Suvadin, Home

गुरुङ समुदायमा 'तमु ल्होसार'काे उल्लास!

गुरुङकाे नयाँ वर्ष शनिबार धुमधामका साथ मनाइँदै छ। उक्त समुदायमा तमु ल्होसारका रुपमा याे पर्व मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ र ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्छ।
काठमाडौंको टुँडिखेलमा तमु ल्होसार पर्व मनाइँदै। तस्वीरः रोशन सापकोटा/रासस

काठमाडौं, १५ पुस – गुरुङकाे नयाँ वर्ष शनिबार धुमधामका साथ मनाइँदै छ। उक्त समुदायमा तमु ल्होसारका रुपमा याे पर्व मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ र ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्छ।

त्यसैले आजको दिनलाई गुरुङ समुदायमा नयाँ वर्षको रुपमा मनाइन्छ। आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मिक हुने जनविश्वासका साथ काठमाडौंको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समुदायका नागरिकहरुलाई हर्षोल्लासपूर्ण रुपमा उपस्थित भएको देख्न सकिन्छ।

परम्परागत बाजागाजा, झाँकी अनि पारम्परिक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतिको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ।

ल्होसार नेपालमा मात्र नभई तिब्बत, भूटान, भारत, म्यानमार लगायत संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन्। यसरी डिसेम्बर ३० बाट फेरिने वर्ष वा नयाँ वर्षको सम्बत्लाई तमु सम्बत् भनिन्छ।  

विशेषतः बाैद्ध धर्मावलम्बीले बडो उत्साह र चाखका साथ मनाउने याे पर्वबारे विभिन्न पुस्तक अनि एेतिहासिक दस्तावेजका अनुसार भगवान बुद्धकाे पृथ्वीमा आगमन अगावै मनाइँने गरिएको प्रमाण भेटिएका छन्।

बुद्धको आगमन अगावै पनि यस समुदायका नागरिकहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति बालेर भगवानको अर्चना गर्दै मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन्।

नयाँ वर्ष प्रारम्भ हुने बित्तिकै अर्थात राति १२ बजे नै तमु समुदायहरु जंगल या सार्वजनिकस्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको बिदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन्।

पश्चिमतर्फ हानेको धनुकाँडले गएको ‘ल्हो’ अर्थात् वर्षको बिदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलिपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात् ‘ल्हो’ को स्वागत गर्ने चलन छ।

बिहानपख नराम्रो  वर्षहरुलाई आउन नदिन जन्तर बाँधेर र जंगलको रुखमा बाँधेर धार्मिक  विधिविधानका साथ अाज देशभरिका गुरुङ समुदायमा याे पर्व विशेष उल्लासका साथ मनाइँदैछ।


 

More form the Internet

loading...