के गर्दैछन् रमेश खरेल?
डार्फरमा एसएसपी रमेश खरेलको नाै महिना
खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, फागुन २४ - ‘केही डिआइजी ब्रिफकेश बोकेर प्रमोसनका लागि हिँडिरहेका छन्, मन्त्रीज्यू, तपाईंकहाँ पनि आएका होलान्, भ्रष्टहरूलाई प्रमोसन नदिनुस्,’ नेपाल पुलिस क्लबमा एसएसपी रमेश खरेलले दुई वर्षअघि प्रहरीको बढुवामा भइरहेको चलखेलबारे मञ्चबाट मन्त्रीलाई खबरदारी गरेका थिए।
हलमा तालि बज्यो। ‘ब्रिफकेश’ बोकेर हिँड्नेहरूदेखि सिंगै प्रहरी संगठनमा तरंग सञ्चार भयो। त्यतिबेला ‘ब्रिफकेश’ बोकेर बढुवाका लागि धाइरहेका केही प्रहरीको सातो खरेलको एकै बोलीले खाइदिएको थियो।
काठमाडौं प्रहरी प्रमुखको दोस्रो ‘इनिङ’को तीन दिनभित्रै आइजिपीको मथिंगलमा ‘टेन्सन’ भइसकेका खरेलविरूद्ध प्रहरी संगठनै खनिन खोज्यो। उसै पनि उनको काठमाडौं परिसरको दोस्रो कार्यकालले राजधानीमा अपराध गर्ने, तस्कर, गुन्डा र गैरकानुनी अर्थोपार्जन गर्नेहरूलाई प्रतिकूल थियो।
अन्ततः उनी काठमाडौं प्रहरी प्रमुखबाट हटाइए। तत्कालीन गृहमन्त्री वामदेव गौतमले त खरेललाई धारेहात लगाएरै भनेका थिए, ‘रमेश खरेल मलाई भेट्न आउँदैन।’
खरेल हटाइएकोमा सर्वसाधारणले बिरोध गरे। उनी हटे पनि खरेलको आँट, निष्ठा, व्यावसायिकता, इमानदारिता जनताको नजरमा झन् मौलायो। प्रहरी संगठनभित्र औंलामा गनिने व्यावसायिक छविका प्रहरीहरू पनि ‘जिरो टलरेन्स पुलिसिङ’ र अपराध नियन्त्रणमा खरेलसँग प्रतिस्पर्धा गर्न सक्दैनन्।
‘ब्रिफकेश’ प्रकरणबाट उनी एकाएक कतै हराएजस्तो भए। तर, हराएको भन्न नमिल्ने खरेलको तर्क छ।
हिजोआज खरेल डार्फरमा लोकप्रिय छन्। व्यावसायिक वृत्ति विकासका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना (युएन मिसन)मा रहेका उनी सुडानमा रहेका पाँच वटा सेक्टरमध्ये डार्फरस्थित सेक्टर हेडक्वाटरको कमाण्डर छन्। डार्फरमा प्रतिनिधित्व गर्ने ३३ राष्ट्रका प्रहरीमध्ये विश्वव्यापी छनोट भई सेक्टर हेडक्वाटरको कमाण्डर हुनु आफैंमा चानचुने कुरा हैन।
किनभने डार्फरमा नेपालका कोही पनि प्रहरी अधिकारीले अहिलेसम्म सेक्टर कमाण्डरको जिम्मेवारी सम्हाल्ने अवसर पाएकै छैनन्। उनी नेपालकै पाँच विकास क्षेत्रमा जाने डिआइजीजस्तै हुन्, डार्फरमा। अन्तर्राष्ट्रिय सुरक्षा अभ्यासको प्रचुर सम्भावना र ज्ञान हासिल गरिरहेका खरेलले दुई वर्षपछि नेपाल प्रहरीको युएन मिसनबारे पुलिस क्लबमै भनेका छन्, ‘नेपाल प्रहरीका केही अधिकारीले घोटाला नगरेको भए शान्ति स्थापनाका लागि विभिन्न मुलुकमा खटिनेमध्ये नेपाल प्रहरी संसारमै उत्कृष्ट हुन्थ्यो।’
उनका अनुसार ‘फर्म पुलिस युनिट’ आज डार्फर र सुडानमा पाँच वटा पुगिसकेका हुन्थे। रमेश खरेल निर्धक्क भन्छन्, ‘केही बेइमानहरूले नेपाल प्रहरीलाई बिगारेका हुन्, प्रहरीको जवानले लगाउने पोशाकदेखि गञ्जीमा घोटाला गरेपछि नेपालको बदनामी भएको छ।’
यी दुबै राज्यमा अहिले दुई वटा मात्रै नेपालको फर्म प्रहरी युनिट छन्। एसपीको कमाण्डमा प्रत्येक युनिटमा १ सय ४० जना छन्। सुडान र डार्फर काण्डले नेपाल प्रहरीको छवि त्यहाँ धुमिल्याइदिएपछि नेपालले अवसर गुमाएको खरेलको बुझाइ छ। ‘सिपाहीको लुगा–जुत्तामा कमिसन खाने तिनीहरूलाई सुडान–डार्फर काण्डको श्राप जिन्दगीभरि लागिरहने छ,’ खरेलले भने।
सुडान मिसन जानु आफैंमा चुनौतीपूर्ण मानिन्छ नेपाल प्रहरीमा। यसरी कमाण्डरै भएर जान चाहिँ अर्को कुनै ‘रमेश खरेल’ नै हुनुपर्छ। ‘युएन मिसनमा प्रतिनिधित्व गर्ने संसारभरबाट छनोट भएर कमाण्डर हुनु आफैंमा ठूलो उपलब्धी हो भन्ने मलाई लाग्छ,’ ९ महिनाअघि डार्फर गएका खरेल भन्छन्, ‘नेपाल प्रहरीको कोही पनि अधिकृत कमाण्डर (पि–४) भएर त्यहाँ गएको मलाई याद छैन।’
खरेल एक वर्षका लागि त्यहाँ गएका हुन्। उनी परिस्थिति अनुकूल भए डार्फर अझ एक वर्ष बस्न पनि सक्छन्। नभए नेपाल फर्किन्छन्। यहीबीचमा डिआइजी बढुवा हुँदैछ। बढुवा सूचीमा पहिलो नम्बरमा रहेका खरेल भावी प्रहरी महानिरीक्षकका उम्मेदवार हुन्।
नेपालमा अहिले प्रहरी महानिरीक्षक नियुक्तिमा अत्यधिक राजनीतिक हस्तक्षेप छ। खरेल डार्फर बसेर हेरिरहेका छन्, बुझिरहेका छन्। उनलाई यसमा बोल्नु पनि छैन। किनभने, खरेलको बोलीलाई ‘इस्यु’ बनाइन्छ। ‘हेर्दै जाउँ राम्रै होला,’ खरेलले यति भने।
युएनले सुडान र डार्फर मिसनका लागि संसारभरबाट आवेदन आह्वान गर्छ। त्यसका लागि योग्य व्यक्तिहरूले ‘पिएचपी फाराम’ भर्छन्। प्रहरी हेडक्वाटरले आवेदनको सूची पठाउँछ। त्यसका लागि कार्यक्षमता, योग्यता, निष्ठा चाहिन्छ। छनोटमा परेका व्यक्तिको प्रोफाइल न्युयोर्क पठाइन्छ। त्यहाँ सबै उम्मेदवारको सूची बनाइन्छ र जो उपयुक्त छानिन्छ टेलिफोनबाटै अन्तर्वार्ता हुन्छ र शान्ति मिसनमा जानका लागि पठाइन्छ।
खरेल कार्यरत ठाउँ जालिञ्जी हो। यो सुडानको डार्फर डिभिजनको पाँच वटा सेक्टरमध्येको एउटा सेक्टरको हेडक्वाटर हो।
नेपालमा गर्ने काम र त्यहाँ गर्ने काम आकाशपातालै फरक छ। पहिलो त द्वन्द्वग्रस्त मुलुक हो। खरेल कमाण्डर रहेको सेक्टरमा फुर समुदायका ७० लाख मानिस बस्छन्। ६० लाख त आन्तरिक रुपमा विस्थापित छन्।
२७ वर्षयता अरबमूलका अल्पसंख्यक राज्यसत्तामा हावी भएपछि स्थानीय फुर समुदाय उपेक्षित हुन पुगेका हुन्। सोही कारणले सुडानमा द्वन्द्वको बिजारोपण भएको हो। १६ हजार शान्ति स्थापक सुरक्षाकर्मी सुडानमा तिनै नागरिकको सुरक्षा र सहयोगमा खटाइएको छ।
खरेलका अनुसार ती जनताको शान्ति सुरक्षा प्रबन्धको जिम्मेवारी निकै चुनौतीपूर्ण छ। ‘डार्फर मिसन एक किसिमले चुनौतीपूर्ण नै हो, यहाँ जो पनि जान सक्दैन, यस्तो अवसर कम नै आउँछ,’ खरेल भन्छन्।
तर, यो मिसन प्रहरीको वृत्ति विकास र आर्थिक उन्नतिको कोशेढुंगा हो। ‘घुस नखाने प्रहरीले कहाँ कमाउने, तलबले खानै धौ–धौ पर्छ,’ खरेल भन्छन्, ‘आर्थिक उन्नतिको हिसाबले डार्फर मेरो जिन्दगीकै सबैभन्दा उत्कृष्ट ठाउँ हो।’
द्वन्द्वग्रस्त क्षेत्रका जनताको सुरक्षा प्रबन्ध अतिरिक्त ‘ल एन्ड अर्डर’ कायम गराउन सक्नु पनि चुनौती छ। एक त लडाइँ भइरहेको ठाउँ हो, त्यसमाथि भ्रष्टाचार र अनियमितताले ग्रस्त छ।
तर, उनलाई गाह्रो पनि छैन। किनभने उनी यसअघि नै तीनपटक मिसन गइसकेका छन् बोस्निया, सेरालियोन र सुडानको डार्फर। ‘इन्ट्रिग्रिटीले परिस्कृत व्यक्ति परेर संसारभरबाट छानिनु नै मेरो सम्पत्ति हो,’ खरेलले भने, ‘चुनौती त हुन्छ, तर मैले त्यहाँको सबै राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिक स्थितिबारे पहिलेकै मिसनमा जानकारी हासिल गरिसकेको थिएँ।’
त्यहाँ खटिने प्रहरीको जीवन नै चुनौतीले भरिएको हुन्छ। तर, एउटा प्रहरीका लागि त्यो सुनौलो गन्तव्य पनि हो। खरेलका अनुसार युएन मिसन गएर फर्किने प्रहरीले अन्तर्राष्ट्रिय सुरक्षाअभ्यासको ज्ञान हासिल गरेको हुन्छ। सुरक्षाका अन्तर्राष्ट्रिय अभ्यासलाई नेपाल फर्केर लागू गर्न सक्छ।
‘आर्थिक उन्नति त हो नै, तर कतिपयले नेपालमा घुस खाएको पैसा पनि मिसनबाट कमाएको भनेर देखाएका छन्, तर म के मान्छु भने सुडान गएर फर्केको प्रहरी घुस खान लजाउनुपर्छ,’ उनले भने, ‘युएन मिसन गएको प्रहरीको छुट्टै पहिचान र इज्जत हुन्छ।’
खरेलका अनुसार डार्फर मिसन जानका लागि प्रहरी आफूले आफैंलाई सक्षम बनाउने हो। अध्ययन बढाउने, अपराध अनुसन्धानमा दख्खल राख्ने, इमानदारिता निर्वाह गर्ने, व्यावसायिक बन्नु व्यक्तिमै निर्भर रहन्छ।
‘राम्रो मान्छे जवानदेखि एसएसपीसम्म जो पनि जान पाउँछ, अन्तर्राष्ट्रिय ज्ञान, सिप र सुरक्षा अभ्यास बुझेर आर्थिक उन्नतिसमेत गरी फर्किन पाउँछ,’ उनी भन्छन्, ‘त्यसैले एकपटक मिसन जान म सबै प्रहरीलाई अनुरोध गर्छु।’
तर, निष्ठावान बन्नैपर्छ। खरेल आफ्नो निष्ठा थोरै पनि तलमाथि हुन दिँदैनन्। उनी कसैमाथि अन्याय भएको हेर्न पनि सक्दैनन्। उनी नेपालमा जहाँ गएका छन्, केही गरेरै देखाएका छन्। सहीलाई सही र खराबलाई खराब भन्न उनी झुक्दैनन्। चित्त नबुझे र अन्याय भए उनी आफूभन्दा माथिको जोसुकै अधिकारीसँग खुलेर तर्क असहमति राख्छन्।
खरेल केही दिनअघि विदामा नेपाल आएका थिए। बिहानपख सधैं पुलिस क्लबमा भेटिन्छन्। तीन दिनपछि सुडान उड्दैछन्।
‘अब छ हप्तापछि भेटौंला,’ खरेलले भने।