Suvadin, Home

अमेरिकामा ४० हजारभन्दा बढीको मृत्यु, इटाली, स्पेन र फ्रान्स लगातार सुधारको दिशामा

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ।

सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ ।

विश्वभर हालसम्म एक लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख भन्दा बढी पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको आइतबारको ब्रिफिङ्गको क्रममा विश्व स्वास्थ्य संगठन, चीन र विश्व व्यापार संगडन (डब्लुटिओ) को आलोचना गरेका छन् । यस्तै उनले इरानलाई कोरोना भाइरसको महामारीसँग जुध्नका लागि सहयोग दिने तयारीमा पनि रहेको उल्लेख गरेका छन् ।

ट्रम्पका विवादास्पद भनाई र आलोचनाका बिच युरोपबाट भने सकारात्मक खबर आउने क्रम जारी छ । इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुने तथा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्या लगातार कम हुँदै गएको छ ।

इटालीमा आइतबार पछिल्लो एक हप्ता यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको छ । आइतबार कोभिड–१९ बाट इटालीमा ४३३ जनाको ज्यान गएको हो ।

आइतबार तीन हजार ४७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन इटालीमा ३४ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो । इटालीमा हालसम्म २३ हजार ६६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ रहेको छ ।

यस्तै स्पेनमा पनि आइतबार एक महिना यताकै सबैभन्दा कम व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । आइतबार स्पेनमा ४१० जनाको ज्यान गएको हो ।

आइतबार नयाँ संक्रमितको संख्या पनि मात्रै ४२ सय १८ रहेको जनाइएको छ । स्पेनमा हालसम्म २० हजार ४५३ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या एक लाख ९८ हजार ६७४ रहेको छ ।

फ्रान्समा अस्पताल भर्ना गर्नु पर्ने बिरामी निरन्तर पाँचौँ दिन घटेका छन् । आइतबार अस्पतालमा २२७ तथा नर्सिङ्ग होममा १६८ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा अहिलेसम्म १९ हजार ७४४ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या एक लाख ५४ हजार ९७ पुगेको छ । आइतबार कोरोना भाइरसको संक्रमण भएका कुल ३० हजार ६१० बिरामी फ्रान्समा अस्पतालमा रहे । यो अघिल्लो दिनको तुलनामा २९ कम हो ।


 

More form the Internet

loading...