Suvadin, Home

Cover Image

आगामी तीन दिनको मौसमी अवस्था : चट्याङ्ग र आकस्मिक बाढीको खतरा 

काठमाडौं । मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको र यसको पश्चिमी छेउ उत्तरतिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज नेपालको पूर्वी भूभाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएकोले त्यसको असर पूर्वी र मध्य नेपालमा देखिने जनाएको छ । 

मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तरप्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शीरसम्म जनाउने पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । 

अहिले  देशभर आंशिकदेखि सामान्य बदली रही तराई भूभागका केही स्थाहरुमा हल्का वर्षा भइरहेको र आज मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।  

आज राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्वका केही स्थानहरुका साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । 

भोलि बुधबार पनि देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।  ३० गते बिहीबार पनि देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने जनाइएको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी भन्दै पूर्वानुमान महाशाखाले देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशको पश्चिमी पहाडी भूभाग तथा पुर्वी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसले चुरेबाट बहने नदीमा पानीको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले  आसपासमा रहनेहरु सतर्क रहन समेत आग्रह गरिएको छ । सडक यातायातमा रहनेले भूक्षयबाट सतर्क रहनुपर्ने जनाइएको छ ।


 

More form the Internet

loading...