Suvadin, Home
Nepal life 3.22M

समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ : अध्यक्ष दाहाल

पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताउँदै उनले भने, “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ।” 
फाइल फाेटाे

चितवन, २५ पुस - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन्। 

चितवन महोत्सवको बुधबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताए। मुलुकमा विकास हुनुपर्ने भन्दै उनले भने, “जनताको जीवनस्तर उठ्नु प¥यो, जनता समृद्ध हुनु प¥यो, जसले गरे पनि हुन्छ। निजी क्षेत्रले गरे पनि हुन्छ, लिबरल इकोनमिकबाट गरे पनि हुन्छ।” 

पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताउँदै उनले भने, “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ।” 

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै हाम्रो अगाडिका अबका समस्या रहेको उनले बताए।

राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उनले भने, “१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ।” उनले सबैको साथ र सहयोग भयो भने चितवन र नेपाललाई नमूनाका रुपमा विकास गर्न सकिने बताए। 

कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताए। 

कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको अध्यक्ष दाहालले विमोचन गरेका थिए। महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन्।

उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो। 


 

More form the Internet

loading...