Suvadin, Home

भ्रष्टाचार काण्डका श्रृंखलाबाट जोगिन सरकारको 'देउवा' कार्ड र कांग्रेसको मति

काठमाडौं । नेपाली कांग्रेस मुलुकको पुरानो पार्टी । कांग्रेसकै भाषा भन्‍ने हो भने मुलुकमा राणादेखि राजा हटाउन र मुलुकको निरंकुशतन्त्रका विरुद्ध संघर्षको शंखघोष गरी मुलुकलाई सकारात्मक बाटोमा डोर्‍याउने पहिलो पार्टी । त्याग बलिदान र संघर्षपूर्ण इतिहास बोकेको नेपाली कांग्रेस अहिले धिमा गतिमा छ । 

मुलुक संघीय व्यवस्थामा गएको झण्डै चारवर्ष पुग्‍नै लाग्दा पनि कांग्रेसले मुलुकको संरचना बमोजिम पार्टीको संरचना बनाउन सकेको छैन । दुई तिहाइको सरकार मुलुकमा भएकोबेला व्याप्त बेथिति र बिसंगतिकाविरुद्ध खरोमा उत्रन सकेको पनि छैन । उल्टै कांग्रेसलाई विभिन्‍न आरोपहरु लाग्‍ने गरेका छन् । ती आरोपहरुको खण्डन पनि कांग्रेसले गर्न सकेको छैन । 

पार्टीभित्रको आन्तरिक किचलो फसेको कांग्रेसलाई लाग्‍ने आरोपहरुले झन भिजेको बिरालो बनाएको छ । कांग्रेस अहिले विभिन्‍न गुटउपगुटमा फसेको छ । पार्टीको नर्सरी भनिएको नेपाल विद्यार्थी संघ अहिले निस्क्रिय छ । हिजोका दिनमा मुलुक संकटमा पर्दा सडकमा जनसागर उर्लान नेविसंघको भूमिकालाई कम आँक्न मिल्दैन । त्यस्तै अर्को भ्रातृसंस्था नेपाल तरुण दल विस्तार हुन सकेको छैन । 

महिला संघको अवस्था उस्तै  छ । लामो समयको संघर्षपछि पार्टीको नयाँ विधान सार्वजनिक भएको छ । ठूलो रस्साकस्सीमाझ अनुशासन समिति बनेको छ । तर, गुटउपगुटले अल्झिएको कांग्रेसमा अहिले सभापति देउवा सबैको निशानामा छन् । 

राजतन्त्रदेखि नै प्रधानमन्त्री बन्दै आएका कांग्रेस सभापति देउवा अहिले मुलुकमा उठिरहेका हरेक मुद्दामा मुछिएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आफू उम्किने अचुक  साधन बनाइरहेको छ । कांग्रेस एक भएर यसको सामना गर्नुपर्ने बेला झुण्ड-झुण्ड भएर उल्टै पार्टी सिध्याउने रणनीतिमा लागिरहेको छ । 

यसअघि वाइड बडीमा घोटाला प्रकरण निकै उचालियो । जसमा संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री स्वर्गीय रविन्द्र अधिकारी मुख्य पात्र थिए । त्यसँगै नागरिक उडड्यन प्राधिकरण, नेपाल वायु सेवा निगमलगायतका सम्बन्धित निकायका कर्मचारीहरुको घोटालामा ठूलो हात थियो । यसको विरुद्ध व्यापक आलोचना र विरोध भयो । सरकारकै मातहतमा छानबिन समिति बन्यो । तर, प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । सभापति देउवाले संसदमा उभिएर पनि छानबिनको माग गरेको दोस्रो दिन समाचार आयो वाइड बडी प्रकरणमा सभापति देउवा पनि । उनले त्यसपछि केही कार्यक्रमहरुमा आफू संलग्‍न नभएको बताउँदै निष्पक्ष छानबिनको मागसमेत गरेका थिए । तर, कसैले सुनेको नसुनेझैं गरियो । त्यसको केही समयपछि पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा ज्यान गयो । त्यसपछि यो मुद्दा यतिकै सेलायो । 

फेरि अहिले बालुवाटार जग्गा प्रकरण निकै जोडतोडका साथ उठाइएको छ । जसमा नेकपाका महासचिव विष्णु पौडेल मुख्य दोषी भएको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रभावमा पारेर भूमाफियालाई सरकारी जग्गा हडप्‍ने वैधानिक बाटो खोलिदिएको स्पष्ट देखिन्छ । सत्तारुढ दलका नेताहरुले महासचिव पौडेलको बचाउको लागि साम, दाम, दण्ड र भेदको प्रयोग गरिरहेका छन् । तर, आम जनताले उनलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । आइतबारबाट सुरू भएको संघीय संसदको चौथो अधिवेशनको पहिलो दिन सभापति देउवाले बालुवाटार जग्गा प्रकरणमा जोकोही भए पनि कारबाही गरिनुपर्ने माग गरेका थिए । त्यसको भोलीपल्ट नै समाचार आयो बालुवाटार जग्गा प्रकरणमा सभापति देउवा पनि । 

यसअघि पनि देउवालाई तारो बनाएर फाइदा लिएकाहरु यही समाजमा छन् । २०५८ सालमा राजदरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाह राजा भए । केही समय शोकमा रहँदा शान्त देखिए पनि शाहले विस्तारै आफ्नो असली अनुहार देखाउँदै गए । जसमा तत्कालिन प्रधानमन्त्री देउवासहित दलका नेताहरूलाई घरमै नजरबन्दमा राखे । पूर्वपञ्च र विदेश पलायन भइसकेकाहरूलाई बोलाएर उनीहरूमार्फत् आफैँ शासन चलाउन थाले ।

उनले शाही आयोग गठन गरे । आफ्ना विरोधीहरूलाई शाही आयोगमार्फत् भ्रष्टाचारीको बिल्ला झुण्ड्याइदिए । उसै पनि नेपाली समाजको चरित्र ‘कागले कान लग्यो’ भन्यो भने कान छाम्ने भन्दा कागकै पछि दौडने छ । लोकतन्त्रका लागि आवाज उठाइरहेका नेताहरूको घाँटीमाथि शाही आयोगको तरबार झुण्ड्याइदिएपछि धेरै नेताले सकस व्यहोर्नुपर्‍यो । राजतन्त्रसँगै शाही आयोग पनि ढल्यो । आज न शाही आयोगको अस्तित्व छ, न त राजतन्त्रको । दुवै इतिहासका गर्तमा बिलाएका छन् । अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ तर यसको पर्फर्मेन्समा पनि नागरिक सन्तुष्ट छैनन् । ठूला माछा यसको पञ्जाभन्दा टाढा छन् । अझ विडम्बना ! कतिपय काण्डमा त अख्तियारकै उच्च पदस्थको संलग्नता बाहिर आएको छ । अख्तियार पनि अहिले प्रधानमन्त्री मातहत छ । उसले स्वतन्त्ररुपमा कार्य गर्न सकिरहेको छैन । राजनीतिक दबाबका कारण भ्रष्टहरु उम्किरहेका छन् । 

अहिलेको अवस्थामा पनि वाइड बडीदेखि बालुवाटार जग्गा प्रकरणसम्म पनि ज्ञानेन्द्र शैली नै अपनाउन खोजिएको छ । तर, कांग्रेसले यस विषयलाई गम्भीरतापूर्वक लिइरहेको छैन  । यसले गर्दा कांग्रेसको पनि कुनै न कुनै संलग्‍नता रहेको भन्‍ने पुष्टि हुन्छ । कांग्रेसकै ढाडमा टेकेर अहिलेको सत्तारुढ दलले फाइदा लिइरहेको छ । 

सत्ताको स्वाद एक पटक चाखेका नेताहरूका सात पुस्ताले सुतेर खाए पनि पुग्ने सम्पत्तिको आयको स्रोत के हो ? आफ्नो नेतृत्वको रातारात आएको समृद्धिबाट कार्यकर्ताहरू त खुसी नै होलान् । उनका मालिकहरूमाथि प्रश्न गर्नेमाथि तिनले अरिंगालको भूमिका पनि निर्वाह गरेकै छन् । तर हात्ती छाप लगाएर काठमाडौं छिरेका, कुनै व्यवसाय नगरेका, एकाध पटक निश्चित तलब खानेगरी पदमा पुगेकाहरू आज रातारात सयौँ हात्ती पाल्न सक्ने हैसियतमा कसरी पुगे ? प्रश्नहरूको चाङ जनताको मनमनमा छ । 

यदी कांग्रेस दोषी छैन भने स्पष्ट रुपमा जनताका सामु गएर सरकारका काला कर्तुतको भण्डाफोर गरोस्, यदी दोषी हो भने जनताका सामु भनोस्, - हिजोका दिनमा यस्तो गल्ती भएको थियो सजायको भागिदार बन्‍न तयार छौं । तबमात्र हिजोका दिनमा गरेको कांग्रेसको साख जोगिन सक्छ । 
 


 

More form the Internet

loading...