
काठमाडाै, साउन २९- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै रहँदा पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक भोलिका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर विवाद भएको र त्यो टुङ्गिन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएकै भोलिपल्ट साउन २८ गतेका लागि तोकिएको बैठक आजका लागि सारिएको थियो । नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन ।