Suvadin, Home

Cover Image

टिपर दुर्घटना : आफ्नै विवाहको निम्तो बाँडेर फर्किँदै थिइन् रमिता

काठमाडौं । कञ्‍चनपुरको महेन्द्रनगरमा बिहीबार दिउँसो टिपर दुर्घटनामा एक युवतीको मृत्यु भयो । ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्‍ने र जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्षमा अध्ययनरत रमिता भट्ट थिइन् । 

यहि माघ १३ गते धुमधामका साथ विवाह गर्ने सपना थियो रमिता भट्टको । त्यही दिनको प्रतिक्षामा थिइन उनी तर त्यो दिन नजिकिँदै गर्दा कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करले उनको प्राण लियो । 
 
माघ १३ मा हुने विवाहको लागि केही दिन यता रमिता आफनो विवाहको निम्ता साथिहरुलाई बाँडन हिँड्दै थिइन् । कतिपयलाई निम्ता दिइसकेकी थिइन भने कतिलाई दिने क्रममा थिइन् । 

तर, ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा बैतडीको दशरथ चन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती भट्टको घटनास्थलमै मृत्यु भयो ।

साइकल चढेकी रमितालाई टिपरले ठक्कर दिएको थियो । टिपरको पछाडिको चक्काले उनको टाउको किचेपछि घटनास्थलमा नै ज्यान गयो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथी ढुङ्गामुढा गरेका छन् ।

डेढ बर्षअघि उनले प्रकाश टेरसंग भागीविवाह गरेकी थिइन् ।

प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाशसँग रमिताको भागेर विवाह भएको थियो’ ,उनले भने, ‘सांस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ अहिले उनको शव महाकाली अस्पतालमा राखिएको छ ।

उनको मृत्यु पछि त्यहाँका स्थानीयले आन्दोलन गरेका थिए र भिड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहार गरेको थियो । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारबाहीको माग अघि सारेका छन् । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्रवहादुर चन्दले बताए । उनका अनुसार अनुसार मृतक भट्ट साइकलमा र टिप्पर एकैदिशातर्फ गइरहेका बेला सुरुमा टिप्परले ठक्कर दिएर भट्टलाई लडाएको थियो ।


 

More form the Internet

loading...