Suvadin, Home

घरेलु हिंसा गर्ने र गोपनीयता भंग गर्ने कर्मचारीलेसमेत पेन्सन नपाउने  

काठमाडौं । सरकारले घरेलु हिंसा गर्ने, राज्यको गोपनीयता भंग गर्ने, जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने र अन्य देशको डिभी/पिआर लिने अवकाश प्राप्त कर्मचारीलाई पेन्सन सुविधा नदिने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले यस विषयमा सहमति जुटाएको हो ।

सरकारले भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध कारोबार गर्ने कर्मचारीले पेन्सन सुविधा नपाउने प्रस्तावसहितको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसद्मा लगेको थियो ।  विधेयकमा सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा नैतिक पतन देखिने तथा अन्य फौजदारी अभियोगमा अदालतबाट ठहरिएको व्यक्तिले समेत पेन्सन नपाउने व्यवस्था छ । 

बुधबारको समिति बैठकमा सांसदहरूले राज्यको गोपनीयता भंग गर्ने कार्यमा संलग्न रहेको पाइएमा समेत पेन्सन सुविधाबाट वञ्चित गराउनुपर्ने बताए ।  बैठकले यौनहिंसा, घरेलु हिंसा, बहुविवाहदेखि छुवाछुत गर्ने, अन्य मुलुकको स्थायी बसोवास गर्ने प्रमाणपत्र लिनेदेखि राज्यको गोपनीयता भंग गर्नेसमेतलाई पेन्सन नदिने गरी सहमति जुटाएको छ ।  

‘कतिपय बन्दकोठाभित्र काम गर्नुपर्ने कार्यालयहरू हुन्छन् ।  त्यस्तो ठाउँमा महिला वा पुरुषमाथि यौनहिंसा हुने गरेको कुरा पटक–पटक आइरहन्छ ।  यौनहिंसामा संलग्न भेटिएमा त्यस्तालाई समेत पेन्सन दिन नहुने व्यवस्था राख्नुपर्छ,’ नेकपा सांसद झपट रावलले भने ।  कांग्रेस सांसद मीना पाण्डेले घरेलु हिंसा गर्नेलाई समेत पेन्सनबाट वञ्चित गराउनुपर्ने प्रस्ताव गरिन् ।  नेकपाकै अञ्जना बिसुन्केले जातीय भेदभाव गर्नेलाई निवृत्तिभरण दिन नहुने प्रस्ताव गरिन् ।  

विधेयकमाथि दफाबार छलफलका क्रममा संसद्को समितिले केही नयाँ व्यवस्था थप गरेको समिति सभापति शशी श्रेष्ठले बताइन् ।  ‘समितिले एक चरण यी विषयमा सहमति जुटाएको छ ।  समितिले सहमति जुटाएका, छलफल गरेका विषयलाई अझ स्पष्ट रूपमा तयार गरेर ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेका छौँ,’ सभापति श्रेष्ठले भनिन् । 

२७ माघ ०७५ मा सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । राज्यको कुनै लाभको पदमा नियुक्त भए एकतर्फी सुविधा मात्रै पाउनुपर्ने प्रस्ताव गरे ।  यो प्रस्तावमा पनि समितिमा सहमति जुटेको छ ।   


 

More form the Internet

loading...