Suvadin, Home

एक संगीतकर्मी प्रेरक संघर्ष
सांगीतिक प्रतियोगितामा भाग लिन परीक्षा छोडेका कर्मा शेर्पा

‘१४–१५ वर्षको थिएँ, कक्षा १० को परीक्षा चलिरहेको थियो,’ उनले भने, ‘एउटा सांगीतिक प्रतियोगितामा जाने अवसर आयो, इतिहास विषयको परीक्षामा सहभागी नभई प्रतियोगितामा गएँ।’ परीक्षा नदिएको थाहा पाएपछि कर्माकी आमाले घरमा प्रवेश गर्नै दिइनन्। ‘दुई दिनसम्म साथीको घरमा बस्नु परेको थियो,’ उनले हाँस्दै भने। 
गायक कर्मा शेर्पा।

काठमाडौं, असोज ६ – दार्जीलिङ कला र संस्कृतिको अनुपम संगम हो। पारिजात, गोपाल योञ्जनदेखि पछिल्लो पुस्ताका प्रशान्त तामाङ र विपुल क्षेत्रीहरुसम्म आइपुग्दा दार्जीलिङले सयौं कलाकार जन्माएको छ।

दार्जीलिङ कलाको खानी हो। नेपाली कलासाहित्य र भारतीय सिनेजगत पनि दार्जीलिङबिना अपूर्ण हुन्छ। यसका लागि दार्जीलिङ पहाडका सुरम्य आँचलमा फक्रिएका कयौं सुनौला कलाकार रुपी लालिगुराँसको अतुलनीय देन छ।

पछिल्लो समय चर्चामा रहेका कर्मा शेर्पा पनि यस्तै एक सशक्त कलाकार हुन्, जसले दार्जीलिङमा गरेको साधनाबाट विश्वभरिका नेपालीका लागि सुमधुर संगीत पस्किरहेका छन्।

‘कला र संगीतको क्षेत्र असाध्यै ठूलो छ,’ कर्माले शुभदिनसँग भने, ‘त्यही फराकिलो संगीत क्षेत्रमा केही सिक्ने र केही दिने अभिप्रायले निरन्तर साधना र सिर्जनामा लागि रहेको छु।’

सिर्जनाको थलो दार्जीलिङको सांगीतिक माहोलले कर्माको बाल्यावस्थामै प्रभाव पारेको थियो।

बाल्यावस्था र परिवार

सन् १९८४ मा बुवा पेम्बा शेर्पा र आमा छिरिङ शेर्पाका सुपुत्रका रुपमा दार्जीलिङको पछ्याङमा कर्मा शेर्पाको जन्म भएको हो। जुन दार्जीलिङ पहाडको दुर्गम क्षेत्र मानिन्छ।

कर्माको बाल्यावस्था संघर्षमै बित्यो। घरको आर्थिक अवस्था कमजोर रहेकाले आमा चिया बगान र बुवा चियाको कारखानामा काम गरेर दैनिक चलाउँथे। तर, सिर्जनाको थलो दार्जीलिङको सांगीतिक माहोलले कर्माको बाल्यावस्थामै प्रभाव पारेको थियो।

गितारमा उनको रुची थियो। घर ल्याउने, बजाउने र गीत गाउने गरेको आमाले अहिले पनि स्मरण गराउने कर्मा बताउँछन्। कर्मा ८ वर्षका थिए, त्यति बेलादेखि नै तिहार र अन्य चाडपर्वमा गितार बजाउने गीत गाउने गर्थें। देउसीभैलोमा गितार बजाएर गाउने गरेका कर्मालाई संगीतले अझ आकर्षित गर्दै गयो।

घरको काम र पारिवारिक स्थिति सुधार्नमा लागेपछि उनले पढाइलाई थाँती राखेका हुन्। तर, विभिन्न विषयका पुस्तकको अध्ययन चाहिँ उनी अहिले पनि गरिरहेका छन्। 

स्कूले जीवन

कर्माले बाल्यावस्थादेखि नै खुब मेहनत गरे। घरको आर्थिक स्थितिले खेलेर र पढेर बिताउने बाल्यावस्थामा उनी चाहिँ संघर्षपूर्ण दैनिकीमा रहन्थे। उनी स्कूल जानुभन्दा पहिले गाइभैसीलाई घाँस काट्नु पर्थ्याे।

काम गरेर मात्रै स्कूल जानुपर्ने कर्माको बाध्यता थियो। पढ्ने इच्छा हुँदाहुँदै पनि कर्माले स्थानीय सोनादा हाईस्कूलमा कक्षा १० सम्मको पढाई मात्रै पूरा गर्न पाए। उनी परिवारका एक्लो छोरा हुन्।

त्यसैले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो। घरको काम र पारिवारिक स्थिति सुधार्नमा लागेपछि उनले पढाइलाई थाती राखेका हुन्। तर, विभिन्न विषयका पुस्तकको अध्ययन चाहिँ उनी अहिले पनि गरिरहेका छन्। 

'बेङ्लोर जाने क्रममा उभिएरै तीन दिन तीन रात यात्रा गरेको थिएँ, संघर्षका दिनहरु त्यसैगरी शुरु भए।’

१६ वर्षमा श्रम गर्न बेङ्लोर

संगीतको मोह र पढाईको रहर थाँती राखेर १६ वर्षको उमेरमा कर्मा शेर्पा भारतको दक्षिणी शहर बेङ्लोर पुगे। सन् १९९८ मा रमाइलो मेला आयोजना गर्ने संस्थामा आबद्ध भएर काम गर्न थाले।

चार वर्षसम्म उनले त्यसैमा काम गरे। दौलत राई र चन्द्रप्रकाश क्षेत्रीका साथमा काम गरेको उनी बताउँछन्। ‘बेङ्लोर जाने क्रममा उभिएरै तीन दिन तीन रात यात्रा गरेको थिएँ,’ उनले पूराना दिन सम्झिए, ‘संघर्षका दिनहरु त्यसैगरी शुरु भए।’

बेङ्लोरमा ४ वर्षको एक्स्पो मेलाको कामपछि कर्माले २ वर्ष होटलमा काम गरेका थिए। त्यसपछि एमडिए नेटवर्कमा डेढ वर्ष काम गरेको उनले जनाएका छन्।

दार्जीलिङबाट काठमाडौं

सन् २००३ मा भारतबाट नेपाल आएका कर्माको जीवनमा संघर्षका कथाको फेहरिस्ता लामो छ। बेङ्लोरबाट काठमाडौं आउनुअघि उनले दार्जीलिङमै आयोजित गायन प्रतियोगिता आयोजनामा भाग लिने मौका पाए।

उक्त प्रतियोगितामा कर्मा टप–३ मा पर्न सफल भए। आयोजकले स्टेजबाट छनोट भएका विजेताहरुको नाम घोषणा गरेन। बरु सिलगढीबाट प्रकाशित हिमालय दर्पण दैनिकमा विजेताहरुको नाम प्रकाशित भयो।

‘तर, उत्कष्ट तीनमा परेका भएपनि मेरो नाम हटाइएको रहेछ,’ उनले भने, ‘धेरै नराम्रो लाग्यो, म रुदै घर फर्किएँ।’ कर्मामाथि प्रतियोगिता आयोजक संस्थाले जालझेल गरेपनि उनी निरन्तर संगीत साधनामा लागिरहे।

‘विजेताको प्रमाणपत्र लिएर गीत रेकर्ड गर्न जाँदा कसैले मौका दिएन’, उनले भने।

सन् २००६ मा फेरि स्वर श्री प्रतियोगिता भयो। कर्माले उक्त प्रतियोगिताका लागि कडा अभ्यास गरे। र, उनी प्रतियोगितामा विजेता बन्न सफल भए। विजेता भएपछि संगीतप्रतिको मोह र आत्मविश्वास बढेको उनी बताउँछन्।

तर, उनको कला यात्रामा अवरोधहरु अझै आउन छाडेका थिएनन्। ‘विजेताको प्रमाणपत्र लिएर गीत रेकर्ड गर्न जाँदा कसैले मौका दिएन’, उनले भने। त्यसको एक वर्षपछि कर्माले होटलमा काम गर्ने मौका पाए। उनले त्यहाँ सांगीतिक प्रतियोगिताको विजेता प्रमाणपत्र देखाउँदा होटलभित्र गीत गाउने अवसर पाए।

६–७ महिना त्यहाँ काम गरेपछि फेरि अर्को संगीत प्रतियोगितामा भाग लिने मौका जुर्यो। कलकतामा ‘जी बंगला सारेगमप’ सांगीतिक प्रतियोगिता हुने भयो। त्यहाँ सहभागी भए। र, कर्माले कर्णदासको स्वरमा रहेको गाए।

बंगाली प्रतियोगीहरुमाझ कर्मा मात्रै नेपालीभाषी प्रतियोगी थिए। तर, त्यहाँ बंगाली गीत र हिन्दीमा गाउनु पर्ने थियो। उनले जोखिम मोले। र, नेपाली गीत गाए। उक्त प्रतियोगितामा ‘त्यो प्रेमको बलिदान’ गीत गाएको उनले जनाए।

जसले उनी टप–८ मा पर्न सफल भए। ‘सांगीतिक प्रतियोगिता टेलिभिजनमा हेर्ने दर्शकले मेरो अनुहार चिनेको बताउँथे,’ उनी भन्छन्, ‘यसले गर्दा जीवनमा केही न केही गर्नुपर्छ भन्ने भाव पैदा हुन्थ्यो।’

प्रतियोगितामा टप–८ मा पुगेर गाउँ फर्किंदा गाउँलेहरु लामबद्ध भएर कर्मालाई स्वागत गरेका थिए। ‘मलाई एकदमै खुसी लाग्यो, र, जिम्मेवारी बढेको महशुश पनि भयो,’ उनले भने। 

कर्माको काठमाडौं आउने–जाने क्रम चलिरह्यो। उनले संगीत साधनालाई निरन्तर अघि बढाए। सन् २०१० मा भारतमै अर्को सांगीतिक प्रतियोगितामा भाग लिएका कर्मा टप–१२ मा पर्न सफल भए। उनी भन्छन्, ‘जित्ने कुरा ठूलो होइन्, ज्ञान लिनु ठूलो कुरा रहेछ।’ 

‘१४–१५ वर्षको थिएँ, कक्षा १० को परीक्षा चलिरहेको थियो, एउटा सांगीतिक प्रतियोगितामा जाने अवसर आयो, इतिहास विषयको परीक्षामा सहभागी नभई प्रतियोगितामा गएँ।’

संगीतकै कारण परीक्षामा सहभागी भएनन्

कर्मा शेर्पा संगीतमै रमाउँथे। उनले आफ्नो पढाईका क्रममा परीक्षा पनि संगीतकै कारण छोड्नु परेको बताएका छन्।

‘१४–१५ वर्षको थिएँ, कक्षा १० को परीक्षा चलिरहेको थियो,’ उनले भने, ‘एउटा सांगीतिक प्रतियोगितामा जाने अवसर आयो, इतिहास विषयको परीक्षामा सहभागी नभई प्रतियोगितामा गएँ।’ परीक्षा नदिएको थाहा पाएपछि कर्माकी आमाले घरमा प्रवेश गर्नै दिइनन्। ‘दुई दिनसम्म साथीको घरमा बस्नु परेको थियो,’ उनले हाँस्दै भने। 
 
विदेशको यात्रा

कर्मा नेपाल र भारतका विभिन्न स्थानमा पुगेका छन्। उनी अमेरिका, इजराइल, भूटान लगायतका ८ देशमा सांगीतिक कार्यक्रमकै लागि गएका छन्। अमेरिकामा २२ वटा स्टेज कन्सर्ट गरेको उनी बताउँछन्। 

कर्माको सांगीतिक कोशेली

कर्मा शेर्पा सन् २०१२ मा गीत रेकर्डिङकै लागि काठमाडौं आएका थिए। काठमाडौं आएपछि ‘कान्छीमा मट्याङ मट्याङ’ बोलको गीत ल्याए। सन् २०१४ मा फेरि अर्को गीत ‘तिम्रो अधरमा’ गीत बजारमा ल्याउन सफल भए। अहिले अरु दुई वटा गीत ल्याउने तयारीमा जुटेका छन्। 

संगीत स्कूलका सञ्चालक

कर्माले संगीत विद्यालय पनि खोलेका छन्। ‘कर्मा म्यूजिक एकाडेमी’ दार्जीलिङको सिलगढीमा रहेको चर्चित सांगीतिक विद्यालय हो। स्कूल सञ्चालन गरेको अहिले ४ वर्ष पुगेको छ।

जुन विद्यालयमा २ सय ६० जना विद्यार्थी रहेका छन्। विद्यालयमा हार्मेनियम, क्लासिकल, भोकल, गितार, नृत्य लगायतका विधामा संगीत सिकाइने उनले बताएका छन्। संगीत कर्ममा लागेका कर्माको दैनिकी यसरी चलिरहेको छ।

 


 

More form the Internet

loading...