Suvadin, Home

अस्ताइन् सुषमा
सुषमाको 'विन विन' नेपाल सम्बन्ध र प्रेम जीवन : संकटकालमा विवाह, श्रीमानको नाम नै थर

काठमाडौं । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति हृदयाघातका कारण एम्स अस्पतालमा निधन भएको छ ।  उनको आज दिउँसो अन्त्यष्टि गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा ५ वर्ष विदेशमन्त्री रहेकी उनलाई नेपालीले पनि विभिन्न हिसाबले सम्झने गरेका छन् । 

सन् २०१५ को नेपालमा आएको भूकम्पका समयमा भारतको विदेशमन्त्रीको हिसाबले उद्धारका लागि उनले विशेष भूमिका खेलेकी थिइन् । उनले सोही समयमा अन्य देशका नेपालमा रहेका नागरिकलाई पनि उद्धार गरेर सहयोग गर्न आग्रह गरेको चर्चा भएको थियो ।  १९ फेब्रुअरी २०१९ मा स्पेन सरकारले नेपालबाट भूकम्पका बेलामा आफ्ना नागरिक उद्धार गरिदिएकोमा भन्दै ‘ग्रान्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ नामको सम्मान नै उनलाई दिएको थियो । 

तर, उनै सुषमा विदेशमन्त्री भएको बेलामा नेपालले नाकाबन्दी बेहोर्नुपरेको थियो ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला भारतीय नाकाबन्दीका प्रखर विरोधी भए पनि सुषमासँग भने राम्रो सम्बन्ध रहेको प्रधानमन्त्री निकट जानकारहरुको भनाइ छ । 

प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री हुनुभन्दा करिब दुईसाताअघि सन् २०१८ को पहिलो साता सुषमा दुईदिने नेपाल भ्रमणमा आएकी थिइन् । विपक्षी नेताकै हैसियतमा ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । उनले नेपालसँग विन विनको रणनीति अनरुप अघि बढेको विश्लेषकहरुले बताएका छन् । उनले अन्य राष्ट्रहरुसँग पनि विन विन थ्योरी अवलम्बन गरेको पाइन्छ ।

दोस्रो महिला विदेशमन्त्री

सुष्मा राजनीतिमा आउनुअघि भारतको सर्वोच्च अदालतकी वकिल थिइन्। भारतीय जनता पार्टीकी नेतृ स्वराज पछिल्लो समय २६ मे २०१४ बाट ३० मे २०१९ सम्म विदेशमन्त्री भएकी थिइन् । उनी भारतमा विदेशमन्त्री हुने इन्दिरा गान्धीपछि दोस्रो महिला हुन् । उनी सातपटकसम्म संसद् सदस्यका रुपमा निर्वाचित भएकी थिइन् ।

तीनपटक उनी विधानसभाको सांसद पनि भएकी थिइन् । उनी सन् १९७७ मा हरियाणा राज्यमा २५ वर्षमै सबैभन्दा कम उमेरको मन्त्री भएकी थिइन् ।  उनले दिल्लीको पाँचौ मुख्यमन्त्रीका रुपमा पनि १३ अक्टोबर १९९८ देखि ३ डिसेम्बर १९९८ सम्म काम गरेकी थिइन् ।  सन् २०१४ को आम निर्वाचनमा उनी मध्यप्रदेशको विदिशा क्षेत्रबाट निर्वाचित भएकी थिइन् । मत अन्तर झण्डै ४ लाख थियो ।

स्वराजलाई भारतको सबैभन्दा बढी मन पराइएकी राजनीतिज्ञको रुपमा अमेरिकी दैनिक वाल स्ट्रीट जर्नलले एक पटक घोषणा गरेको थियो ।  सुष्माले सन् २०१९ को आम निर्वाचनमा लड्न अनिच्छा व्यक्त गरेकी थिइन् ।  उनी मिर्गौला प्रत्यारोपणपछि उपचार गर्दै आएकी थिइन् । त्यसैले उनी धुलो र इन्फेक्सनबाट जोगिन रुचाउँथिन् । त्यसले गर्दा पनि उनी २०१९ मा मोदी सरकारमा सामेल हुन नचाहेको बताइएको छ । 

प्रेम जीवन - संकटकालमा विवाह 

निकै लैंगिक विभेद भएको ठाउँ भनेर चिनिने हरियाणामा सन् १९५२ मा भ्यालेन्टाइन्स डे (१४ फेब्रुअरी) को दिन सुषमाको जन्म भएको थियो । उनी कलेज पढ्दै गर्दा स्वराज कौशलसँग भेट भएको थियो । 

दुबैको प्रेम कहानी कलेजबाट सुरु भयो । सुष्मा स्वराज सर्वोच्च अदालतकी वकिल पनि भइसकेकी छिन् । यो त्यतिबेलाको कुरा हो जब हरियाणामा कुनै महिलाले प्रेम विवाह गर्नु त के सोच्नु पनि ठूलो कुरा मानिन्थ्यो । तर रोचक कुरा यो थियो कि सुष्मा स्वराज  आरएसएससँग सम्बन्धित थिइन् भने स्वराज कौशल सोसलिष्ट विचारधारालाई मान्थे ।

सन् १९७५ मा सुष्मा स्वराज सोशलिस्ट नेता जर्ज फर्नान्डिसको लीगल डिफेन्स टिमकी हिस्सा बनिन् जसमा स्वराज कौशल पनि थिए । उनले र स्वराज कौशलले संकटकालका बेला जयप्रकाश नारायणको आन्दोलनमा निकै सक्रिय भएर भाग लिए । त्यतिबेला नै उनीहरुबीचको सम्बन्ध थप प्रगाढ बन्यो र विवाह गर्ने निर्णय लिए । तर यो त्यति सजिलो थिएन । दुबैले आफ्नो परिवारलाई मनाउनका लागि निकै कसरत गर्नुपर्‍यो । त्यसपछि सन् १९७५ जुलाई १३ मा दुबैले विवाह गरे । विवाहपछि सुषमा स्वराजले आफ्ना श्रीमानको नामलाई थर बनाइन् ।

कौशल १९९० देखि १९९३ सम्म मिजोरमको गभर्नरको रुपमा समेत काम गरेका थिए । उनी १९९८ देखि २००४ सम्म संसदका सदस्य समेत  थिए । उनीहरुकी एक मात्र छोरी बाँसुरी हुन् । जो अक्सफोर्डबाट ग्राजुएट र ल फर्म इनर टेम्पलमा बरिस्टर छन् । उनकी बहिनी वन्दना शर्मा हरियाणाको सरकारी महिला कलेजमा राजनीतिक शास्त्रकी सहप्राध्यापक छन् ।  उनका भाइ डा. गुल्शन शर्मा अम्बालामा आयुर्वेद चिकित्सक हुन् । सन् २०१६को डिसेम्बर १० का दिन एम्स अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

सुष्मा भाजपाका नेतामध्येमा निकै प्रखर मानिने नाम हो ।  प्रधानमन्त्री मोदीले उनको निधनपछि ट्विट गर्दै उनलाई स्मरण गरेका छन् । एक ताका भाजपामा राम्रो बोल्ने चारजनामध्ये अटल बिहारी वाजपेयी, सुष्मा स्वराज र प्रमोद महाजनको चर्चा हुने गरेको थियो । पछिल्लो समयमा मोदी सरकारले काश्मीरको बारेमा गरेको निर्णयबाट उनी निकै खुसी भएकी थिइन् । 

उनले मृत्यु हुनुभन्दा तीनघण्टा अघि ट्विट गर्दै भनेकी थिइन्, “प्रधानमन्त्रीजी, तपाईंलाई हार्दिक अभिनन्दन । म मेरो जीवनमा यो दिन देख्नको लागि प्रतिक्षा गरिरहेकी थिएँ ।” 

(एजेन्सीहरुको सहयोगमा)
 


 

More form the Internet

loading...