Suvadin, Home

'कोरोना भाइरस दोस्रो विश्‍वयुद्धपछिको सबभन्दा ठूलो चुनौती'

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । 

महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभावसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र यसअघिका आर्थिक संकटभन्दा भयानक हुनसक्ने चेतावनी  दिएका हुन् । 

कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ४२ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८ लाख ५७ हजारभन्दा बढी संक्रमित भएका छन् । अमेरिकामा विश्वकै बढी संक्रमित फेला परेका छन् भने चीनभन्दा धेरै तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । 

न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै महासचिव गुटेरेसले भने, "कोरोना भाइरसको महामारीले समुदायको केन्द्रमा हिर्काएको छ । यसले जीवन र जीविकामाथि प्रहार गरेको छ ।"

" कोभिड-१९ संयुक्त राष्ट्रसंघको स्थापनापछि हामीले संयुक्त रुपमा सामना गर्नुपर्ने परीक्षा बनेर आएको छ," उनले थपे । महामारी अन्त्यका लागि तत्काल सहकार्यको खाँचोसमेत उनले औंल्याए । उनले धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिएका छन् ।


 

More form the Internet

loading...