Suvadin, Home

काउन्सिल विधेयक खारेज गर्नुपर्ने भन्दै देशभर प्रदर्शन

पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता संकुचित पार्ने गरी सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक खारेज नगरे देशव्यापी रुपमा तेस्रो चरणको आन्दोलन गरिने बताए। उनले लोकतन्त्रको कडी मानिएको प्रेस स्वतन्त्रताविरुद्ध सरकार लागिपरेको बताए।

काठमाडौ, जेठ २५ -  नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले संसद्‌मा पेस गरेको मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्ने भन्दै देशभर प्रदर्शन गरेको छ । शनिबार बबरमहलमा प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायत प्लेकार्ड लिएर विरोधमा उत्रिएका पत्रकारहरुले हाते साङ्लो बनाएर प्रदर्शन गरेका थिए ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता संकुचित पार्ने गरी सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक खारेज नगरे देशव्यापी रुपमा तेस्रो चरणको आन्दोलन गरिने बताए। उनले लोकतन्त्रको कडी मानिएको प्रेस स्वतन्त्रताविरुद्ध सरकार लागिपरेको बताए।

विरोध कार्यक्रममा बोल्दै कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले प्रेस स्वतन्त्रता रक्षाको आन्दोलन भनेको संविधान रक्षाको आन्दोलन भएको बताए। उनले नागरिक आन्दोलनको बलमा आएको लोकतन्त्रमा नागरिकका अधिकार संकुचन हुने गरी प्रेस स्वतन्त्रतालाई संकटमा पार्ने प्रयास गरिएको बताउँदै भने, 'प्रेस स्वतन्त्रता रक्षाको आन्दोलन भनेको पत्रकारलाई मात्रै चाहिएको होइन। यो त जनताले जान्न पाउने अधिकारको रक्षा गर्न आन्दोलन हो।'

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले प्रेस स्वतन्त्रता रक्षा गर्न सडकमै आउनुपर्ने अवस्था सरकारले निम्त्याएको बताए। सरकारले प्रेसलाई नियमन गर्ने तयारी गरेकाले आफूहरु सडकमा आएको बताउँदै उनले भने, 'प्रेस स्वतन्त्रता भनेको पत्रकारले लेख्न पाउने स्वतन्त्रता मात्रै होइन। नागरिकले बोल्न पाउने र उनीहरुले जान्न पाउने अधिकार पनि हो। नागरिकले निर्बाध सूचना पाउने अधिकारको रक्षा गर्न आन्दोलन गर्नुपर्ने स्थिति निम्तिएको छ।'

उनले मिडियालाई नियन्त्रणमा राख्ने नाममा मिडिया काउन्सिल विधेयक ल्याउने लागिएको बताउँदै भने, 'प्रेस स्वतन्त्रताविरोधी सरकार धेरै दिन टिक्दैन।' बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले भने निरंकुश शासन झेलेर लोकतन्त्र ल्याएपछि पनि फेरि उस्तै अवस्था आएको बताए। उनले भने, 'लोकतन्त्र आएपछि पत्रकारिता पनि समृद्धिको बाटोमा जाला भनेको त पत्रकार फेरि आन्दोलित हुनुपर्ने अवस्था निम्तियो।'


 

More form the Internet

loading...