन्दै सिलवालको पक्ष लिएपछि देउवाले ‘बरू मन्त्री बदल्ने तर निर्णय नबदल्ने’ चेतावनी दिएको स्रोतले बतायो।

प्रहरी ऐन नियमावली अनुसार साधारणतया कार्यक्षमता, दक्षताका हिसाबले सबैभन्दा उत्कृष्ट व्यक्तिमध्येबाट महानिरीक्षक नियुक्ति गर्नुपर्ने हुन्छ। त्यसहिसाबले वरियतामा पहिलो नम्बरमा रहेको हुँदा सिलवाल स्वाभाविक दाबेदार हुन्।  

वरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका डिअार्इजी सिलवाल र दोस्रो नम्बरमा रहेका अर्याल।


दोस्रो नम्बर प्रकाश अर्याल छन्। कार्यक्षमता र दक्षतामा उनी पनि बलिया उम्मेदवार हुन्। तर, देउवाले वरियताक्रम भंग गर्दै तेस्रो नम्बरमा रहेका ‘विवादित छवि’का डिआइजी चन्दलाई आईजीपी बनाउन खोजेका हुन्। 

अब्बल कार्यक्षमताका अधिकारी हुँदाहुँदै यसरी वरियता मिच्दा प्रहरी संगठनको संगठनात्मक ढाँचा नै प्रभावित बन्ने र ‘चेन अफ कमाण्ड’ भत्किने डर हुने भन्दै अधिकारीहरू देउवाको कदमबाट झस्किएका छन्। 

‘सामान्य सिद्धान्तको हिसाबले वरिष्ठताको रोलक्रम मिचेर नियुक्ति गर्दा चेन अफ कमाण्डमा असर पर्ने हुन्छ, तर प्रहरीमा विगतदेखि नै राजनीतिक हस्तक्षेप हुने गरेको छ,’ एक पूर्व प्रहरी महानिरीक्षकले शुभदिनसँग भने, ‘शेरबहादुर देउवा र वामदेव गौतम पहिलेदेखि नै त्यस्तै प्रकृतिका मान्छे हुन्, उनीहरू राज्यका निकायहरू भताभुंग पार्ने सन्दर्भमा निर्लज्ज हस्तक्षेप गर्छन्।’  

डिआर्इजी चन्दले आईजीपीको दौडमा ‘क्षेत्रीय नाता’ जोड्दै कांग्रेस सभापति देउवालाई ‘मनाए’ पछि नियुक्तिमा चलखेल उत्कर्षमा पुगेको हो। ‘गृहमन्त्री निधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि वरिष्ठता मिच्नु हुँदैन। बरियतालाई आधार मानेर सिलवाललाई नै प्रमुख बनाउनुपर्ने पक्षमा उभिएका छन्,’ उच्च स्रोतले भन्यो, ‘तर, देउवाले चन्दकै पक्षमा अडान लिइरहेका छन्। यसले गर्दा विवाद सडकमै छताछुल्ल भइसक्यो।’

डिआर्इजी चन्द र सभापति देउवा दुबै सुदूरपश्चिमका हुन्। चन्दले क्षेत्रका सबै नेताहरूलाई आफ्नो पक्षमा लबिङ गर्न देउवाकोमा पठाएको घटनाले यसअघि नै उनी विवादित बनेका थिए। ‘पछिल्ला दिनमा देउवामा पनि क्षेत्रीयतावादी स्वभाव हाबी हुँदै गएको छ,’ उनी निकट स्रोतले भन्यो, ‘अखण्ड सुदूरपश्चिमको आन्दोलनबाट सुरू भएको त्यो सोचले उनलाई प्रभावित बनाएको हुनुपर्छ।’ 

सुदूरपश्चिमबाट तराईका कैलाली र कञ्चनपुर जिल्ला अलग गरेर थरुहटमा राख्ने विषयमा पनि देउवा, एमालेका भीम रावल र माओवादी केन्द्रका लेखराज भट्ट लगायतका त्यो क्षेत्रका शक्तिशाली नेताहरू एकमत रहँदै आएका छन्। आईजीपी प्रकरणमा पनि देउवाको यही क्षेत्रीयतावादी सोच हावी भएको स्रोतले बतायो।

गृहमन्त्री निधिलाई देउवाले ‘नसक्ने हो भने ठाउँ खालि गरे हुन्छ’ भन्ने आशयको जवाफ दिएपछि अहिले नियुक्ति विवादले फरक मोड लिन थालेको बताइन्छ। संगठनको ‘चेन अफ कमाण्ड’ नै खल्बलिने भएकाले त्यसो नगर्न देउवालाई सुझाइए पनि ‘एकसुरे’ स्वभावका देउवाले नमानेको स्रोतले बतायो।

सिलवाललाई आईजीपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि अघिल्लो साता देउवा निवास पुगेका थिए। स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई नियुक्त नगर्न निधिलाई चेतावनी दिएका थिए। निधि सिलवालकै पक्षमा छन्। यसअघि पनि सार्वजनिक रुपमै उनले वरियता मिचेर काम नगर्ने आशयको विचार व्यक्त गर्दै आएका थिए। 

वरिष्ठताका आधारमै हाल प्रहरी नेतृत्वमा उपेन्द्रकान्त अर्याल रहे पनि संगठन सञ्चालनमा वरिष्ठ प्रहरी अधिकारीबीच तनावपूर्ण सम्बन्ध स्थापित भइसकेको छ। अर्यालको कार्यशैलीमा असन्तुष्टि राख्दै वरिष्ठ एआईजीहरू टाढिँदै संगठनमा नकारात्मक असर परेको विश्लेषण प्रहरीमा छ। 

समकक्षी एआईजी राजेन्द्रसिंह भण्डारी र अर्यालबीच बोलचाल नरहेको स्थिति छ। एआइजी भण्डारीलाई पाखा लगाउन अर्यालले राजनीतिक तथा शक्तिकेन्द्रको साथ लिएको आरोप लाग्दै आएको छ। वरिष्ठ एआईजीहरू सुरेन्द्रबहादुर शाह र विज्ञानराज शर्मासँग पनि अर्यालको कटुतापूर्ण सम्बन्ध रहेको बुझिएको छ। 

‘संगठन सञ्चालन सन्दर्भमा हाम्रो भूमिका एउटा डिएसपीको जति पनि छैन, यस्तो भएपछि संगठन कसरी चल्छ?,’ एक वरिष्ठ एआईजीले भने।  

अर्याल नियुक्ति हुने बेला चुनावी मन्त्रिपरिषद रहेका कारण विवादमुक्त तरिकाले आईजीपी नियुक्ति भएको थियो। अर्यालले संगठनमा मनोमानी गर्न थालेको भन्दै पछि समकक्षीहरूसँग तनावपूर्ण सम्बन्ध रहन गएको थियो। 

प्रहरी संगठनमा त्यसअघिको नेतृत्व ल्याउने बेलामा पनि विवाद उत्पन्न भएको थियो। तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले वरियता क्रम भंग गर्दै तेस्रो नम्बरमा रहेका एआईजी

भीष्म प्रसाईंको नाम प्रस्ताव गरेका थिए। ‘चेन अफ कमाण्ड’ बिग्रिने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले हस्तक्षेपकारी भूमिका खेल्दै पहिलो नम्बरमा रहेका एआईजी कुबेरसिंह रानालाई आईजीपी नियुक्त गरेका थिए। 
 


 

More form the Internet

loading...