Suvadin, Home

हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन्। खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछि त्यहाँका महिला समूहले पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड बनाएका हुन्। 
खुम्जुङ भ्यालीकाे दृश्य।

सोलुखुम्बु, फागुन २७ - खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन्। खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछि त्यहाँका महिला समूहले पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड बनाएका हुन्। 

'खुम्बुमा थुप्रै पर्यटक आउँछन् तर हाम्रो गाउँमा कुनै कुनै बेला मात्र पर्यटक आउने भएकाले पर्यटक भित्र्याउन हामी महिलाले हेलिप्याड बनाएका हौँ' – समूहका अध्यक्ष याङ्जी शेर्पाले जानकारी दिइन्। 

उनीहरुको समूहलाई सरकारी वा विदेशी निकाय कसैले पनि आजसम्म सहयोग गरेको छैन। महिलाले नै ल्होसारका बेलामा सहयोग र श्रमदानबाट सङ्कलन गरिएको रकमबाट हेलिप्याड तथा भ्यू प्वाइन्ट बनाएको अध्यक्ष शेर्पाले बताइन्। 

आलु र फापर मात्र उत्पादन हुने खुन्दे गाउँमा केही होटल सञ्चालन गरिएको भए पनि त्यसबाट कमै आम्दानी हुने भएकाले आफूहरु कृषि र पशुपालनमा बढी लाग्ने गरेको त्यहाँका महिला बताउँछन्। पुरुषले भने ट्रेकिङ गएर आम्दानी गर्ने गरेका छन्। गाउँमा धेरै समय महिला नै बस्ने भएकाले गाउँका समस्या महिलाले नै समाधान गर्ने गरेको समूहका सदस्य दा–डोमा शेर्पाले बताइन। 

उनकाे अनुसार गाउँमा समस्या आएमा महिला समूहमा छलफल गरिन्छ। उनीहरुले निर्माण गरेको हेलिप्याड त्यही गाउँमा रहेको खुन्दे अस्पतालमा अशक्त बिरामीलाई हेलिकप्टरबाट ल्याउन निकै उपयोगी बनेको छ। हिमाल आरोहण तथा उच्च क्षेत्रमा भ्रमणका बेला लेक लागेर वा दुर्घटनाबाट सिकिस्त भएका बिरामीलाई तत्काल उपचारका लागि सो अस्पतालमा ल्याउने गरिन्छ। 

बाहिरबाट हेर्दा खुम्बु क्षेत्रमा विदेशीले पैसा दिएर काम गर्ने गरेको बुझिए पनि खुम्जुङको खुन्दे गाउँका महिलाले एकजुट भएर रकम सङ्कलन र श्रमदानसमेत गर्ने गरेको समूहका अध्यक्ष याङ्जी शेर्पाले बताइन्। रासस 


 

More form the Internet

loading...