Suvadin, Home

पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन्।
फाइल तस्वीर

बेझाड, २१ मंसिर – पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन्। 

रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नम्बरको बस पहिलो पटक गाउँमा पुगेको हो। गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए। 

गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले बताए। पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन्।

अब नियमित रूपमा रामपुरदेखि लेखमलाङसम्म बस सेवा सञ्चालन गर्ने तयारी रहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले बताए। निस्दी गाउँपालिकाले गत वर्ष रु ५५ लाख खर्च गरेर सहलकोट आनन्दीभन्ज्याङदेखि लेखमलाङ हुँदै डमराको भोटाहासम्म सडकको ट्र्याक खोले पनि वर्षाका कारण पहिरोले सडक अवरुद्ध बनेको थियो। 

अहिले स्थानीयवासीको सक्रियतामा सडक मर्मत गरेपछि बस गाउँमा पुर्याउन सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर पुलामीले बताए। स्थानीयवासीले गाउँमा रामपुरदेखि नियमित बस सेवा सञ्चालन गराउन रामपुर यातायात व्यवसायी समितिलाई आग्रह पनि गरेका थिए। 

साना जिपमा यात्रुको चाप बढी हुँदा जोखिमपूर्वक यात्रा गर्न बाध्य भएकामा नियमितरूपमा बस सेवा सञ्चालनमा भए गाउँमा उत्पादित कृषिजन्य सामग्री रामपुर बजारसम्म पुर्याउन सहज हुने र सजिलोसँग यात्रा गर्न पाइने स्थानीयवासीले आशा गरेका छन्। 
#RSS


 

More form the Internet

loading...