Suvadin, Home

सुखानी हत्याकाण्डको ४६ वर्ष पुरा, अध्यक्षद्धय झापामा

४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ। 

काठमाडौं,२१ फागुन 

‘सुखानीको रगतले भन्छ हामीलाई, 
सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ 

४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ। 

विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो। 

सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो। 

सोही विद्रोहका जगमा नेकपा (माले) नेकपा (एमाले) एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसद्मा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ। सुखानी उद्यानमा स्मृति दिवस यस वर्ष नेकपाले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएको छ। 

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्मृति दिवस मनाउन फागुन २१ गते झापा आउने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले बताए। 

दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्ने सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ। 

सुखानीका पाँच क्रान्तिकारीलाई शहादतको ४३ वर्षपछि २०७२ साल फागुन १९ गते प्रधानमन्त्रीमा सहयोद्धा केपी शर्मा ओली हुनु भएका बेला मन्त्रिपरिषद्ले शहीद घोषणा गरेको थियो । 

 


 

More form the Internet

loading...