Suvadin, Home

Cover Image

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदा क्षेत्रबारे उनीहरुलाई सिकाउने र संरक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उनीहरुलाई त्यस क्षेत्रको अवलोकन गराइएको छ।

काठमाडौं, वैशाख ३ – अन्तर्राष्ट्रिय सम्पदा दिवसका सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा करीब १ सय विद्यार्थीलाई साेमबार भ्रमण गराइएको छ। 

एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदा क्षेत्रबारे उनीहरुलाई सिकाउने र संरक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उनीहरुलाई त्यस क्षेत्रको अवलोकन गराइएको छ। 

कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रबारे अध्ययन गराइएको हो। हनुमानढोका स्वयम्भूनाथसम्मको दूरी २.२ किलोमिटर रहेको त्यस क्षेत्रमा स्थानीय बाजागाजा, ब्यानरसहित उनीहरुलाई घुमाइएको छ। 

विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले मध्यकालदेखिका सम्पदाले भरिएको त्यस क्षेत्रलाई सम्पदामार्गका रूपमा विकास गरेर नयाँ पर्यटकीय गन्तव्यस्थल बनाउन खाँचो रहेको औँल्याएका छन्। 

समितिका सचिव डिल्लीराम तुलाधरले प्राचीन समयमा निर्माण भएका विभिन्न शैलीका नेपाली कलाले तत्कालीन समाजको सभ्यता र सम्पन्नतालाई अनुमान गर्न सकिने बताउँदै अहिलेको पुस्ताले त्यसलाई संरक्षण तथा प्रवर्द्धन गरी आयआर्जन गर्न सकिने बताएका छन्। 

काठमाडौं महानगरपािलका वडा नम्बर १५, १८ र २० का वडाध्यक्ष क्रमशः ईश्वरमान डंगोल, न्हुछे डंगोल र राजेन्द्र महर्जनले आ–आफ्ना क्षेत्रमा रहेका संस्कृति, परम्परा र सम्पदाको मर्मत संरक्षणमा प्रतिबद्ध रहने जनाएका छन्। यही वैशाख ५ गते अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइँदैछ।


 

More form the Internet

loading...