Suvadin, Home

यी हुन् झापालार्इ चिनाउने पर्यटकीयस्थल

पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वरधाम झापा शनिअर्जुन नगरपालिकामा छ। अर्जुनधारा जलेश्वरधाम बिर्तामोडबाट ५ किलो मिटर दूरी तय गरेर पुग्न सकिन्छ। महाभारत कालमा पाण्डवहरु गुप्तबास बसेका र दुर्याेधनलगायत कौरवहरुले लगाई पाण्डवहरुको गुप्तबास भङ्ग गर्न विराट राजाका नौ लाख गाईहरु हरण गरी लगेको किम्वदन्ती छ । कौरवहरुले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भएर गोरुवा हुँदै गरुवा भएको बताइन्छ ।
अर्जुनधारा जलेश्वरधाम। तस्बिरः सन्ताेष शर्मा/रासस

शुभदिन संवाददाता झापा, चैत २३ - 

अर्जुनधारा जलेश्वरधाम

पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वरधाम झापा शनिअर्जुन नगरपालिकामा छ। अर्जुनधारा जलेश्वरधाम बिर्तामोडबाट ५ किलो मिटर दूरी तय गरेर पुग्न सकिन्छ। महाभारत कालमा पाण्डवहरु गुप्तबास बसेका र दुर्याेधनलगायत कौरवहरुले लगाई पाण्डवहरुको गुप्तबास भङ्ग गर्न विराट राजाका नौ लाख गाईहरु हरण गरी लगेको किम्वदन्ती छ । कौरवहरुले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भएर गोरुवा हुँदै गरुवा भएको बताइन्छ ।

अर्जुनधारा क्षेत्र परिसरभित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी छ । कअर्जुनले गाईलाई पानी ख्वाइरहेको मूर्ति स्थापित छ । सातकुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरु छन् । जसबाट निरन्तर चिसो पानी बगिरहन्छ । पोखरीभित्र विभिन्न जातका माछा पाइन्छन् । २०५५ सालको हुलाक टिकटमा चित्राङ्कित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरुले भ्रमण गर्दछन् । अर्जुन धारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्छ ।

किच्चकबध

झापाको भद्रपुरबाट एक किलोमिटर पूर्व दक्षिणमा देवनिया र मेची नदीको किनारमा धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध छ । महाभारतकालिन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरु छन् । षटकोण आकारको आकर्षक पोखरी छ । देवी–देवताका मन्दिर तथा प्रतिमाले किच्चकबध निकै आकर्षक छ ।

महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध १० विगाहा क्षेत्रफलमा पैmलिएको छ । भीमसेनले किच्चकलाई बध गरेको प्रसङ्ग धर्मग्रन्थमा उल्लेख गरिएको छ । किच्चकबध क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवन फेला परेको छ । एउटा सभ्यताको विनासपछि अर्काे सभ्यताको विकास भएको प्रमाणका रुपमा यसलाई लिइन्छ ।

केचनाकवल

झापाको केचनास्थित केचनाकवल सबैभन्दा होचो ठाउँ हो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मिटर उचाइमा छ । केचनाकवलमा वि.सं. २०४४ सालमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको छ ।

यो ठाउँ नेपाल–भारत सीमानाबाट ५ सय मिटर दूरीमा पर्दछ । नेपालकै अल्पसंख्यक आदिवासी गणेश (गनगाई) जातिको बसोबास रहेको केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरीहरु छन् । महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरुको कारणले पनि यस क्षेत्रको महत्वप अझ बढेको छ । 

कोटीहोम

पर्यटकीय सम्भावना बोकेको कोटीहोम कनकाई नगरमा रहेको छ । मन्दिरै मन्दिर रहेकाले उक्त स्थानमा धार्मिक पर्यटनको गतिलो सम्भावना छ । कनकाई माई नदीको किनार र पूर्वपश्चिम राजमार्गसँगै रहेकाले पुग्न पनि सहज छ । कोटीहोम, कृष्ण मन्दिर, शिव मन्दिर, प्रणामी मन्दिर, दुर्गा मन्दिर, वेद विद्याश्रम रहेको छ । २०४२ साल पुस महिनामा योगी नरहरिनाथको अगुवाईमा शिव पञ्चायन मन्दिरमा १ करोड गायत्री मन्त्र होम यज्ञ सञ्चालन गरियो ।

४ वेद १८ पुराण र सबै धर्म गन्थ पाठ गराएपछि पवित्र भूमिको रुपमा यो स्थान परिचित छ । वार्षिक ५ लाख स्वदेशी तथा गंगाको पूर्वी शीर मानेर भारत, भुटानबाट भक्तजन आउने गरेका छन् । माघे सक्रान्ती, बोलबम, शिवरात्री, बालाचर्तुदशी, तीज, बुद्धपूर्णिमाका दिन अत्यधिक भक्तजनहरुको घुइँचो हुने गरेको छ ।

जामुनखाडी

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र कनकाई नगरमा रहेको छ । जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न शुरु गरिएको हो । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ एक किलोमिटको दूरीमा रहेको ऐतिहासिक जामुनखाडीमा गङ्गा र जमुना पोखरी छन् ।

गङ्गा पोखरी अस्तित्वमा छैन । जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रको बिचमा रहेको सुन्दर पोखरी पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु हो । आर्थिक आम्दानीलाई मध्यनजर गर्दै पोखरीमा व्यवसायिक रुपमा डुङ्गा सञ्चालन गरिएको छ । 

बर्ने चिया बगान

झापाको शान्तिनगर रहेको बर्ने चिया बगान रमणीय पर्यटकीय स्थल हो । चियाको अवलोकन तथा अन्य मनोरम दृश्यकै कारण बाह्रैमास पर्यटकको घुइँचो लाग्छ । झापाको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सबै क्षेत्रमा चियाको बगान छन् ।

र, ती बगानमा चिया टिपेको, स्प्रिेकलरबाट सिञ्चाई गरेको हेर्न आनन्द आउँछ । त्यसमध्ये पनि बर्नेको चियाबगान पहाड र तराई दुवै क्षेत्रमा पैmलिएको छ । जो कोही झापाबाट इलामतर्फ जानेलाई पनि मनोरम दृश्यबाट यात्रा शुरु गरेको अनुभूति हुन्छ ।

टाँसी छोयलिङ गुम्बा

झापा मेचीनगर–१० काँकरभिट्टास्थित टाँसी छोयलिङ गुम्बा झापालाई चिनाउने अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । नेपाल, भारत, भूटान, थाइल्याण्डलगायतका देशबाट आएका बौद्ध धर्मावलम्बीहरुको गन्तव्यको रुपमा टाँसी छोयलिङ गुम्बा गुम्बा रहेको छ । गुम्बामा धार्मिक अनुष्ठान र भिक्षु तथा लामाहरुले नियमित प्रवचन दिने गरेका छन् । 

शहीद स्मृति पार्क

नेपाली कम्युनिष्ट आन्दोलनका महान योद्धाहरुको स्मृतिमा निर्माण गरिएको शहीद स्मृति पार्क वामपन्थीहरुको चारधाम हो । प्रजातन्त्र र समानताका लागि आफ्नो ज्यान उत्सर्ग गर्ने महान शहीद रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण क्षेत्र, लक्ष्मी पाण्डे, रामप्रसाद प्रधान, चन्द्रबहादुर डाँगी, राम थापा र छविलाल राजवंशीको स्मृतिमा वि.सं. २०५८ सालमा शनिश्चरेमा निर्माण गरिएको हो शहीद स्मृति पार्क । शहीद स्मृति पार्कको पूर्वाधार विकासका लागि राज्यस्तरबाटै लगानी भएको छ । पार्क परिसरमा ताल बनाएर बोटिङको व्यवस्था गर्ने तयारी हुँदैछ । 

कृष्ण थुम्की

द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको किम्बदन्तीका आधारमा कृष्ण थुम्की नामाकरण गरिएको हो । झापाको बाहुनडाँगी–७ मा मेची नदी र सिद्धी नदीको सङ्गममा रहेको कृष्णथुम्की धार्मिक एवम् ऐतिहासिक दृष्टिकोणले अयन्तै महत्वपूर्ण छ ।

वरिपरि समथल र बिचमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ । कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अङ्कित छ । काँकरभिट्टाबाट १३ किलोमिटर उत्तरमा अवस्थित कृष्णथुम्कीमा, कृष्णथुम्की र अन्य ५ वटा थुम्की छन् । 

धनुषकोटी धाम

धनुषकोटी धाम नेपालको झापाको कनकाई नगरको महत्वपूर्ण पर्यटकीय स्थल हो । सुरुङ्गादेखि ३ किलोमिटर उत्तर रहेको छ । कनकाई नदी र ठूला हरियाली पहाडले अझै शोभायमान बनाएका छन् । कनकाई नदी पारी दोमुखा अत्यन्त रमणीय तथा पर्यटकीय स्थल छ ।

हिन्दू धर्मावलम्बीको एउटा पवित्र तीर्थस्थल धनुषकोटि धाम पर्यटकले रुचाएको स्थान हो । श्री किराँतेश्वर महादेवको मन्दिर, विष्णुपादुका दामोदर कुण्ड, शिवलिङ्ग, गणेश, पार्वती, विष्णु आदि देविदेवताको प्रतीमा छन् ।

सताक्षीधाम

जनकपुरपछिको प्रमुख तीर्थस्थल प्रसिद्ध सताक्षीधाम समुद्र सतहबाट २ सय ८० देखि ३ सय मिटरसम्मको उचाइमा ७६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको छ । सताक्षीधाम दिगम्बेश्वर मन्दिर शिवसतासी नगरमा छ । झिलझिलेबाट २ किलोमिटरको दूरीमा चुरे पहाडसँगै अवस्थित सताक्षीधाम धार्मिक आस्थाका अतिरिक्त पिकनिक स्पट र बिदाको समय उपभोग गर्ने स्थानको रुपमा विकसित भइरहेको छ ।

सताक्षी देवी दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ । मङ्सिर महिनामा बाला चतुर्दशीको अवसरमा तीन दिन र माघे सङ्क्रान्तिमा मेला लाग्छ । मङ्गलबार र शनिबार भक्तजनको भीड हुने गरेको पाइन्छ । पौराणिक कालमा पाण्डवहरु वनबासको समयमा यही स्थानमा हतियार लुकाएर विराटराजाको दरवार गुप्तबास बस्न गएको किम्बदन्ती छ । 

पातालगङ्गा

मेचीनगरस्थित पातालगङ्गा झापाको अर्को धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल हो । वि.सं. १९९० सालमा भूकम्प जाँदा पातालगङ्गामा दूध जस्तो सेतो फोहरा निस्किएपछि गङ्गाजल प्रकट भएको विश्वास गरेर स्थानीयले पूजाआजा गर्न थालेका हुन् । २०४२ सालमा मन्दिर निमार्ण गरिएको छ । यसअघि, २०१४ सालमा पनि १ बिघा १२ कठ्ठा जग्गामा नन्देश्वर मन्दिर निर्माण गरिएको छ ।


 

More form the Internet

loading...