Suvadin, Home

साउदीको जेलमा रहेका भूषाललाई छुटाउन युएईमा रकम संकलन गरिँदै

ब्लडमनी तिर्न नसकेर साउदी अरेबियामा जेल जीवन बिताइरहेका नवलपरासीका थानेश्वर भूषालको जीवन रक्षाका लागि यूएईबाट नवलपरासी सेवा समाज यूएईले रकम संकलन अभियान शुरु गरेको छ।
थानेश्वर भूषाल र नेपाली दूताबास।

रुपेश अधिकारी, यूएई, मंसिर १२ – ब्लडमनी तिर्न नसकेर साउदी अरेबियामा जेल जीवन बिताइरहेका नवलपरासीका थानेश्वर भूषालको जीवन रक्षाका लागि यूएईबाट नवलपरासी सेवा समाज यूएईले रकम संकलन अभियान शुरु गरेको छ।  

वि.सं. २०६७ असोज ६ गते साउदी गएका भूषाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए। उनी झण्डै चार वर्षदेखि साउदीको जेलमा छन्।

रोजगारीका लागि साउदी गएपछि मालिकको आग्रहमा उनले बिना लाइसेन्स सवारी चलाउँदै थिए। ‘गाडी चलाउँदै गर लाइसेन्स् आउँदै गर्छ’ मालिकले यस्तै भनेपछि मालिकको कुरा काट्न नसकेपछि आफूले बिना लाइसेन्स् गाडी चलाएको उनले सुनाए।

एकदिन उनले चलाएको गाडीलाई पछाडिबाट अर्को गाडीले ठक्कर दियो। दुर्घटनामा उनको अगाडि र पछाडिको गाडीमा सवार २ जनाको घटनास्थलमै मृत्यु भयो। उनी गम्भीर घाइते भए।

लाइसेन्स् नभएकै कारण उनी फन्दामा परे। थानेश्वर भूषाल अहिले साउदीको जेलमा नरकीय जीवन बिताइरहेका छन्। बल्डमनी एक लाख ५० हजार साउदी रियल तिरेपछि मात्रै उनी जेल मुक्त हुनेछन्।

तर, त्यतिका रकम उनले तिर्ने अवस्था छैन। त्यसैले अहिले विभिन्न संघसंस्थाले उनको सकुशल रिहाइका लागि सहयोग जुटाइरहेका छन्।

सोही अन्तरगत युएईस्थित हामी नेपाली एशोसिएसनको पहलमा नवलपरासी सेवा समाज यूएईले  ५० हजार रुपैयाँ संकलन गरेको छ। समाजका अध्यक्ष भीम हमालका अनुसार अभियानलाई अझै सशक्त बनाउन यूएईमा रहेका विभिन्न व्यक्तिसँग सम    न्वय गरिनेछ।  

आउँदो डिसेम्बर–२ तारिकमा यूएईका क्रियाशील संघ–संस्था, व्यवसायी, पत्रकार, राजनीतिक संगठन लगायत सबैलाई एकै ठाउँमा निमन्त्रणा गर्ने र सबै प्रतिनिधिमाझ छलफल गरी एक उच्चस्तरीय समिति बनाउने तयारी गरिएको हमालले बताए।

सोही समितिमार्फत यूएईबाट रकम संकलन गर्ने निर्णय भएको छ। अभियानका बारेमा संघ–संस्था प्रमुखहरूलाई अनौपचारिक जानकारी गराइसकिएको र नवलपरासी सेवा समाजको आधिकारिक पत्र केही दिनमा उपलब्ध गराइने जनाइएको छ। कार्यक्रमको समय र स्थानबारे पत्रमार्फत जानकारी गराइने समाजका महासचिव राज भण्डारीले बताएका छन्।

थानेश्वरलाई जेलमुक्त गर्ने अभियानमा साउदी अरबस्थित नवलपरासी प्रवासी मञ्चले रकम संकलन गरिरहेको र हालसम्म १२ हजार ५ सय साउदी रियल जम्मा भएको भण्डारीले बताए।

जापानस्थित नवलपरासी समाजले पनी उक्त अभियान तिव्ररुपले संचालन गरीरहेको समाजका सल्लाहाकार नेत्र नारायण थनेतले जनाए।

यसैगरी, केही दिनअघि काठमाडौंमा सम्पन्न गैर आवासीय अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएन) को बैठकले भूषालको जीवन रक्षाका लागि १२ लाख ५० हजार दिने निर्णय गरिसकेको एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन्।

नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि भूषालको जीवन रक्षाका लागि रकम संकलन भइरहेको छ। नेपालमा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसिले) देश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालीलाई सहयोगका लागि अपील गरेको छ।

पिएनसीसीले विश्वभर सहयोगीहरूलाई सहजताका लागी ग्लोबल आइएमी बैंक अनामनगर शाखा, काठमाडौंको खाता नम्बर ३९०१०१००००४०९ मा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ।

भूषालको यो विषयलाई गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा  समेत जानकारी गराई सकिएकाले  एनआरएन युएईले जनाएको छ।


 

More form the Internet

loading...