Suvadin, Home

ट्रेड युनियन चुनावले प्राधिकरणको कामकाज प्रभावित

नेपाल विद्युत प्राधिकरणभित्र ट्रेड युनियनको निर्वाचनका कारण बुधबार बिहानैदेखि विद्युत प्राधिकरणको दैनिक कामकाज ठप्प भएको छ। निर्वाचनको सूचना नपाएका सर्वसाधारण सेवा पाउनबाट बञ्चित हुनुपरेको छ। प्राधिकरणमा बुधबार कुनै पनि काम नहुने भएको छ।
निर्वाचनकाे तयारी गर्दै कर्मचारी । तस्बिर : नारायण/शुभदिन

नारायण खड्का, तुलसीपुर, फागुन १२ - नेपाल विद्युत प्राधिकरणभित्र ट्रेड युनियनको निर्वाचनका कारण बुधबार बिहानैदेखि विद्युत प्राधिकरणको दैनिक कामकाज ठप्प भएको छ। निर्वाचनको सूचना नपाएका सर्वसाधारण सेवा पाउनबाट बञ्चित हुनुपरेको छ। प्राधिकरणमा बुधबार कुनै पनि काम नहुने भएको छ।

तर, अत्यावश्यक सेवा सुचारू राख्ने प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले जानकारी दिए। यसैबीच, प्राधिकरण तुलसीपुरमा जम्मा ४२ जना कर्मचारीका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोप्रति सर्वसाधरणले आश्चर्य व्यक्त गरेका छन्।

एक जना अधिकारकर्मीले यसलाई ‘समय किल’ गर्ने वा  काम नगरी समय कटाउने प्रपञ्च मात्रै भएको टिप्पणी गरेका छन्। उनले भने, ‘सही रुपमा लिने हो भने बयालिस जनालाई मतदान गर्न एक घन्टा पनि समय चाहिँदैन।'

बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गर्नु भनेको समय बर्बाद गर्नु मात्रै भएकाे र एक जना मतदातालाई झन्डै ६ घन्टा समय उपलब्ध गराएर विद्युत कार्यालयले जग हँसाउन खोजेको उनले टिप्पणी गरे।

नेपाल विद्युत प्राधिकरण तुलसीपुरलगायत देशैभरि अहिले आधिकारिक ट्रेड युनियनको निर्वाचन सुरु भएको छ। १२ वर्षपछि बुधबार दुई वर्षे कार्यकालका लागि प्राधिकरणभित्र ट्रेड युनियनको नेतृत्व चुन्न मतदान सुरू भएको हो।

मतदान बिहान ९ बजेदेखि सुरू भइसकेको र बेलुका पाँच बजेसम्म समय निर्धारण गरिएको तुलसीपुर विद्युत प्राधिकरणका मतदान अधिकृत गिरीले बताएका छन्।


 

More form the Internet

loading...